Trending
Prev Story
Next Story

विचार | तजबिजी शासनका अनिश्चितता

Ekantipur •
November 24, 2026 • 05:07 PM
11
11 reads 0 reactions

नियमित निर्वाचनले मात्र तजबिजी शासनको बिगबिगीलाई रोक्न नसक्ने कुरा नेपालीहरूले ठम्याउन ढिलो गरे पनि अन्तर्राष्ट्रिय समुदायले लेखाजोखा राख्न थालेको कुरा प्रधानमन्त्री शाहको नयाँदिल्ली भ्रमणको अन्तर्निहित निष्कर्षका रूपमा बुझ्न अहिलेलाई उपयुक्त हुनेछ ।

विचार | तजबिजी शासनका अनिश्चितता

नियमित निर्वाचनले मात्र तजबिजी शासनको बिगबिगीलाई रोक्न नसक्ने कुरा नेपालीहरूले ठम्याउन ढिलो गरे पनि अन्तर्राष्ट्रिय समुदायले लेखाजोखा राख्न थालेको कुरा प्रधानमन्त्री शाहको नयाँदिल्ली भ्रमणको अन्तर्निहित निष्कर्षका रूपमा बुझ्न अहिलेलाई उपयुक्त हुनेछ ।

एक वर्षअगाडि आगो लगाइएको सिंहदरबारमा सत्तारूढ भएको नौ महिनापछि बल्ल प्रधानमन्त्री वालेन्द्र शाहका लागि नयाँदिल्ली ‘तीर्थाटन’ मा जाने साइत जुरेको हो । उनको पहिलो द्विपक्षीय वैदेशिक भ्रमण भनिएको ३० घण्टाभन्दा पनि कम अवधिको शरद् ऋतुका चाडपर्वहरूको चटारोजस्तो हतारको यात्रा औपचारिकता थियो । भ्रमणबारे सबैभन्दा छोटो तर व्यापक अर्थ दिने टिप्पणी भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा समाहित छ– ‘यस यात्राले दुई देशबीच निरन्तर हुँदै आएका उच्चस्तरीय भ्रमणहरूको परम्परालाई अझ अघि बढाएको छ । यसले भारतको ‘छिमेकी पहिले’ (नेबरहुड फस्र्ट) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिइने उच्च प्राथमिकतालाई समेत स्पष्ट पार्छ ।’ त्यति काम फत्ते गर्न पहिले विदेशमन्त्री एस जयशंकरसँग १५ मिनेट र त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै आधा घण्टाजतिको भलाकुसारी काफी हुने नै भयो । थोर–बहुत सहायता र केही सहुलियत ऋणको कुरा पहिले पनि हुने गरेको हो, अहिले पनि भएको छ । नेपाल–भारत सम्बन्ध अरू नबिग्रिएर यथास्थितिमा कायम रहनुलाई पनि एक किसिमको उपलब्धि नै मान्नुपर्छ । सम्बन्धलाई नयाँ दिशा वा थप गति दिन चाहने राजनीतिकर्मीलाई सिंहदरबारमा लामो कालसम्म टिक्न गाह्रो हुन्छ भन्ने काठमाडौंको अर्थराजनीतिक बाध्यताबारे नयाँदिल्लीको सत्तालाई हेक्का रहेको हुनुपर्छ ।

