महालक्ष्मी–४ स्थित तेजकुमार श्रेष्ठको घरमा भएको खेलमा घरधनीसहित विभिन्न जिल्लाका २० जना पक्राउ परेका छन्।
धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा कौडा खेलिरहेको अवस्थामा शुक्रबार बिहान प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
स्थानीय तेजकुमार श्रेष्ठको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा खटिएको टोलीले बिहीबार राति करिब २ बजेर १५ मिनेटमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेलिरहेको खालबाट १६ वटा ठूला कौडा र नगद ५४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका २० जनाको साथबाट थप ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको छ । बरामद नगदको कुल रकम ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय तेजकुमार श्रेष्ठसहित महालक्ष्मी नगरपालिकाका विभिन्न वडाका स्थानीय तथा भोजपुर, संखुवासभा, सुनसरी र दोलखाका व्यक्ति छन् ।
प्रहरीले उनीहरूलाई बिहान साढे ५ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा पुर्याएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।