५ मङ्सिर, भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन (४० केजी) ५ हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।
उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ । उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको राउतले बताए ।
यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो संकलन गरिसकेको उनले जानकारी दिए । आफ्नै घरमा समेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको उनको भनाइ छ । उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि उचित मूल्य नपाउँदा किसान निराश बनेका छन् ।
चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले मूल्य घटेको राउतको भनाइ छ । बजारको माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारण गर्ने भएकाले निकासी सहज नहुँदा उत्पादन बढे पनि उचित मूल्य पाउन समस्या हुने उनले बताए ।
चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो संकलन गरेर बिक्री गर्दै आएका छन् । ग्रामीण क्षेत्रका किसानका लागि यो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ ।
चिराइतोको खेती तथा संकलनबाट किसानले अन्य खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । यसको उत्पादन, संकलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ ।
स्थानीय किसानले चिराइतोको उचित मूल्य सुनिश्चित गर्न बजार व्यवस्थापन र निकासी सहज बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।