काठमाडौंमा भने नेपाल–भारत सम्बन्धबारे तत्क्षण टिप्पणी गर्ने स्वघोषित जानिफकारहरूको फौज हरदम तयार रहन्छ । प्रधानमन्त्री शाह नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लंदै (अ)सामाजिक सञ्जालका भित्ताहरू उत्तेजना, अतिरञ्जना र सतही तथा परम्परागत विश्लेषणबाट बदरङ भइसकेका थिए । सन् १९९० देखिका नेपालका हरेक प्रधानमन्त्रीका नयाँदिल्ली भ्रमणबारे गरिने टिप्पणीहरूमा केही समानता छन् । कहिले भ्रमणको मिति, स्वागत र शिष्टाचार (प्रोटोकल) देखाएर ‘राष्ट्रघात’ को भाष्य रचिन्छ । कहिले विगतका आक्रामक ‘स्टन्ट’ हरू सम्झाउँदै ‘अब दिल्लीमा लम्पसार परिने भो’ भन्ने दाबी गरिन्छ । कहिले संवेदनशील कूटनीतिक र सीमाका विषयमा तथ्य र इतिहासको सामान्य हेक्कासमेत नराखी सर्वज्ञताको प्रदर्शन गरिन्छ । छिमेकीसँगको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा आधारित रोटी, बेटी र रोजीरोटीजस्ता मुद्दाहरूको खिल्ली उडाइन्छ ।

(अ)सामाजिक सञ्जाललाई नीति निर्माणको आधार मान्ने विद्यमान सिंहदरबारको ‘हरितपीत सत्ता’ ले कतै पूर्वाधार, ऊर्जा र पुनर्निर्माणजस्ता गम्भीर विषयमा घण्टौं अध्ययन र तथ्यको कसीमा घोटिनुपर्ने बहसलाई केही सेकेन्डको उत्तेजक स्टाटसमा खुम्च्याउने त होइन भन्ने डर पनि अस्वाभाविक होइन । प्रधानमन्त्री शाह काठमाडौंको ‘महामेयर’ हुँदा ‘ग्रेटर नेपाल’ देखि हिन्दी फिल्ममा प्रतिबन्ध लगाउनेजस्ता ‘महान् राष्ट्रवादी’ कर्महरू सम्झिँदा उनी फेरि पनि ‘लाइक्स, सेयर एन्ड कमेन्ट’ मा आधारित प्रियतावादको लोभमा फस्ने त होइनन् भन्ने आशंका निराधार लाग्दैन ।

(अ)सामाजिक सञ्जालको कोलाहलपूर्ण माहोललाई इटालीका दार्शनिक–लेखक उम्बेर्तो इकोले सन् २०१५ तिर टुरिन विश्वविद्यालयबाट मानार्थ उपाधि ग्रहण गरेपछि पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा चित्रित गरेका थिए । उनको भनाइअनुसार सामाजिक सञ्जालले मूर्खहरूको फौजलाई बोल्ने अधिकार दिएको छ । पहिले त्यस्ता बोलक्कडहरू एक गिलास मदिरा सुक्र्याएपछि भट्टीमा गफिन्थे । तिनका कुरा त्यही भट्टीको भित्ताभित्र हराउँथे र समाजलाई खासै हानि पुर्‍याउँदैनथे । अहिले उनीहरूले नोबेल पुरस्कार विजेतासरह सार्वजनिक रूपमा डुक्रने अवसर पाएका छन् । त्यस्तो प्रवृत्तिलाई उनले ‘बेबकुफीको फैलावट’ भनेर अर्थ्याएका थिए । इकोको भनाइ कठोर मात्र होइन, केही हदसम्म अभिजात्यपूर्ण पनि सुनिन्छ । ज्ञान र विवेक कुनै विश्वविद्यालयको उपाधि वा प्रतिष्ठित संस्थाको पेवा होइनन् ।

