Trending
Prev Story
Next Story

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions 4 comments

सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको 'रेड नोटिस'मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि …

1 / 8
Swipe Photos

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको ‘ रेड नोटिस ‘मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

जेन-जी विद्रोहपछि भएको निर्वाचनको एक साताअघि १४ फागुन २०८२ मा देउवा उपचारका लागि भन्दै सिंगापुर गए । पत्नी आरजु पनि भारत हुँदै त्यहाँ पुगेकी थिइन् । यता निर्वाचनमा असाधारण मतसहित बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्नासाथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवाविरुद्ध अनुसन्धान तीव्र बनाएको थियो ।

सरकार बनेको ११औँ दिनमा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । सरकारले रेड नोटिसमा राख्ने प्रक्रिया पनि अघि बढाएपछि देउवा दम्पती हतारिएर सिंगापुरबाट हङकङतर्फ हानिएका थिए । हङकङमा चिनियाँ प्रशासनको छातामा इन्टरपोलले पनि हस्तक्षेप गर्न नसक्ने आशामा उनीहरू त्यहाँ पुगेको बताइन्छ । हतास देउवाले आफू नेपाल आएर अनुसन्धानमा सघाउने प्रतिबद्धतासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पनि लेखेका थिए ।

पाँच महिना विदेशमा बिताएर गत साउन २८ मा देश फर्केका शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनको भव्य स्वागत भयो । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरेकै शैलीमा समर्थकहरूले बाजागाजासहित देउवालाई विमानस्थलबाट उनको समूहको कार्यालय चुनदेवी पुर्‍याएका थिए ।

देउवा समर्थकहरू चिन्तित थिए– कतै सरकारले वयोवृद्ध नेतालाई समातेर थुन्ने त होइन ? त्यसअघि चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिन हिरासत मा बसिसकेका थिए । तर गाडीको सनरूफबाट हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले बार्दलीबाट ललकार दिए– ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’

के समर्थकहरूले मात्र देउवालाई यति विश्वास दिलाएका थिए ? कि यसमा ‘सत्ता’को पनि धाप थियो ? सूचनाहरू भन्छन्– ‘सत्ताले सद्भाव मात्र होइन, साथ पनि दिने निश्चित गरेपछि मात्र उनी नेपाल आएका हुन् । सरकारसम्बद्ध मान्छेहरूले उनीमाथिका कारबाही स्थगित गर्ने वचन दिएका छन् ।’ देउवा आफू बलियो हुन चाहन्छन् र सरकार कांग्रेसलाई कमजोर बनाउन चाहन्छ, आ-आफ्ना दाउमा सौदाबाजी भएको विश्लेषण कांग्रेसकै नेताहरूको छ ।

कांग्रेस उपसभापति मधु आचार्य सरकारको यो रणनीति अस्वाभाविक र शंकास्पद देखिएको बताउँछन् । दुईतीन वटा घटनाक्रमलाई हेर्दा सरकार र देउवाबीचको मिलेमतोमा विश्वस्त हुने ठाउँ देखिएको उनको दाबी छ ।

आचार्यका अनुसार सिंगापुर हुँदै हङकङ पुगेका देउवा कांग्रेसभित्र वार्ता र सहमतिलाई गति दिन तयार थिए । संस्थापनले पूर्णबहादुर खड्कादेखि शेखर कोइरालासम्मलाई विश्वासमा लिइसकेको थियो । दुवैतिर छलफल गरेर एकतालाई निष्कर्षमा पुर्याउने योजना थियो ।

‘तर एकाएक घटनाक्रमले नयाँ मोड लियो र छलफलहरू सबै रोकिए, अनि राष्ट्रिय भेलाका लागि देउवा नेपाल आउने कुरा भयो,’ उपसभापति आचार्य भन्छन्, ‘ठीक त्यति नै बेला सर्वोच्च अदालतमा निवेदन दिने र पुनरावलोकनको निस्सा पाउने घटनाक्रम भए । अनि देउवा नेपाल आउँदा सरकार स्वयं एयरपोर्टमा स्वागत गर्न गएसरहको रवैया देखियो ।’

