विशेष सूचनाका आधारमा गरिएको छापामा ३० कर्मचारी नियन्त्रणमा परेका छन् भने २८ व्यक्तिगत मोबाइल, ८८ कार्यालयीय मोबाइल र २५ ल्यापटप बरामद भएका छन्।
विराटनगर — झापाको बिर्तामोडमा सञ्चालित एक आईटी कार्यालयमा प्रहरीले छापा मारेर १ सय १६ थान मोबाइल फोन र २५ थान ल्यापटप बरामद गरेको छ । अनलाइनमार्फत ठगी गरेको आशंकामा कार्यालयमा कार्यरत ३० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले विशेष सूचनाका आधारमा मंगलबार साँझ बिर्तामोड–५ शनिश्चरे रोडस्थित ‘इन्फरमेटिक्स प्रा.लि.’मा छापा मारेको हो । नियन्त्रणमा लिइएकामा २५ महिला र पाँच पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ख्यामराज घिमिरेका अनुसार छापाका क्रममा २८ वटा व्यक्तिगत मोबाइल, कार्यालयमा प्रयोग गरिएका ८८ वटा मोबाइल फोन र २५ वटा ल्यापटप बरामद गरिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका २५ महिलालाई हाजिर जमानीमा छाडेको छ । पाँच पुरुषलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार उक्त कार्यालयबाट विदेशमा रहेका व्यक्तिहरूलाई लक्षित गरी नक्कली सामाजिक सञ्जाल अकाउन्ट बनाएर ठगी गर्ने गरेको आशंका छ । विभिन्न एप बनाइदिने र असाइनमेन्ट तयार पारिदिने भन्दै अनलाइनमार्फत रकम असुल्ने गरेको प्रारम्भिक सूचना प्रहरीसम्म पुगेको बताइएको छ ।
कार्यालयमा कार्यरत महिलाहरू १९ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई तलब तथा विभिन्न प्रलोभन देखाएर काममा लगाइएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ ।
उक्त आईटी संस्था पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) राजन भेटवालको रहेको र उनका छोरा रिवाज भेटवालले सञ्चालन गर्दै आएको बुझिएको छ ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।