(अ)सामाजिक सञ्जाललाई नीति निर्माणको आधार मान्ने विद्यमान सिंहदरबारको ‘हरितपीत सत्ता’ ले कतै पूर्वाधार, ऊर्जा र पुनर्निर्माणजस्ता गम्भीर विषयमा घण्टौं अध्ययन र तथ्यको कसीमा घोटिनुपर्ने बहसलाई केही सेकेन्डको उत्तेजक स्टाटसमा खुम्च्याउने त होइन भन्ने डर पनि अस्वाभाविक होइन। इटालीकै मार्क्सवादी चिन्तक अन्टोनियो ग्राम्सीलाई ‘पढ्ने’ हो भने भुइँमान्छेको अनुभवले स्थापित विशेषज्ञतालाई चुनौती दिन सक्ने कुरा पनि विश्वसनीय लाग्छ । सम्भ्रान्तहरूको नियन्त्रणमा रहेको सत्ता, परम्परागत मिडिया र बौद्धिक प्रतिष्ठानले कब्जा जमाएको सार्वजनिक बहसमा आममान्छेको प्रवेश सामाजिक सञ्जालको ठूलै समतावादी उपलब्धि हो । तर संकट ‘सबैले बोल्न पाउनु’ मा होइन, ‘स्वतन्त्रता’ र ‘विश्वसनीयता’ बीचको लक्ष्मणरेखा मेटिँदै जानुमा छ । एउटै स्क्रिनमा वर्षौंको अनुसन्धान, प्रत्यक्ष भोगाइ, प्रायोजित प्रचार र निराधार हल्ला एकनासको तौलमा देखिन्छन् । झन् डरलाग्दो कुरा, तिनको पहुँच सत्य वा प्रमाणले होइन, उत्तेजना, सनसनी र ‘भाइरल’ हुने क्षमताले तय गर्ने गर्छ । (अ)सामाजिक सञ्जालको कलनविधि (एल्गोरिदम) ले उत्तेजक सामग्रीलाई प्राथमिकता दिँदा बहस झन्झन् सतही बन्दै गएको छ । कलनविधि र कलबुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) का दूरस्थ सञ्चालकहरूको धर्म सत्य खोज्नु होइन, प्रयोगकर्तालाई पर्दामा झुन्ड्याइराख्नु हो ।

राज्य र समाजमा व्याप्त सभ्रान्त सहमति (एलिट कन्सेन्सस) भत्काउन कहिलेकाहीँ प्रियतावादको प्रयोग सामाजिक संवादको परिधि विस्तारका लागि उपयोगी पनि ठहरिन सक्छ । तर संक्रामक प्रसार (भाइरालिटी) को विनाशकारी सम्मोहनले सार्वजनिक बहसलाई विचित्र मोडमा पुर्‍याएको छ । ज्ञान हासिल गर्न अध्ययन, धैर्य र आत्मसंशय चाहिन्छ । सर्वज्ञताको नाटक गर्न भने एक थान स्मार्टफोन र अचाक्ली आत्मविश्वास भए पुग्छ । तथ्यको साटो आफ्नो पूर्वाग्रहको पुष्टि खोज्नु मानवीय प्रवृत्ति हो । असहमतिलाई अज्ञानता, आलोचनालाई शत्रुता र जनप्रियतालाई सत्यको प्रमाण ठान्ने बानीले भने सार्वजनिक विवेकलाई भित्रभित्रै खोक्रो बनाउँदै लगिरहेको छ ।

