दसौं राष्ट्रिय खेलकुदसँगै कर्णालीमा बनेका पूर्वाधारले प्रतियोगितापछि पनि नयाँ खेलाडी र खेल संस्कृतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
काठमाडौँ — कर्णालीमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आरम्भ भएको छ । महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, टेनिस, पौडीलगायत १० खेलसँगै प्रतियोगिताको आरम्भ भएको हो । २०३८ सालमा काठमाडौंमा पहिलो संस्करण आयोजना भएयता कर्णालीले यति ठूलो प्रतियोगिता सम्पन्न गर्ने अवसर पाएको थिएन । त्यसैले यस संस्करणको प्रतियोगिता कर्णालीको जिम्मेवारी र क्षमता परीक्षणसँग पनि जोडिएको छ । ‘हामीले पनि ठूलो प्रतियोगिता आयोजना गर्न सक्छौँ’ भनेर पुष्टि गर्ने अवसर सो प्रदेशलाई छ ।
कतिपय अवस्थामा यस्ता प्रतियोगिता नियमित उपक्रम बन्छन्, तर अनेकौं प्रतिकूलताले घेरिएको कर्णालीले जिम्मेवारी पाउँदा र सफलतापूर्वक आयोजना हुँदा भने समग्र कर्णालीवासीको आत्मविश्वास र गौरव उकासिने निश्चित छ । त्यसैले दसौं राष्ट्रिय खेलकुदलाई अर्को संस्करणको प्रतियोगिताका रूपमा मात्रै होइन, कर्णालीको गौरवका रूपमा पनि मूल्यांकन गरिनुपर्छ । प्रतियोगिताको सफलतासँगै प्राप्त हुने बहुआयामिक लाभले भने देशकै खेलकुद क्षेत्रलाई सकारात्मक योगदान दिनेछ ।
प्रतियोगिताका लागि बनाइएका पूर्वाधारको संरक्षण र नियमित उपयोग चुनौतीपूर्ण छ । आठौं खेलकुदका क्रममा बनेका नेपालगन्ज र दाङको बेलझुन्डी रंगशालाका एथलेटिक्स ट्र्याक मर्मतसम्भार अभावमा जीर्ण बन्दै गएका छन् । नियमित उपयोग र संरक्षण हुन नसके प्रतियोगितामा गरिएको ठूलो लगानी खेर जान सक्छ । खेल विकासका लागि आन्तरिक प्रतियोगिता तथा लिगहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । किनकि, त्यसमार्फत खेलकुदको माहोल बालबच्चासम्मै विस्तारित हुन्छ र उनीहरूलाई प्रेरित गर्छ । नयाँ प्रतिभा हुर्किने वातावरण तयार हुन्छ । स्थापित खेलाडीको प्रतिभा तिखार्न र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता दिलाउन पनि खेलकुद उत्सवहरू सहयोगी साबित हुन्छन् । जब नयाँ ठाउँमा खेल उत्सवहरू आयोजना हुन्छन्, त्यहाँ प्रशस्तै पूर्वाधार बनाइनुपर्छ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा पनि संरचना बनेका छन् । नयाँ पुस्ताले खेलप्रतिको माहोल त अनुभूत गर्छ नै, क्षमता विकासका लागि उसलाई पूर्वाधार पनि उपलब्ध हुन्छ । त्यसैले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलता केही हप्ताको जमघटमा मात्रै होइन, आगामी दिनमा नयाँ प्रतिभा उत्पादनको आधार तयार गर्नुमा पनि मापन हुनेछ । प्रतियोगितामा सहभागी भएर खेलाडी फर्किसकेपछि पनि कर्णाली र आसपासमा खेलकुदको वातावरण निरन्तर रहिरहन सक्यो भने त्यसले राष्ट्रिय खेलकुदलाई नै अतुलनीय योगदान दिएको ठहर्छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रूपमा आयोजना हुन सक्दा यसले राष्ट्रिय टोलीका निम्ति नयाँ–नयाँ प्रतिभाशाली खेलाडीको आपूर्तिलाई सहज बनाउँथ्यो । तर अनौठो स्थिति छ– २०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौं संस्करण २०८३ मा आयोजना भइरहेको छ । कतिपय पटक १३ वर्ष र १० वर्षको अन्तरालमा मात्रै प्रतियोगिता सम्पन्न हुन सकेको छ ।