सर्वोच्च अदालतले आफैँ फैसला गरेको करिब चार महिनापछि कांग्रेसको वैधानिकताको मुद्दामा पुनः सुनुवाइको ‘ निस्सा ’ दिने आदेश दियो । यो निर्णयले देउवा पक्ष हौसियो भने नयाँ संस्थापन तर्सियो । छोटो समयका लागि सत्ताको केन्द्रमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘देउवालाई ब्युँताएर कांग्रेसलाई सुताउने’ योजनाअनुसार सत्तारूढ रास्वपाको नेतृत्वको सहमतिमा यो निर्णय आफैँले गराएको सन्देश पठाएको कांग्रेस संस्थापनको दाबी छ ।

त्यसो त अरू सञ्चारकर्मीसँगको भेटमा पनि जबराले ‘देउवा क्याम्पलाई पार्टीको आधिकारिकता सुरक्षित गरिदिने’ भनेर विश्वस्त पारेको बताएका थिए । जबराले देउवालाई नेपाल फर्काउने वातावरण बनाउने सूत्रधार आफू नै भएको दाबी गर्दै आएका थिए । देउवा नेपाल आइपुग्नुभन्दा दुई दिनअघि नै जबराले आफ्नै निवासमा केही सञ्चारकर्मीहरूलाई देउवाको आगामी राजनीतिक लाइन के हुनेछ भनेर ब्रिफिङ गरेका थिए । उनले भनेका थिए, ‘देउवाले अब बीपीको राष्ट्रिय मेलमिलाप र हिन्दु राष्ट्रको एजेन्डालाई मुख्य हतियार बनाउँछन् ।’

घटनाक्रम दुरुस्तै देखियो । देउवाले नेपाल फर्केपछि सार्वजनिक गरेको लिखित मन्तव्यमा बीपीको मेलमिलाप नीतिको व्याख्या गरिएको थियो भने मौखिक सम्बोधन मा उनी अनायासै ‘म हिन्दु हुँ, म हिन्दु हुँ, म हिन्दु हुँ’ भन्दै जोस्सिएका थिए ।

जेनजी आन्दोलनका बेला ०८२ भदौ २४ मा बूढानीलकण्ठस्थित देउवा निवासमा भीडले हमला गर्यो । देउवा र आरजुमाथि कुटपिट भयो । घरमा आगजनी गरियो । आगजनीका क्रममा नोटहरू जलेको भिडिओ भाइरल भए ।

नोट जलेको देखिएपछि त्यसबारे अनुसन्धान हुनुपर्ने आवाज उठ्यो । कांग्रेसका तत्कालिन सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ती भिडिओ एआईबाट निर्मित भएको दाबी गरेका थिए । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खरानी संकलन गरी गरेको परीक्षणबाट भिडिओ एआईबाट निर्मित नभई वास्तविक भएको प्रमाणित गरेको थियो । जलेको भिडिओ सक्कली भए पनि खरानीमा नोटको अवशेष भए–नभएको यकिन गर्न भने थप अनुसन्धान गर्नुपर्ने विधि विज्ञान प्रयोगशालाको रिपोर्ट छ ।

यो पनि पढ्नुहोस देउवा दम्पतीविरुद्ध के प्रमाण भेटिएपछि अघि बढेको हो अनुसन्धान ?

उता गैरकानुनी सम्पत्ति जोडेर शुद्धीकरण गरेको आरोपमा जिल्ला अदालतबाट पक्राउ अनुमति पाएलगत्तै नेपाल प्रहरीले उनलाई विदेशमै पक्रेर नेपाल ल्याउन इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोल थप आधार मागेपछि  वैशाखमा प्रहरीले थप कागजात पनि पठाएको थियो ।

यहीबीच पक्राउ पुर्जीविरुद्ध देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा सुनुवाइ गर्दै ११ जेठमा सर्वोच्च भनेको थियो- ‘नयाँ अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतको क्षेत्राधिकारमा पर्ने भएकाले त्यसअघिको कानुनलाई हवाला दिएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेको मिलेन ।’ सर्वोच्चले जिल्ला अदालतबाट जारी पूर्जीका आधारमा पक्राउ गर्न मिल्दैन भनेको थियो, तर सरकारले भने नाटकीय रुपमा अनुसन्धान नै स्थगित गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरु यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेनन् । तर विभागका एक उच्चपदस्थ अधिकारीका अनुसार सरकार गठन हुनासाथ देउवालाई नेपाल ल्याउन जे जस्ता प्रयासहरू भए, अहिले ती सबै स्थगित गरिएको छ । ती अधिकारी भन्छन्, ‘अहिले सरकारका लागि देउवा होइन, अरु नै प्राथमिकतामा छन् ।’

गत असारमै पासपोर्ट ठेक्का अनियमिततामा संलग्न भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुर्वपरराष्ट्रमन्त्री डा. आरजु राणालाई बयानका लागि डाक्दै बूढानीलकण्ठस्थित निवासको भग्नावशेषमा पुर्जी टाँसेको थियो । अख्तियारले पासपोर्ट ठेक्का प्रकरणमा आरजु देउवालाई बयानमा बोलाएपछि उनले आफू उपचारका क्रममा विदेशमा रहेको भन्दै पछि फर्किएर अनुसन्धानमा सघाउने जवाफ लेखेकी थिइन् ।

२२ असारमा शेरबहादुर र आरजुका एक मात्र सन्तान जयवीर देउवाको नाममा हाजिर हुन आउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको थियो । जयवीर पनि बयानका लागि नेपाल फर्केनन् ।

यो पनि पढ्नुहोस ‘जयवीरको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ’

असारसम्म पनि सरकार देउवा र उनको परिवारमाथि अनुसन्धान अघि बढाउन प्रयासरत देखिन्थ्यो । तर साउन लाग्नासाथ घटनाक्रमहरू बदलिएको देखिन्छ । कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी फैसला पुनरावलोकन हुनुपर्ने मागसहित  साउनमा निवेदन परेको थियो, त्यसको दुई साताभित्रै सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको थियो ।

चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूले गरेको संवाद ४ मंसिरमा एकाएक समाचारको विषय बन्यो । रास्वपा सांसद श्रीराम न्यौपानेले फेसबुकमा पोस्ट गरेको भिडिओमा भुलवश गोप्य संवादको अडिओसमेत सार्वजनिक भएको थियो, जसमा उनीहरूले भनेका छन्, ‘शेरबहादुर देउवाको हातमा नेपाली कांग्रेस जानुपर्छ, जसका कारण हामीलाई फाइदा हुन्छ ।’

यो पनि पढ्नुहोस चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

यो भनाइमा सही थाप्दै रास्वपा सांसद एवं कानुन समितिकी सभापति समीक्षा बास्कोटाले भनेकी छन्, ‘अदालतले पनि फैसला गरेर कांग्रेस शेरबहादुर देउवाकोमा जानुपर्छ ।’

उनका अनुसार स्थानीय निर्वाचनसम्म कांग्रेसको आधिकारिकता देउवा पक्षले पाउनुपर्छ । त्यसका अलावा ‘ओलीलाई रोक्नुहुन्न’ भन्दै उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत योभन्दा चर्को भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

‘निस्किन्छन्, यिनीहरूको स्वभाव नै त्यही हो,’ उनीहरूको अडिओमा सुनिन्छ ।

‘त्यसको फाइदा हामीले लिन्छौँ,’ न्यौपानेले भनेका थिए, ‘तर हामीले पनि काम गर्नुपर्छ । त्यतिले मात्रै त पुग्दैन ।’

झट्ट सुन्दा यो रास्वपाका सांसदहरूको गफ मात्र जस्तो लाग्न सक्छ । तर, पछिल्लो समय सरकारले प्रतिपक्षी दलभित्रको राजनीतिमा सत्ताको दुरुपयोग गरेको आरोप लागेको छ । त्यसमा बिचौलियाहरू पनि प्रयोग भएका छन्, जसको पछिल्लो उदाहरण हुन्– इनम सापकोटा ।

उच्चपदस्थ अधिकारी र न्यायाधीशहरूसँग समेत सेटिङ गरेको आरोपमा पक्राउ परेका इनम सापकोटामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । इनम सापकोटासँगको ह्वाट्सएप संवाद र त्यसपछि भेट भएको विवरण बाहिरिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले १२ कात्तिक २०८३ मा आफ्नो चेम्बरमा केही पत्रकारहरूसँग कुराकानी गरेका थिए ।

न्यायाधीश फुयालका अनुसार सापकोटाले कांग्रेसको मुद्दामा अस्वाभाविक चासो राखेर निर्देशित गर्न खोजेका थिए । उनले निर्वाचन आयोगको निर्णय बदर गरी देउवा पक्षलाई नै आधिकारिकता प्रदान गर्नुपर्ने वकालत गरेका थिए ।