जनवृत्तको संकुचन, सार्वजनिक बहसको स्तरमा गिरावट एवं प्रसार संक्रामकताको दोष इकोले इंगित गरेको ‘मूढमति जमात’ लाई मात्र दिएर उम्किन मिल्दैन । शिक्षित वर्ग, राजनीतिक नेतृत्व, सञ्चारकर्मी र स्वयं बुद्धिजीवीसमेत यस विचित्र रोगबाट अछुतो छैनन् । कतिपय अवस्थामा त ‘प्रतिष्ठित’ भनिएकै सार्वजनिक व्यक्तित्वहरू आफ्नो हैसियत बिर्सेर अर्धसत्य र सुविधाजनक असत्यलाई वैधता प्रदान गरिरहेका हुन्छन् । अज्ञानता आफैंमा विनाशकारी हुँदैन, अज्ञानताबाट सिर्जित अहंकार र त्यसले पाउने सामाजिक सम्मान भने घातक हुन्छ । असत्य सूचना र अपरिपक्व विचार उत्पादन गर्ने व्यक्तिहरूको गतिविधिले तात्कालिकताको राजनीतिलाई फैलाउँछ । आक्रोशलाई देखाएर आगजनी गरिन्छ र समर्थकहरू तमासे भएर वाहवाही गर्छन् । बिनाकुनै कानुनी प्रक्रिया पूरा गरी पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश एवं पूर्वमुख्यसचिव समातिन्छन् र जडबुद्धि जमात थपडी बजाउँछन् । जनमत बनाउने हतियार बनेको (अ)सामाजिक सञ्जालले उत्तेजना बेच्ने, सामूहिक पूर्वाग्रह भड्काउने र जटिल समस्याको भ्रामक तर सजिलो उत्तर पस्कने धन्दालाई फस्टाउने ठाउँ दिएको छ । तर्कभन्दा आक्रोश, प्रमाणभन्दा विश्वास र विवेकभन्दा भीड हाबी हुँदा सार्वजनिक बहस मात्र होइन, प्रजातान्त्रिक निर्णय प्रक्रिया नै बन्धक बन्दै गएको छ । प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न रुचाउँदैनन्, संसदीय बहसमा सहभागी हुन जाँदैनन्, विज्ञहरूसँग छलफल गर्दैनन् र भारतीय प्रधानमन्त्री मोदीजस्तै प्रेस कन्फरेन्सको सामना गर्ने आँट जुटाउन सक्दैनन् । उनलाई फेसबुकको ‘लाइक’ गने पुग्छ । राजनीतिमा अज्ञानता अब केवल कमजोरी रहेन र उत्तेजना तत्क्षण परिचालन गर्न मिल्ने संगठित पुँजी बनिसकेको छ ।

प्रजातन्त्रमा बोल्ने अधिकार सबैलाई बराबर हुनुपर्छ, तर सबै कुरा उत्तिकै तथ्यपरक, तार्किक र त्यसर्थ सत्य हुँदैनन् । मतको समान अधिकार र ज्ञानको समान प्रामाणिकता एउटै कुरा होइनन्– पहिलो प्रजातन्त्रको जग हो भने दोस्रो किसिमको समानताको जिद्दीले प्रियतावादी राजनीतिलाई बढावा दिँदै ‘ओली प्रवृत्ति’ जन्माएको र त्यसको प्रतिकारमा राज्य र समाजले ‘हरितपीत विस्फोट’ का विनाशकारी असरहरू भोग्नुपरेको कुरा सितिमिति बिर्सिन सकिने छैन । नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीले केही (अ)सामाजिक सञ्जालका मञ्चहरूमा प्रयोगकर्ताको ‘मुख थुन्ने’ प्रयास गर्दा उत्पात मच्चिएको थियो । प्रतिबन्ध समाधानबाट समस्या बन्न बेर लाग्दैन । सार्वजनिक बहसमा प्रमाण, तर्क, विशेषज्ञता र जवाफदेहिताको वजन कसरी फर्काउने भन्ने चुनौती वैश्विक भइसकेको छ । अभिव्यक्तिको प्रजातान्त्रिक र विवेकशील संवादको संस्कृति नबसे सञ्चार प्रविधिको छलाङले ज्ञानको समाज होइन, कोलाहलको भीड मात्र जन्माउनेछ भन्ने कुरा शीर्ष राजनीतिक नेतृत्वले आत्मसात् गरेर प्रत्यक्ष संवादको संस्कार बसाल्नुको साटो ती पनि कलनविधि र कलबुद्धिको लतमा रम्मिनु समसामयिक राजनीतिको यथार्थ बन्न पुगेको छ । इकोले भनेको ‘मूर्खहरूको आक्रमण’ भन्दा ठूलो खतरा सायद अर्कै छ– कपटी विज्ञता र सतही जानकारी अब समाजमा स्वीकार्य मात्र होइन, राजनीतिमा बिकाउ र सामाजिक रूपमा पुरस्कृत हुन थालेको छ ।

