कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू पाँचपटक प्रधानमन्त्री भइसकें र अब पाउनु केही नभएको बताएका हुन्छै । उनले अब बाँचुञ्जेल देशको सेवा गर्ने पनि बताए ।
कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफूले पाउनुपर्ने अवसर सबै पाइसकेको र अब पाउन केही बाँकी नरहेको बताए । कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशन सोमबार भालुबाङमा सम्पन्न भएको छ । कार्यक्रममा उनले भने, ‘म पाँचपटक प्रधानमन्त्री भइसकें । अब पाउनु केही छैन,’ उनले भने, ‘अब मैले दिने मात्रै हो । म बाँचुञ्जेल देशको सेवा गर्छु ।’
राजनीतिक जीवनमा प्राप्त उपलब्धिका आधारमा अब लोकतन्त्रको संरक्षणका लागि लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे । लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य–मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने देउवाले दाबी गरे । ‘ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्र कसैले कमजोर बनाउन सक्दैन,’ उनले भने, ‘लोकतन्त्रमाथि कसैले धावा नबोल्ने वातावरण बनाउनुपर्छ । लोकतन्त्र अझ सुदृढ बनाउनुपर्छ ।’
उक्त अवसरमा जेन-जी आन्दोलनका क्रममा भाग्यले ज्यान बचेको स्मरण उनले गरे । सुरक्षा निकाय नभएको भए आफ्नो ज्यान जोखिममा परेको उनले बताए । ‘मलाई झन्डै मारिसकेका थिए, सुरक्षा निकायले बचाएको हो,’ उनले भने, ‘भाग्यले ज्यान बच्यो ।’
अधिवेशनलाई कांग्रेस नेता प्रकाशमान सिंह, शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत, मोहन बस्नेतलगायत नेताहरूले सम्बोधन गरेका थिए ।अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाका नेताहरूले आ–आफ्नो जिल्लाको राजनीतिक अवस्था र आगामी रणनीतिबारे प्रतिवेदन पेस गरेको प्रदेश अधिवेशन आयोजक समिति संयोजक गेहेन्द्र गिरीले बताए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।