बालविवाह अन्त्य हुनु भनेको विवाहको उमेर कानुनमा तोक्नु मात्र होइन, कुनै पनि बालिकाले आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकारबाट वञ्चित हुनु नपर्ने समाज निर्माण गर्नु हो ।
नेपालमा बालविवाह दर घट्दै गए पनि यसले समस्या समाधान भएको संकेत गर्दैन । बालविवाह अझै पनि हजारौं बालिका तथा किशोरीको शिक्षा, स्वास्थ्य, सुरक्षा, आत्मनिर्णय र भविष्यसँग जोडिएको गम्भीर सामाजिक चुनौती हो । बाल्यकालमै विवाहको जिम्मेवारी थोपर्नु उनीहरूको व्यक्तिगत स्वतन्त्रताको हनन मात्र होइन, समानता, सामाजिक न्याय र मानव विकासमाथिको अवरोध पनि हो ।
राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०२४–२५) अनुसार २० देखि २४ वर्ष उमेरसमूहका २८ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको छ । पुरुषमा यो अनुपात ७.७ प्रतिशत छ । पाँच प्रतिशत महिलाको विवाह १५ वर्ष नपुग्दै भएको तथ्यांकले देखाउँछ ।
प्रदेशगत रूपमा मधेशमा बालविवाहको दर सबैभन्दा उच्च छ । शिक्षाको अवसर र आर्थिक अवस्थासँग पनि यसको गहिरो सम्बन्ध देखिन्छ । उच्च शिक्षा हासिल गरेका महिलामा बालविवाहको अनुपात करिब ६ प्रतिशत हुँदा आधारभूत शिक्षा हासिल गरेका महिलामा ४७ प्रतिशत र औपचारिक शिक्षा नलिएका महिलामा ५२ प्रतिशत छ । सबैभन्दा धनी परिवारमा यो अनुपात २१ प्रतिशत हुँदा सबैभन्दा गरिब परिवारमा ४२ प्रतिशत छ । यसले बालविवाह परम्पराको विषय मात्र नभई शिक्षा, अवसर, आर्थिक असमानता र लैंगिक विभेदसँग जोडिएको संरचनागत समस्या भएको देखाउँछ ।
बालविवाह रोकथामका लागि नेपालको संवैधानिक, कानुनी तथा नीतिगत आधार स्पष्ट छ । संविधानले बालबालिकाको हक, समानता, शिक्षा, संरक्षण र सर्वोत्तम हितलाई सुनिश्चित गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष उमेर पूरा नगरी विवाह गर्न वा गराउन निषेध गरेको छ । यसविपरीत भएको विवाह स्वत: बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन, २०७५ र बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति, २०७२ ले पनि बाल अधिकार संरक्षण, किशोरी सशक्तीकरण, गुणस्तरीय शिक्षा र कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएका छन् । नेपालले दिगो विकास लक्ष्य ५.३ अन्तर्गत सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यसर्थ, नेपालको समस्या बालविवाह रोकथामको कानुन नहुनु होइन, भएको कानुनलाई प्रभावकारी ढंगले कार्यान्वयन नगर्नु हो । विवाहको तयारी भइरहेका परिवार पहिचान गर्ने, विद्यालय छोडेका किशोरीको जोखिम मूल्यांकन गर्ने, उमेरसम्बन्धी कागजातको विश्वसनीयता सुनिश्चित गर्ने र बालविवाहको सूचना प्राप्त भएपछि तत्काल हस्तक्षेप गर्ने स्थानीय संयन्त्र सबै ठाउँमा प्रभावकारी छैनन् । अझ विवाह रोकिएपछि प्रभावित बालिकाको शिक्षा निरन्तरता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र कानुनी सहायता सुनिश्चित नहुनु अर्को कमजोरी हो । विवाह रोक्नु मात्र पर्याप्त हुँदैन, बालबालिकालाई सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो ।
बालविवाह अन्त्यका लागि स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, न्यायिक समिति, महिला तथा बालबालिका शाखा र बाल संरक्षण संयन्त्रबीच स्पष्ट जिम्मेवारीसहितको समन्वय आवश्यक छ । बालविवाह रोकथामलाई परियोजनाको अस्थायी गतिविधि नभई स्थानीय सरकारको नियमित योजना, बजेट र कार्यसम्पादनको अभिन्न हिस्सा बनाउनुपर्छ ।