पछिल्लो पटक २०७९ मा पोखरामा नवौं प्रतियोगिता आयोजना भएपछि २०८१ मा कर्णालीमा आयोजना हुनुपर्ने थियो । तर, तोकिएको समयभन्दा दुई वर्ष ढिला र पाँचौं पटक तोकिएको समयमा यो प्रतियोगिता सुरु भएको हो । यसले राष्ट्रिय खेलकुद प्रतियोगिताको अनियमितता र समय सरिरहने स्थितिलाई प्रस्ट्याउँछ । साथै, नयाँ प्रतिभाको पहिचानमा समेत कठिनाइ भइरहेको बुझिन्छ । त्यसैले आगामी दिनमा यसको नियमित आयोजना सुनिश्चित गरिनुपर्छ । तीनै तहका सरकार तथा खेलकुदसँग सम्बन्धित सबै संस्थाहरूले जिम्मेवारी र अपनत्व लिन सक्दा नियमित आयोजना हुन सक्छ ।
प्रतियोगिताका लागि बनाइएका पूर्वाधारको संरक्षण र नियमित उपयोग पनि संवेदनशील विषय हो । आठौं खेलकुद प्रतियोगताका क्रममा तयार गरिएका नेपालगन्जको रंगशाला तथा दाङको बेलझुन्डी रंगशालाको एथलेटिक्स ट्र्याक मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् । प्रतियोगिताका बेलामा ठूलो धनराशि खर्चिए पनि नियमित उपयोग हुन सकेन र मर्मतसम्भार पनि हुन सकेन भने बेकार साबित हुन सक्छ । यसै पृष्ठभूमिमा दसौं प्रतियोगिताका लागि कर्णालीमा बनाइएको संरचनाको आगामी उपयोग सुनिश्चित गरिनुपर्छ ।
मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशालाका लागि १ अर्ब ५९ करोड ४७ लाख खर्च भएको छ । ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, आठ लेनको सिन्थेटिक एथलेटिक्स ट्र्याक, पौडीपोखरी र बहुउद्देश्यीय कभर्डहल छन् । यो सम्पत्तिलाई निरन्तर मर्मतसम्भार र खेल विकासका लागि उपयोग गरिनुपर्छ । केही वर्षमै यो खेल संरचना जीर्ण भएको खबर आउन थाले भने कर्णालीकै निम्ति दुर्भाग्य हुनेछ ।
जारी प्रतियोगिताको सफल आयोजना र सुखद समापनका निम्ति कर्णाली प्रदेश सक्षम हुने विश्वास गर्न सकिन्छ । यसमार्फत राजनीतिक र सामाजिक रूपमा पछि परेको प्रदेशको छविलाई नयाँ ढंगले परिचित गराउने स्थिति बन्न सक्छ । प्रदेश सरकारको कार्यभार यो प्रतियोगिताको सफल आयोजना गर्नुमै सीमित हुनुहुँदैन । आफ्ना नीति तथा कार्यक्रम, बजेट विनियोजन र योजना निर्धारणमा खेलकुदलाई प्राथमिकता दिँदा प्रदेशको खेलकुद विकासमा योगदान पुग्छ ।
त्यस्तै अहिले तयार खेलकुद पूर्वाधारको संरक्षण र रचनात्मक उपयोगको रणनीति पनि प्रदेशले बनाउनुपर्छ । त्यसका निम्ति प्रस्ट मार्गचित्र तयार गर्न सक्नुपर्छ । आगामी दिनमा पनि प्रदेशले विभिन्न खेल प्रतियोगिता आयोजना गर्न सक्छ । मर्मतसम्भारका लागि बजेट विनियोजन र जनशक्ति व्यवस्थापन गर्न सक्छ । खेलकुद प्रतियोगिता आयोजनाका लागि अन्य पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ । समग्रमा भने, राष्ट्रिय खेलकुदलाई नियमित गर्ने विषयलाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनुपर्छ र आगामी दिनमा परिणाम देखिनुपर्छ ।
सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय