फिल्ममा महेशसँगै अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र अन्य कलाकारको अभिनय रहेको छ ।
काठमाडौँ — अभिनेता महेश त्रिपाठीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’ आगामी फागुन १४ गते प्रदर्शनमा आउने भएको छ । फिल्मकी निर्माता शर्मिला थापाका अनुसार वितरक तथा प्रदर्शकको छलफलपश्चात उक्त मितिमा फिल्म प्रदर्शन गर्न लागिएको हो ।
उडान स्टुडियोको प्रस्तुति रहेको फिल्मको आज फर्स्टलुक सार्वजनिक गरिएको हो । फिल्ममा महेश सेतो कपडामा छन् । पोस्टरमा उनीसहित अभिनेत्री अञ्जना बराइली र आशान्त शर्मा पनि देखिएका छन् ।
पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । फिल्मको पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् ।
फिल्मकी निर्मात्री थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन् ।
निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा महेश, अन्जनासँगै सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय छ ।
फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।