४ मंसिर, गुल्मी । गुल्मीमा पछिल्लो समय किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम मेहनतमा लामो समयसम्म उत्पादन लिन सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा किवी खेती विस्तार हुँदै जाँदा यसको व्यावसायिक सम्भावना पनि बढ्दै गएको छ । यस वर्ष किवी फूल्ने समयमा परेको असिनापानीका कारण उत्पादनमा भने गिरावट आउने अनुमान गरिएको छ ।
गुल्मीका किसानले पछिल्लो समय परम्परागत खेतीसँगै किवी खेतीलाई पनि आम्दानीको भरपर्दो स्रोतका रूपमा विकास गर्दै लगेका छन् । जिल्लामा हाल ७५ हेक्टर क्षेत्रफलमा किवी खेती भइरहेको छ ।
त्यसमध्ये ५८ हेक्टर क्षेत्रफलमा लगाइएका किवीका बिरुवाले उत्पादन दिन थालेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्ष जिल्लाभर चार सय ५४ मेट्रिक टन किवी उत्पादन भएको थियो ।
किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले खेती विस्तारमा जोड दिएका छन् । किसानले उत्पादन गरेको किवी प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन् ।
बजारमा माग राम्रो हुनुका साथै उत्पादित किवी बिक्री गर्न खासै समस्या नभएपछि किसानको आकर्षण बढेको कृषक बिरबहादुर काकीले बताए ।
तम्घासमा १५ वर्षदेखि किवी खेती गदै आएका कार्कीले यसवर्ष असिना पानीका कारणले १ केजी पनि बिक्री गर्न नपाएको दुखेसो गरे ।
किसानका अनुसार किवी खेतीबाट अन्य परम्परागत बालीको तुलनामा राम्रो आम्दानी लिन सकिन्छ । एकपटक बिरुवा रोपेपछि लामो समयसम्म उत्पादन दिइरहने भएकाले पनि यस खेतीप्रति किसानको रुचि बढेको हो ।
सामान्य मलजल, गोडमेल र आवश्यक हेरचाह गरे पुग्ने भएकाले खेती व्यवस्थापन पनि सहज रहेको रेसुङ्गा ९ का कृषक चुराबहादुर गैरेले बताए । गुल्मीमा किवी खेतीको सुरुवात २०६४ सालदेखि भएको मानिन्छ ।
त्यसबेला भार्सेका किसानले संखुवासभाबाट किवीका बिरुवा ल्याएर रोपेका थिए । सुरुवाती चरणमा परीक्षणका रूपमा गरिएको खेतीले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि विस्तारै जिल्लाका अन्य स्थानमा पनि किवी खेती फैलिँदै गएको हो ।
अहिले भार्से र म्यालपोखरी किवी खेतीका मुख्य क्षेत्रका रूपमा चिनिएका छन् । समुद्री सतहदेखि करिब एक हजार दुई सय मिटरभन्दा माथिको उचाइमा किवी खेती राम्रो हुने गर्दछ ।
गुल्मीका अधिकांश भू-भागको हावापानी र भौगोलिक अवस्था किवी खेतीका लागि उपयुक्त रहेकाले जिल्लामा यसको विस्तारको सम्भावना उच्च रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।
कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट र रेसुङ्गा नगरपालिकासहित जिल्लाका १२ वटै स्थानीय तहमा किवी खेती विस्तार गर्न सकिने सम्भावना रहेको कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख विवेक पन्थले बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्ष जिल्लामा चार सय ५४ मेट्रिक टन किवी उत्पादन भएको थियो । उत्पादनशील ५८ हेक्टर क्षेत्रफलका आधारमा जिल्लाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव शून्य नौ मेट्रिक टन रहेको छ ।
गत वर्ष उत्पादित किवी बिक्रीबाट किसानले पाँच करोड ४५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेका थिए । यसले किवी खेती गुल्मीका किसानका लागि राम्रो आम्दानीको सम्भावना बोकेको नगदेबालीका रूपमा स्थापित हुँदै गएको देखाउँछ ।
यस वर्ष किवी फूल्ने समयमा परेको असिनापानीले उत्पादनमा असर पुर्याएको छ । फूल लाग्ने र फलको प्रारम्भिक विकास हुने संवेदनशील समयमा परेको असिनाले फूल तथा फलमा क्षति पुर्याएपछि अघिल्लो वर्षको तुलनामा उत्पादन घट्ने अनुमान गरिएको छ ।
जलवायुजन्य जोखिमका कारण किसानले अपेक्षित उत्पादन लिन नसक्ने अवस्था देखिए पनि किवी खेतीप्रतिको आकर्षण भने घटेको छैन । जिल्लामा उत्पादन हुने किवीमध्ये करिब ३० देखि ३५ प्रतिशत मात्रै जिल्लाबाहिर निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बाँकी किवी जिल्लाभित्रै खपत हुने गरेको छ । स्थानीय बजारमा बिक्री हुनुका साथै आफन्त तथा पाहुनालाई कोसेली र पाहुरका रूपमा समेत किवी पठाउने चलन बढेको छ । स्थानीयस्तरमै खपत हुने र बजारमा राम्रो मूल्य पाइने भएकाले किसानलाई उत्पादन बिक्रीका लागि ठूलो समस्या नरहेको कृषक चुराबहादुर गैरेले बताए ।
किवी खेतीको सम्भावना र किसानको आकर्षणलाई ध्यानमा राख्दै कृषि ज्ञान केन्द्र गुल्मीले समेत किवी प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । खेती विस्तार, उत्पादन वृद्धि र किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइएको केन्द्रले जनाएको छ ।
जिल्लाको भौगोलिक अवस्था र हावापानी अनुकूल रहेकाले किवी खेतीलाई थप विस्तार गर्न सकिने कृषि प्राविधिकहरूको भनाइ छ । एकपटक लगाएको बिरुवाले लामो समयसम्म उत्पादन दिने, बजारमा राम्रो मूल्य पाइने र सामान्य हेरचाहबाट खेती गर्न सकिने भएकाले गुल्मीमा किवी खेती किसानका लागि आकर्षक विकल्प बन्दै गएको छ ।
उचित प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा, उत्पादनको उचित व्यवस्थापन र बजार प्रवर्द्धन गर्न सके किवी खेती गुल्मीको कृषि अर्थतन्त्रलाई थप मजबुत बनाउने सम्भावना बढाएको छ ।