विधि, प्रक्रिया र तार्किकताभन्दा गाली र तालीको गणनामा आधारित राजनीतिले जन्माउने भनेको प्रियतावादी राजनीतिकर्मीको तजबिजी शासन नै हो । चिन्तन, मनन, सम्पर्क र संवादको साटो लहड र एकतर्फी प्रसार रुचाउने अधिशासकले कुन बेला र कस्तो निर्णय गर्ने हो, यसै भन्न सकिँदैन । भारतमा प्रधानमन्त्री मोदीले आर्थिक रूपमा आत्मघाती नोटबन्दी लाग गर्दा उनका समर्थकहरूले फैलाएको भाष्य थियो– ‘साहेब ने कुछ सोच के किया होगा ।’ प्रधानमन्त्री शाहले संसद्बाट ‘नेपालले पनि भारतको सीमा मिचेको हुन सक्ने’ उद्घोष गर्दा त्यसको बचाउ गर्नेहरू दीर्घकालीन राष्ट्रिय हितको कुरा उठाउने गर्थे । राज्य संस्थागत नियमको साटो अधिशासकको इच्छा, मनोदशा र तात्कालिक समीकरणमा चल्न थालेपछि नीति, कूटनीति र शासनको दिशा धरापमा परेर बहुआयामिक अनिश्चितता व्याप्त हुन्छ । संस्थागत शासनमा नेतृत्व फेरिए पनि राज्यको आधारभूत लय र विश्वसनीयता कायम रहन्छ । तजबिजी शासनमा पात्र फेरिँदा मात्र होइन, एउटै पात्रको मुड फेरिँदासमेत राज्यको प्राथमिकता उल्टिन सक्छ । परिणामस्वरूप, नागरिकदेखि अन्तर्राष्ट्रिय साझेदारसम्म कसैले पनि राज्यको भोलिको कदमको भर पर्न सक्दैनन् । त्यसपछि व्यापक अनिश्चितताले गर्दा तजबिजी शासन पुन:स्थापित भएर छद्म वा प्रत्यक्ष अधिनायकवाद अर्धनिर्मित राज्यमा नियमित आकस्मिकता बन्न पुग्छ ।

विधि, प्रक्रिया र तार्किकताभन्दा गाली र तालीको गणनामा आधारित राजनीतिले जन्माउने भनेको प्रियतावादी राजनीतिकर्मीको तजबिजी शासन नै हो । काठमाडौंको निरन्तर अस्थिर र सदैव अनिश्चित यथार्थबीच सायद नयाँदिल्लीले सिंहदरबार छिरेका नयाँ अनुहारहरूलाई पनि विस्थापित सत्तासीनहरूलाई जस्तै केही समयका लागि द्विपक्षीय सम्बन्ध सुधार्ने तिनको नियत, क्षमता र साहस परख गर्न शंकाको लाभ दिएको हो कि ? नेपालको परराष्ट्र नीतिका समस्या भने राज्य निर्माणका संरचनात्मक कमजोरीहरूसँग पनि जोडिएकाले प्रधानमन्त्री शाहसँग ‘महामेयर दृष्टिकोण’ बाट बाहिरिएर गतिशील र रचनात्मक कूटनीतिको कसीमा आफ्नो योग्यता र क्षमता सावित गर्नका लागि धेरै समय सायद छैन । अपर्याप्त सूचनामा आधारित तर गम्भीर चिन्तनबाट परिष्कृत र स्पष्ट रूपमा अभिव्यक्त तात्कालिकताबोध बदलिँदो अन्तर्राष्ट्रिय कूटनीतिको अपरिहार्य आवश्यकता बन्न पुगेकाले प्रधानमन्त्री शाहका लागि ‘सुस्तरी हतारो’ गर्नुको विकल्प छैन । त्यसका लागि उनलाई ‘ओखर, बदाम, याक चिज र अंगुर’ एकसाथ बसेर ज्युनार गर्नेजस्तो ‘नेपाल बनाउने टोली’ तथा (अ)सामाजिक सञ्जालमा जिस्किने डफ्फाबाट बाहिर निस्किनुपर्नेछ ।