बालविवाहको जरा सामाजिक मान्यता, लैंगिक विभेद र असमान शक्ति सम्बन्धमा छ । कतिपय अभिभावक छोरीको सुरक्षा विवाहबाट सुनिश्चित हुन्छ भन्ने ठान्छन् । कतिपय परिवारमा दाइजो, आर्थिक बोझ र सामाजिक प्रतिष्ठासँग छोरीको विवाह जोडिएको हुन्छ । महिनावारी सुरु भएपछि छोरी विवाहयोग्य हुन्छे भन्ने गलत सोच पनि कायम छ । छोरीको भविष्यभन्दा विवाहलाई प्राथमिकता दिने यस्तो मानसिकता परिवर्तन नगरी कानुनी प्रावधानले मात्र अपेक्षित परिणाम दिन सक्दैन ।
परिवार, धार्मिक तथा सामुदायिक अगुवा, शिक्षक, किशोरकिशोरी र स्थानीय नेतृत्वलाई सामाजिक रूपान्तरणका सक्रिय साझेदार बनाउनुपर्छ । छोरीको सुरक्षा विवाहमा होइन, शिक्षा, आत्मविश्वास, सीप र समान अवसरमा खोज्ने सोच स्थापित गर्न आवश्यक छ । बालक तथा पुरुषलाई पनि लैंगिक समानता र सम्मानजनक सम्बन्धका पक्षमा सक्रिय बनाउनु उत्तिकै महत्त्वपूर्ण छ ।
शिक्षामा भर्ना मात्र पर्याप्त हुँदैन, किशोरीले माध्यमिक तहसम्म शिक्षा पूरा गर्न सक्ने वातावरण चाहिन्छ । सुरक्षित विद्यालय, छात्रवृत्ति, महिनावारी व्यवस्थापन, यातायात र गुणस्तरीय शिक्षणको व्यवस्था हुनुपर्छ । विद्यालय छोडेका किशोरीका लागि पुन: भर्ना तथा वैकल्पिक सिकाइका अवसर विस्तार गर्नुपर्छ ।
बाल विवाहको स्वरूप बदलिँदै गएको छ । किशोरकिशोरी बीचको सम्बन्ध, भागी विवाह र सामाजिक सञ्जालमार्फत विकसित सम्बन्धका कारण कम उमेरमा विवाह वा सहजीवनका घटना देखिन सक्छन् । उमेर, सहमति, दबाब, शोषण र सुरक्षाको अवस्था बुझेर बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्छ । उमेरअनुकूल यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, डिजिटल सुरक्षा र गोप्य रूपमा सहयोग माग्न सकिने संयन्त्र विस्तार गर्न आवश्यक छ ।
सन् २०३० को लक्ष्य : जवाफदेहीको परीक्षा
बालविवाह अन्त्यको सफलता पक्राउ, जरिवाना वा एकदिने अभियानले मापन गर्न सकिँदैन । कति किशोरीले माध्यमिक शिक्षा पूरा गरे, कति जोखिमयुक्त विवाह समयमै रोकिए, प्रभावित बालबालिकाले संरक्षण र न्याय पाए कि पाएनन्, परिवारको सोचमा कति परिवर्तन आयो र स्थानीय सरकारले आफ्नै स्रोतबाट कति लगानी गर्यो भन्ने आधारमा वास्तविक प्रगति मापन हुनुपर्छ ।
यसका लागि किशोरकिशोरीको आवाजलाई केन्द्रमा राख्नुपर्छ । उनीहरूलाई सचेतना कार्यक्रममा सहभागी गराइने लक्षित समूहका रूपमा मात्र होइन, समस्या पहिचान र समाधान निर्माणका साझेदारका रूपमा स्वीकार गर्नुपर्छ । उनीहरूका आकांक्षा, अनुभव र आवश्यकतालाई सुन्ने सुरक्षित वातावरण परिवार, विद्यालय र स्थानीय संस्थाले निर्माण गर्नुपर्छ ।
नेपालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यबमोजिम सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता र राष्ट्रिय रणनीति अघि सारेको छ । सन् २०३० अब टाढा छैन । नेपालसँग संविधान, कानुन, राष्ट्रिय रणनीति र काम गरेको अनुभव छ । ती सबैलाई एउटै जवाफदेही प्रणालीमा जोड्नु अबको आवश्यकता हो ।
बालविवाह अन्त्य हुनु भनेको विवाहको उमेर कानुनमा तोक्नु मात्र होइन, कुनै पनि बालिकाले आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकारबाट वञ्चित हुनु नपर्ने समाज निर्माण गर्नु हो । बालविवाह निषेध गरिएको कानुनको कार्यान्वयन राज्यले सुनिश्चित गर्नुपर्छ र समाजले त्यस्तो अभ्यासलाई अस्वीकार गर्नुपर्छ । छोरीको जीवनको बाटो विवाहले होइन, उसले पाउने शिक्षा, अवसर, आत्मनिर्णय र स्वतन्त्रताले निर्धारण गर्ने अवस्था निर्माण गर्न सकेमा मात्र सन् २०३० को लक्ष्य सामाजिक रूपान्तरणमा परिणत हुनेछ ।
उमेशकुमार गुप्ता काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा एमफिल गर्दै छन् ।