Trending
Prev Story
Next Story

भारतसँग ६ परियोजनामा सहकार्य : दुईको उद्घाटन, एउटाको हस्तान्तरण र तीनको शिलान्यास

Ekantipur •
November 23, 2026 • 12:03 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ऊर्जा, पेट्रोलियम, रेल तथा सीमा पूर्वाधारका ६ परियोजनाको उद्घाटन, हस्तान्तरण र शिलान्यास भए भने ६६९ मेगावाटको तल्लो अरुणदेखि अयोध्या–जनकपुर रेल सेवासम्मका आयोजना अघि बढेको छ ।

भारतसँग ६ परियोजनामा सहकार्य : दुईको उद्घाटन, एउटाको हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ऊर्जा, पेट्रोलियम, रेल तथा सीमा पूर्वाधारका ६ परियोजनाको उद्घाटन, हस्तान्तरण र शिलान्यास भए भने ६६९ मेगावाटको तल्लो अरुणदेखि अयोध्या–जनकपुर रेल सेवासम्मका आयोजना अघि बढेको छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार दुई परियोजनाको संयुक्त उद्घाटन, एउटा परियोजना हस्तान्तरण र तीनवटा परियोजनाको शिलान्यास गरेका छन् । उद्घाटन गरिएका परियोजनामा अयोध्या–जनकपुर रेल सेवा र दार्चुला–धार्चुला सीमापार मोटरेबल पुल छन् भने तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र बनबासास्थित एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण भने नेपाललाई हस्तान्तरण गरिएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीद्वयले नेपाल भारत जोड्ने मोटरेबल पुल र अयोध्या-जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए । त्यसपछि उत्तर प्रदेशस्थित अयोध्याको क्यान्ट स्टेसनबाट जनकपुरका लागि सरयू–कमला रेल एक्सप्रेस गुडेको छ । १७ डिब्बामा करिब १ हजार यात्रु बोकेको उक्त भारतीय रेल्वे मंगलबार बिहान नेपालस्थित जनकपुर स्टेसनमा आइपुग्ने छ ।

कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई जनकपुरसम्म ल्याएर परीक्षण गरिएको थियो । जनकपुरदेखि अयोध्यासम्मको ६ सय ४ किलोमिटर रेलमार्गको दूरी तय गर्न रेल भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । उक्त रेल जनकपुरबाट प्रत्येक शनिबार र अयोध्याबाट प्रत्येक सोमबार छुट्नेछ । यो दूरी तय गर्न रेललाई करिब १९ घण्टा लाग्नेछ ।

त्यस्तै प्रधानमन्त्रीद्वयले दार्चुला (नेपाल)-धार्चुला (भारत) बीच नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरेका छन् । उक्त पुलले नेपालतर्फ महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्नेछ । एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुल भारतले निर्माण गरेको हो । उक्त पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । उक्त मोटरबेल पुल निर्माण गर्न  १८ माघ २०७८ मा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । यसको लागत ४० करोड रुपैयाँ रहने अनुमान गरिएको थियो ।

भारतले मोतिहारी-अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै औपचारिक रुपमा उक्त परियोजना हस्तान्तरण गरेको छ । उक्त पाइपलाइनको दोस्रो खण्ड एक वर्षअघि निर्माण सम्पन्न भई  डिजेल, पेट्रोल र मट्टितेल आयात भइरहेको नेपाल आयल निगमले जनाएको छ । पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगन्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको  थियो । सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्षसमेत निर्माण गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा २०८० जेठ १८ मा पाइपलाइन र भण्डाणस्थल परियोजनाका सम्बन्धमा समझदारी भएको थियो । निगमले कुल १४ अर्ब ९ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र पेट्रोलियम भण्डारस्थल बनाउन लागेको हो । पाइपलाइनमा निर्माणमा ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ र भण्डारगृहको लागत ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रधानमन्त्रीद्वयले तीन वटा परियोजनाको शिलान्यास गरेका छन् ।  प्रधानमन्त्रीद्वयले स‌ंयुक्त रुपमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेसँगै निर्माणका लागि अघि बढेको छ । लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ‌) याङकी उक्याबले शिलान्यास गरेसँगै  निर्माणको चरणमा अघि बढेको बताइन् । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । तल्लो अरुणबाट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । विद्युत् उत्पादन सुरु भएको १५ वर्षसम्म क्यापासिटी रोयल्टी प्रतिकिलोवाट ४ सय रुपैयाँ र इनर्जी रोयल्टी ७.५ प्रतिशत तथा १५ वर्षपछि प्रतिकिलोवाट क्यापासिटी रोयल्टी १८ सय रुपैयाँ र इनर्जी रोयल्टी १२ प्रतिशत सरकारलाई दिनुपर्नेछ । भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)को सहायक कम्पनी  एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले  आयोजना प्रवर्द्धन गरिरहेको छ ।

यस्तै सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहने नेपाल आयल निगमले जनाएको छ ।  निर्माणस्थलमा कुल १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित प्रणालीमा आधारित पेट्रोलियम भण्डारणगृह बनाइनेछ । उक्त परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ रहेको छ । जसमा पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रीनफिल्ड टर्मिनलतर्फ करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

सोमबार प्रधानमन्त्रीद्वयले बनबासामा  एकीकृत जाँच चौकीको शिलान्यास गरेका छन् । आईसीडीमा भन्सार जाँचपास, अध्यागमन, क्वारेन्टाइन, बैंक, कार्गोका लागि गोदाम, पार्किङ यार्ड, कार्यालय भवन, आवासगृहलगायत हुनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#उद्घाटन #रेल #भारत
Compare →
Bizshala
4h ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#परियोजना #उद्घाटन #शिलान्यास
Compare →
Arthasansar
4h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#रेल #भारत #उद्घाटन
Compare →
Hamro Patro News
6h ago
नेपाल-भारत सम्बन्ध क्रेता–विक्रेताको होइन, अब लगानीकर्ता र उद्यमीको साझेदारी बनाऔं

नेपाल-भारत सम्बन्ध क्रेता–विक्रेताको होइन, अब लगानीकर्ता र उद्यमीको साझेदारी बनाऔं

आज नेपाल र भारतका दुई माननीय मन्त्रीज्यूहरूलाई हामीमाझ पाउनु गौरवको विषय हो । भारत र नेपालका निजी क्षेत्रका मित्रहरूले उठाउनुभएका चासो, सुझाव र अवसरहरूलाई सुनिदिनुहुन र आ–आफ्ना सरकारहरूमार्फत यी मह...

#भारत
Compare →

Related Stories

World News
Build #2612