Trending
Prev Story
Next Story

तीन वर्षमै जीर्ण बन्यो कार्गो रेलको पूर्वाधार

Ekantipur •
November 22, 2026 • 09:32 AM
2
2 reads 0 reactions

बथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा आए पनि यार्ड, प्लेटफर्म, भण्डारण क्षेत्र र आन्तरिक सडक बिग्रँदा कार्गो रेल नियमित हुन सकेको छैन।

तीन वर्षमै जीर्ण बन्यो कार्गो रेलको पूर्वाधार

बथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा आए पनि यार्ड, प्लेटफर्म, भण्डारण क्षेत्र र आन्तरिक सडक बिग्रँदा कार्गो रेल नियमित हुन सकेको छैन।

विराटनगर — भारतबाट रेलमार्फत औद्योगिक कच्चा पदार्थ आयात गरी ढुवानी लागत घटाउने र विराटनगरलाई पारवहन केन्द्र (लजिस्टिक हब) बनाउने यहाँका उद्योगी–व्यवसायीको सपना छ ।

तर, रेलबाट ल्याइने मालवस्तु झार्ने यार्डकै अवस्था दयनीय छ । यार्डको सतह भासिएको छ, कालोपत्रे उप्किएको छ भने आइसिपीभित्रका सडक र भण्डारण क्षेत्र जीर्ण बनेका छन् । कार्गो रेल नियमित सञ्चालनको माग उठिरहेका बेला त्यससँग जोडिएका पूर्वाधारको बिग्रँदो अवस्थाले व्यापारिक सुविधाको उपयोगितामाथि नै प्रश्न उठाएको छ ।

भारतको बथनाहादेखि मोरङको कटहरीसम्म जोड्ने १८ दशमलव १ किलोमिटर रेलमार्ग भारतीय निर्माण कम्पनी इरकनले बनाएको हो । २०८० जेठमा उद्घाटन गरिएको रेलमार्ग अहिले बथनाहादेखि विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसिपी) सम्म सञ्चालनमा छ । रेलमार्गसँगै निर्माण गरिएको नेपाल कस्टम यार्ड पनि नेपाललाई हस्तान्तरण भइसकेको छ । तर, उद्घाटन भएको तीन वर्षमा पाँच पटक मात्रै कार्गो रेल विराटनगर आएको छ ।

आइसिपी सञ्चालनको ठेक्का पाएको ट्रान्सनेपाल फ्रेट सर्भिसेज प्रालिका अनुसार पहिलो पटक ६ असार २०८३ मा कार्गो रेल आएको थियो । त्यसपछि २८ साउन, २५ भदौ, ११ असोज र अन्तिम पटक २१ कात्तिकमा आएको थियो ।

रेलमार्ग सञ्चालनमा आएपछि उद्योगीले सडकमार्गबाट हुने ढुवानीको चाप घट्ने, कच्चा पदार्थ आयातको लागत कम हुने र मालवस्तु आपूर्ति सहज हुने अपेक्षा गरेका थिए । तर, रेलबाट ठूलो परिमाणमा मालवस्तु ढुवानी गर्न सकिने सुविधा भए पनि त्यससँग जोडिएका यार्ड, प्लेटफर्म र सडकको अवस्था सुधार नहुँदा रेलमार्गको उपयोगिता विस्तार हुन नसकेको मोरङ व्यापार संघका अध्यक्ष अनिलकुमार साहले बताए ।

‘रेलबाट आयात हुने मालवस्तु अनलोड गर्ने रेलवे यार्डको करिब एक किलोमिटर क्षेत्रमा क्षति पुगेको छ,’ साहले भने, ‘कन्टेनर अनलोड गर्न र एक ठाउँबाट अर्को ठाउँमा सार्न प्रयोग गरिने भारी उपकरणको भारले यार्डको सतह भासिएको, चर्किएको र ठाउँठाउँमा खाल्डा परेको छ ।’

कतिपय ठाउँमा कालोपत्रे उप्किएको छ । यस्तो अवस्थामा भारी उपकरण सञ्चालन गर्न कठिनाइ हुनुका साथै कन्टेनर र मालवस्तु ओसारपसारमा समस्या भइरहेको साहको भनाइ छ । भारत सरकारको अनुदानमा भारतीय कम्पनी इरकनले यो संरचना निर्माण गरेको हो । ‘यार्डको अवस्था हेर्दा अहिले नै मर्मत गर्नुपर्ने देखिन्छ,’ विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भने, ‘निर्माणकै क्रममा लापरबाही भएको जस्तो देखिन्छ ।’

उनका अनुसार रेलमार्गसँग जोडिएका संरचना सञ्चालनयोग्य नहुँदा रेलबाट ढुवानी विस्तार गर्ने योजनाले अपेक्षित गति लिन सकेको छैन । रेलमार्ग निर्माण गरेर मात्रै ढुवानी प्रणाली प्रभावकारी नहुने भन्दै यार्ड, प्लेटफर्म, भण्डारण क्षेत्र र आन्तरिक सडकको अवस्था सुधार गर्नुपर्ने उनले बताए ।

