बेलहरासहित प्रमुख क्षेत्रमा रोगकिरा र बदलिँदो मौसमका कारण दुई बाली लगाउने किसान अहिले एक बालीमा सीमित हुन थालेका छन्।
धनकुटा — धनकुटामा वार्षिक ५६ हजार ४ सय २९ मेट्रिक टन गोलभेडा उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादन हुने ताजा तरकारीमध्ये गोलभेडा सबैभन्दा बढी उत्पादन हुने बाली हो ।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका १ हजार ४ सय ९८ हेक्टर क्षेत्रफलमा गोलभेडा खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट ५६ हजार ४ सय २९ मेट्रिक टन गोलभेडा उत्पादन भएको हो । यसको उत्पादकत्व प्रतिहेक्टर ३७ दशमलव ६७ मेट्रिक टन छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि गोलभेडाको खेती क्षेत्रफल, उत्पादन र उत्पादकत्व यही अनुपातमा रहेको तथ्यांक छ ।
कृषि ज्ञान केन्द्र धनकुटाकी सूचना अधिकारी विनिशा श्रेष्ठका अनुसार धनकुटा नगरपालिका, साँगुरीगढी र सहिदभूमि गाउँपालिका तथा पाख्रीबास र महालक्ष्मी नगरपालिकामा उत्पादित गोलभेडाको ५० प्रतिशतभन्दा बढी हिस्सा धरान, इटहरी, विराटनगर र बिर्तामोडका बजारमा पुग्ने गरेको छ । स्थानीय व्यापारीले किसानबाट खरिद गरेर ती बजारमा गोलभेडा पुर्याउने गरेका छन् ।
धनकुटाको बेलहरा गोलभेडा उत्पादनका लागि प्रसिद्ध क्षेत्र मानिन्छ । तर, पछिल्लो समय रोगकिरा र जलवायु परिवर्तनका कारण यहाँका किसानले गोलभेडा खेती घटाउँदै गएको धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टंक रोइलाले बताए ।
उनका अनुसार विगतमा बेलहराका करिब ७० प्रतिशत किसानले गोलभेडा खेती गर्थे । अहिले भने खेती गर्ने किसानको संख्या घट्दै गएको छ । विगतमा वर्षमा दुई बाली गोलभेडा लगाउने किसानले अहिले चैत–वैशाखमा एक बाली मात्रै लगाउने गरेका छन् । गोलभेडा खेती घटे पनि बोडी, खुर्सानी र सागजस्ता हरिया तरकारीको उत्पादन भने बढिरहेको रोइलाले बताए ।
बेलहरामा उत्पादित तरकारी किसानले बाघखोर र इटहरी चोकमा संकलन गरी व्यापारीलाई बिक्री गर्दै आएका छन् । यहाँको तरकारी जालपादेवी कृषि सहकारीमार्फत पनि बिक्री हुने गरेको छ । अहिले धनकुटामा उत्पादित गोलभेडा प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको सूचना अधिकारी श्रेष्ठले बताइन् ।
धनकुटामा गोलभेडापछि सबैभन्दा बढी बन्दाकोपी उत्पादन हुने गरेको छ । जिल्लामा १ हजार ४ सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको बन्दाकोपी ३९ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको छ । यसको उत्पादकत्व प्रतिहेक्टर २६ दशमलव ६९ मेट्रिक टन छ । त्यस्तै, ६ सय १ हेक्टरमा खेती गरिएको फूलकोपी ११ हजार ७ सय ७ मेट्रिक टन उत्पादन भएको छ । ५ सय ८४ हेक्टरमा लगाइएको मुला १० हजार १ सय ३८ मेट्रिक टन उत्पादन भएको छ ।
यसैगरी, ३ सय २६ हेक्टरमा रायो खेती गर्दा ३ हजार ६ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । २९ हेक्टरमा खेती गरिएको गाजर ३ सय ३३ मेट्रिक टन उत्पादन भएको छ । सबैभन्दा कम क्षेत्रफलमा खेती हुने ब्रोकाउली २० दशमलव ६ हेक्टरमा लगाउँदा १ सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकांश तरकारी बालीको खेती क्षेत्रफल र उत्पादनमा खासै परिवर्तन देखिएको छैन । फूलकोपीको खेती क्षेत्रफल ६ सय २ हेक्टरबाट घटेर ६ सय १ हेक्टर र उत्पादन ११ हजार ७ सय २७ बाट घटेर ११ हजार ७ सय ७ मेट्रिक टन पुगेको छ ।
त्यस्तै, ब्रोकाउलीको खेती क्षेत्रफल २१ हेक्टरबाट घटेर २० दशमलव ६ हेक्टर र उत्पादन १ सय ५४ बाट घटेर १ सय ५१ मेट्रिक टन भएको छ । अन्य तरकारी बालीको खेती क्षेत्रफल र उत्पादन भने अघिल्लो वर्षकै हाराहारीमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।