विशेष महाधिवेशनबाट चुनिएर आएको गगन थापा पक्षलाई निर्वाचन आयोगले २०८२ माघ २ गते आधिकारिकता दिएको थियो । त्यसविरुद्ध देउवा र पूर्णबहादुर खड्का अदालत गएका थिए । न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८३ वैशाख ४ मा थापा पक्षलाई आधिकारिकता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो । उक्त फैसलामाथि पुनरावलोकनको माग गर्दै पूर्णबहादुरले निवेदन नै दिएका थिएनन् । रिटमा वादी–प्रतिवादी नरहेका दीपक खड्काले निवेदन लिएर सर्वोच्च गए र त्यसैका आधारमा प्रधानन्यायाधीश डा. मनोज शर्मासहितको इजलासले सुनुवाइ गर्दै गत २१ साउनमा त्यो फैसला पुनरावलोकन हुने आदेश गरेको थियो ।

त्यति मात्र होइन, प्रहरीमा इनम सापकोटाले दिएको बयानले पनि यो मुद्दामा उनको कनेक्सन देखाउँछ । केही साताअघि ठाउँठाउँमा सम्पादन गरिएको र थपघट गरिएको एउटा अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भयो, जसमा इनमले कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठमार्फत बालकृष्ण खाँण र खाँणमार्फत शेरबहादुर देउवालाई चिनेको दाबी गरेका छन् ।

बयानमा उनले त्यतिबेला एमाले र कांग्रेसको देउवा समूहले समेत २१ फागुनको निर्वाचन बहिष्कार गर्ने जोखिम भएकाले निर्वाचनको वातावरण बनाउन विशेष महाधिवेशन गरेको गगन थापा समूहलाई आधिकारिकता दिने काम भएको उल्लेख गरेका छन् । ‘इनमले दीपक खड्काको पनि नाम लिएका छन् । दीपक खड्का अहिले पनि देउवा समूहमा छन् भने निर्वाचनअघिसम्म उमेश श्रेष्ठ पनि देउवा पक्षमै थिए, यसैबाट त्यो अडिओको सत्यता बुझिन्छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘जनताले नयाँ अपेक्षा गरेका छन्, तर सरकार पुरानै नेताहरूको जस्तो सत्ताको दुरुपयोगमा रमाइरहेको छ ।’

बयानमा सापकोटाले आफूले चोलेन्द्र शमशेर जबरालाई भेटेर केही मुद्दा सेटल गर्न खोजेको खुलाएका छन् । त्यसका लागि कांग्रेस नेता शशांक कोइरालाको स्वकीय सचिव (पीए) मार्फत भेटघाटको बन्दोबस्त भएको समेत उनले बताएका छन् । त्यस सिलसिलामा दीपक खड्का, बालकृष्ण खाँण र शशांक कोइरालाको नाम पनि उनले लिएका छन् ।

गत असोज १८ देखि ३१ सम्म कांग्रेसको १५औँ महाधिवेशन भयो । काठमाडौंको खुलामञ्चमा सम्पन्न महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्यो । महामन्त्री प्रदीप पौडेलसहितको टोलीले १६ कार्तिकमा निर्वाचन आयोगमा गएर विवरण अद्यावधिक गर्न आवश्यक कागजात बुझाएको थियो । तर करिब तीन साता बितिसक्दा पनि निर्वाचन आयोगले विवरण अद्यावधिक गरेको छैन ।

कतिपयले निर्वाचन आयोगको ढिलाइलाई कांग्रेसमा विवाद जारी राख्ने रास्वपाको प्रयाससँग जोडेर हेरेका छन् । तर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अदालतको मुद्दा वा अरू कुनै राजनीतिक कारण नभई अद्यावधिक गर्न पेस भएका कागजातहरू परीक्षण गर्नुपर्ने भएकाले निर्णय गर्न समय लागेको बताएका छन् ।

‘महाधिवेशनका क्रममा दर्जनौं ठाउँमा विधान संशोधन भएको रहेछ, पदाधिकारीहरूको संख्या र क्लस्टर फेरबदल भएका छन्,’ कार्कीले दुई दिनअघि अनलाइनखबरसँग भने, ‘ती सबै काम प्रक्रियासम्मत थिए कि थिएनन् भनेर हेर्नु परेन ? त्यही रुजु गर्ने क्रममा समय लागेको हो ।’