राजनीतिशास्त्रको अध्ययन कुनै बेला नीति र दर्शनको क्षेत्र हुने गर्थ्यो । त्यसपछि त्यो अर्थनीति, कला र व्यावहारिकता हुँदै तुलनात्मक विवरण, विश्लेषण एवं गणितीय प्रक्षेपणमा आधारित ‘राजनीति विज्ञान’ बन्न पुगेको छ । राजनीतिलाई विज्ञानका रूपमा अध्ययन गर्नेहरूमा अमेरिकीहरू अगाडि छन् । संसारका एक दर्जनजति नामुद विश्वविद्यालयमा राजनीति विज्ञानबारे अध्ययन र अनुसन्धान गरिरहेका प्राध्यापकहरूलाई सहभागी गराएर सिकागो र स्टानफोर्डको दुईदिने विद्वत् सम्मेलन हालसालै काठमाडौंमा आयोजना गरिएको थियो । प्रस्तुतिहरूको सारतत्त्व त ‘वैज्ञानिक’ हुने नै भए, तर सम्मेलनको शीर्षक रहेको ‘संस्था र वैचारिकी’ विषयवस्तुलाई सामान्य तवरले ठम्याउन पनि कठिन छैन ।

दुनियाँका अन्य कतिपय देशहरूमा भएजस्तै अहिले नेपाल भनेर चिनिने देशको जग पनि गोरखाका टाकुरे राजा पृथ्वीनारायण शाहको सैनिक अभियानबाट सन् १७६८ तिर खनिएको थियो । उनका छोरा नायब बहादुर शाहले त्यस जगमा ढुंगा–गिट्टी हालेर सबलीकरण गरेका हुन् । मुख्तियार भीमसेन थापाले गोर्खाली लडाकाहरूलाई आधुनिक सेनामा रूपान्तरण गर्ने प्रयत्न गरे । त्यस सेनालाई व्यक्तिगत फौजसरह परिचालन गर्दै जंगबहादुर सन् १८५७ तिर इस्ट इन्डिया कम्पनीको ताबेदारी र लखनऊ लुटपछि मालामाल भए, बक्सिसमा नेपालले कम्पनीसँगको युद्धमा गुमाएको केही भूभाग पनि फिर्ता पायो । सन् १९०१ पछि गोत्र हत्यामा मुछिएका चन्द्रशमशेर प्रधानमन्त्री भए र गोर्खाली सेनालाई शासकहरूको फाइदाका लागि भाडामा लगाइने प्रचलन पहिलो विश्वयुद्धपछि अझ मजबुत भयो ।

सन् १९५१ पछि पनि नेपालको शासन व्यवस्था अधिशासकको केन्द्रीयताबाट मुक्त हुन सकेको छैन । सन् १९६० पछि राजा महेन्द्र राष्ट्रनायक कहलिए । विकासको मूल फुटाउन नसके पनि राजा वीरेन्द्र प्रजाप्रेमी ठहर्‍याइए । सिंहदरबारको कुर्सीमा जोसुकै विराजमान रहे पनि सन् २०१५ देखि सन् २०२५ मा उनलाई नेपाली सेनाले हेलिकोप्टरबाट टिपेर अज्ञात सुरक्षित स्थलसम्म नपुर्‍याउँदासम्म नेपालमा नेकपा (एमाले) नामधारी दलको नभएर नृजातीय मुख्तियार शर्मा ओलीको सत्ता थियो । संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत पाएको भए पनि त्यो अवस्था दलका नवप्रवेशी नेता वालेन्द्र शाहको निर्मित चमत्कारिकताले गर्दा मात्र सम्भव भएको थियो भन्ने कुरामा त्यस दलका अधिकांश राजनीतिकर्मी पनि सहमत छन् ।