यार्ड निर्माणमा प्रयोग भएका सामग्री र संरचना तयार गर्ने विधिबारे पनि उद्योगी–व्यवसायीले प्रश्न उठाएका छन्। पर्याप्त आधार तयार नगरी सतह निर्माण गरिएको तथा गुणस्तरीय सामग्री प्रयोग नभएकाले संरचना चाँडै बिग्रिएको उनीहरूको आरोप छ । भारी उपकरण, कन्टेनर र मालवस्तुको चाप धान्नुपर्ने संरचना निर्माण गर्दा त्यसअनुसारको भारवहन क्षमता सुनिश्चित गर्नुपर्ने भए पनि अहिलेको अवस्थाले निर्माणको गुणस्तरमाथि आशंका उब्जाएको उनीहरूको भनाइ छ ।

पूर्वाधार बिग्रिएपछि मर्मतको आवश्यकता देखिए पनि खर्च कसले बेहोर्ने र जिम्मेवारी कुन निकायको हुने भन्ने टुंगो लागेको छैन । आइसिपी र नेपाल कस्टम यार्डको व्यवस्थापन विभिन्न सरकारी निकाय तथा सञ्चालन कम्पनीसँग जोडिएकाले संरचनागत मर्मतको जिम्मेवारीमा अन्योल छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले रेल्वे यार्डलगायत क्षेत्र मर्मतका लागि कम्पनीले योजना बनाइरहेको बताए । व्यवसायीसँगको एक छलफलमा उनले भने, ‘३० करोड बजेट विनियोजन भएको छ, हामी चाँडै मर्मत गर्ने योजनामा छौं ।’

रेल्वे यार्डसँगै कन्टेनर राख्ने क्षेत्र, बोरामा ल्याइएका मालवस्तु राख्ने प्लेटफर्म र आइसिपीभित्रका सडक पनि जीर्ण बनेका छन् । मालवस्तु लोड–अनलोड, भण्डारण र भन्सार प्रक्रिया पूरा गर्ने क्रममा प्रयोग हुने संरचनाको अवस्था कमजोर हुँदा समग्र ढुवानी व्यवस्थापनमा असर पर्ने जोखिम छ । यस्ता संरचना बिग्रँदै गए मालवस्तु व्यवस्थापनमा अतिरिक्त समय लाग्ने, उपकरण सञ्चालन कठिन हुने र ढुवानी प्रक्रिया प्रभावित हुने उद्योगी–व्यवसायीको चिन्ता छ ।

आइसिपीको पूर्वाधार सुधारका विषयमा केही समयअघि संसदीय समितिले स्थलगत निरीक्षण गरी सम्बन्धित निकायलाई मर्मतको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर, निर्देशनपछि पनि सुधारको काम अघि बढ्न सकेको छैन । पूर्वाधार सुधारमा सरकारी निकायको उदासीनता र व्यवस्थापनको जिम्मेवारीमा देखिएको अन्योलले व्यापार सहजीकरणका लागि बनाइएका संरचना उपयोगविहीन हुने जोखिम बढाएको साहले बताए । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

विराटनगरलाई लजिस्टिक हब बनाउने अवधारणामा रेलमार्ग, आइसिपी, भन्सार, गोदाम, सडक सञ्जाल र मालवस्तु व्यवस्थापन प्रणाली एकअर्काका पूरक हुन् । रेलबाट मालवस्तु ल्याउने सुविधा उपलब्ध भए पनि त्यसलाई अनलोड, भण्डारण र गन्तव्यसम्म पुर्‍याउने पूर्वाधार कमजोर भए ढुवानी प्रणाली प्रभावकारी हुन नसक्ने उद्योगी अमित सारडाले बताए । उद्योगी–व्यवसायीका अनुसार रेलमार्गबाट ढुवानी विस्तार गर्न नियमित कार्गो रेल सञ्चालन, भौतिक संरचनाको सुधार र व्यवस्थापन प्रणाली चुस्त बनाउन आवश्यक छ ।

रेलमार्गबाट मालवस्तु ढुवानी गर्दा लागत र समय घट्ने अपेक्षा उद्योगीहरूको छ । निर्माण गरिएका पूर्वाधारको संरक्षण र मर्मतमा समयमै ध्यान नदिए लगानीको प्रतिफल हासिल गर्न कठिन हुने उनीहरूको भनाइ छ । कार्गो रेल नियमित सञ्चालनको मागसँगै यार्ड, प्लेटफर्म, भण्डारण क्षेत्र र सडकको मर्मत तथा व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले बताए । ‘व्यापार सहजीकरणका लागि निर्माण गरिएको आइसिपीको पूर्वाधार कमजोर बन्दै गए विराटनगरलाई क्षेत्रीय व्यापारिक केन्द्र बनाउने योजनासमेत प्रभावित हुन सक्छ,’ सारडाले भने, ‘यो मुलुककै लागि घाटा हो ।’

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2d ago
जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको...

#रेल
Compare →
Onlinekhabar
4d ago
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ …

#कार्गो
Compare →

Related Stories

Business & Economy
Build #2612