तर कांग्रेसका नेताहरू भने निर्वाचन आयोगका पदाधिकारीहरूको भूमिकाका कारण सशंकित छन् । पुसको अन्तिम साता भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको विवरण अद्यावधिक गर्न दुई दिन मात्रै लगाएको आयोगले अहिले त्यही कामका लागि लामो समय अल्मल्याएको उनीहरूको भनाइ छ ।

गत ८ असारमा एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतमा पक्राउ परे । पौडेलले सुरक्षाकर्मीसहित विमानमार्फत काठमाडौं आउन खोजे पनि सरकारले उनलाई माइक्रोबसमा राखेर ल्यायो ।

त्यसबेला एमालेमा ओलीको विकल्प खोज्ने बहस उत्कर्षमा पुगेको थियो ।

उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउने तयारीमा थिए । उनीहरूलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको पनि साथ थियो । पोखरेल र पौडेलको मोर्चाबन्दी बढ्दै जाँदा उनीहरूले पार्टी फुटाउन लागेको आरोप ओलीले लगाएका थिए ।

तर यहीबीचमा सम्पत्ति शुद्धीकरणको आरोपमा एमाले उपाध्यक्ष पौडेल समातिए । भरपर्दो प्रमाणबिना नै पक्राउ गरिएको भन्दै विशेष अदालतले २५ दिनपछि उनलाई रिहा गरिदियो । तर, यी करिब साढे तीन साताभित्र एमालेभित्रको नेतृत्व परिवर्तनको अभियान कमजोर भइसकेको थियो । त्यसयता पौडेल पनि ओलीको विकल्प नरहेको बताउन थालेका छन् । अन्ततः भदौमा आफूहरू ओली हटाउने पक्षमा नरहेको बताउन महासचिव पोखरेल पनि बाध्य भए ।

रास्वपाका नेताहरू ओली नेतृत्वमा रहँदासम्म एमाले आफूहरूलाई राजनीतिक चुनौती नहुनेमा ढुक्क छन् । त्यसैले एमालेको नेतृत्व यथास्थितिमा रहोस् भन्ने उनीहरूको चाहना देखिन्छ । जुन कुरा चीन भ्रमणका क्रममा २० सांसदहरूको टोलीको संवादबाट पनि झल्किन्छ ।

तर, विपक्षीलाई तह लगाउन राज्यका संयन्त्र प्रयोग भए आफूहरू चुप नबस्ने कांग्रेस सभापति गगन थापाको भनाइ छ । ७ मंसिरमा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन । हामी प्रस्ट छौँ, हामी प्रतिपक्षको जिम्मेवारीमा छौँ । जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं । जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौं ।’

सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

असारसम्म पनि सरकार देउवा र उनको परिवारमाथि अनुसन्धान अघि बढाउन प्रयासरत देखिन्थ्यो । तर साउन लाग्नासाथ घटनाक्रमहरू बदलिएको देखिन्छ । कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी फैसला पुनरावलोकन हुनुपर्ने माग सहित साउनमा निवेदन परेको थियो, त्यसको दुई साताभित्रै सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको थियो ।

आसन्न स्थानीय र प्रदेश सभा निर्वाचनमा कांग्रेसको नयाँ नेतृत्व आफ्नो प्रमुख चुनौती बन्ने रास्वपाको हिसाबकिताब छ। सोही कारण उनीहरू गगन थापा नेतृत्वको कांग्रेसप्रति आक्रामक छन् भने शेरबहादुर देउवा नेतृत्वको समूहलाई आधिकारिकता दिलाउन चाहन्छन् । त्यसो भएमा जनतामाझ कांग्रेसप्रति थप वितृष्णा बढ्ने र त्यसको राजनीतिक लाभ आफूहरूलाई हुने रास्वपाको बुझाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर

विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर

काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय टेलिफोन कलमा लाग्ने पल्स दर परिवर्तन गरेको छ। कम्पनीले विदेशमा फोन गर्दा...

#विदेश
Compare →
Nagarik News
2d ago
देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्।

#शेरबहादुर-देउवा #देउवा
Compare →
Hamro Patro News
2d ago
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधि...

#शेरबहादुर-देउवा #देउवा
Compare →
Ekantipur
3h ago
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्‍याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

#विदेश
Compare →

Related Stories

Politics & Governance
Build #2621