संस्थाहरू बलियो हुँदा पात्र फेरिँदा पनि नीति, विधि र जवाफदेहिताको लय टुट्दैन । तर संस्थाहरू कमजोर पारियो भने सत्ता व्यक्तिको आत्ममुग्धताको बन्दी बन्न पुग्छ। समाज वा राज्यको चरित्र बुझ्न सबैभन्दा पहिले त्यहाँको ‘व्यक्ति’ कस्तो छ, उसले कस्तो ‘विचार’ जन्माउँछ र ती विचारहरू मिलेर कस्तो ‘वैचारिकी’ बन्छ र संस्थागत हुन्छ भनेर हेर्नुपर्ने रहेछ । आत्मचेतना, तर्कशीलता र नैतिक जवाफदेहिताले युक्त मानिस नै अर्थपूर्ण ‘व्यक्ति’ हो– जो केवल भीडको हिस्सा बन्न होइन, परिस्थितिलाई बुझ्न र सही–गलत छुट्याउन सक्षम हुन्छ । त्यस्तो सचेत व्यक्तिले परिस्थितिलाई ठम्याउन, समस्याहरू बुझ्न, समाधान खोज्न वा अघि बढ्ने बाटो तय गर्न मनमा उब्जाउने चिन्तन, योजना वा प्रस्ताव नै ‘विचार’ हो । त्यस्ता विचारहरू मूल्य, मान्यता र विश्वासको एउटा संगठित प्रणालीका रूपमा एकत्रित भएपछि वैचारिकी (आइडियोलजी) को रूप लिन्छ । राष्ट्रवाद, रूढिवाद, उदारवाद, पुँजीवाद वा समाजवादजस्ता वैचारिकीहरू पनि संसारभरि एकै किसिमका छैनन्– स्थानिक अवस्थाअनुसार केही फेरबदल जहाँ पनि देख्न सकिन्छ । वैचारिकीले राजनीतिक प्रणाली, सामाजिक आन्दोलन र सांस्कृतिक अभ्यासलाई एकसूत्रमा बाँध्ने काम गर्छ । समस्या त्यतिबेला सुरु हुन्छ, जब वैचारिकी र संस्थागत प्रणालीको ठाउँ ‘व्यक्ति’ को आकर्षण, सनक वा लोकप्रियताले लिन थाल्छ । सधैंभर संस्थाभन्दा व्यक्तिको भरमा आफूलाई अड्याउन खोज्ने राज्य ‘अर्धनिर्मित राज्य’ हो ।

स्पष्ट सिमाना, स्थायी जनसंख्या, शक्तिशाली सत्ता र अन्तर्राष्ट्रिय मान्यता पाएको भए पनि नेपाल अझै अर्धनिर्मित राज्य हुनुको मुख्य लक्षण निरन्तर संस्थाभन्दा व्यक्ति बलियो रहनुमा देखिन्छ । विचारभन्दा महत्त्वाकांक्षा र वैचारिकीभन्दा तजबिजी शासनले सत्ता सञ्चालन गर्ने भएपछि राज्य धरमर भइरहने नै भयो । संस्थाहरू बलियो हुँदा पात्र फेरिँदा पनि नीति, विधि र जवाफदेहिताको लय टुट्दैन । तर संस्थाहरू कमजोर पारियो भने सत्ता व्यक्तिको आत्ममुग्धताको बन्दी बन्न पुग्छ । शासन पद्धतिले दीर्घकालीन दिशा होइन, अधिशासकको लहड र क्षणिक आवेग पछ्याउँछ । राज्य बनिसकेको जस्तो देखिएर पनि भित्रभित्रै काँचो र अस्थिर रहिरहन्छ । नियमित निर्वाचनले मात्र तजबिजी शासनको बिगबिगीलाई रोक्न नसक्ने कुरा नेपालीहरूले ठम्याउन ढिलो गरे पनि अन्तर्राष्ट्रिय समुदायले लेखाजोखा राख्न थालेको कुरा प्रधानमन्त्री शाहको नयाँदिल्ली भ्रमणको अन्तर्निहित निष्कर्षका रूपमा बुझ्न अहिलेलाई उपयुक्त हुनेछ ।

सीके राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री  शाहको भारत भ्रमणका क्रममा :  दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र म...

#शाह #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

#शाह #भ्रमण
Compare →

Related Stories

Opinion & Editorial
Build #2625