अहिले साना बालबालिकालाई डाइपरको प्रयोग अनिवार्य जस्तै बनेको छ । कसैले नियमित यसको प्रयोग गर्ने गर्छन् भने कसैले राति सुत्ने बेला वा बच्चालाई टाढाको यात्रामा गराउने बेलामा मात्रै डाइपर लगाइदिने गर्छन् ।
यसले शिशुको हेरचाहमा निकै सहजता ल्याइदिएको छ । बच्चालाई लामो समयसम्म सुख्खा र आरामदायी राख्न मद्दत गर्छ । यद्यपि, यसको गलत प्रयोगले शिशुको कोमल छालामा समस्या निम्त्याउन सक्छ ।
स-साना गल्तीहरूले पनि छाला रातो हुने, चिलाउने र संक्रमण हुने जस्ता जोखिम बढाउन सक्छन् । यस्तो समस्यालाई ‘डाइपर र्यास’ भनिन्छ । त्यसैले, आफ्नो शिशुका लागि डाइपर प्रयोग गर्दा केही कुराहरूमा विशेष ध्यान दिनु आवश्यक छ ।
बालबालिकालाई हामीले डाइपर लगाइदिँदा यी ५ गल्ती गर्नबाट बच्नुपर्छ ।
किन्दा खेरी सही साइजको डाइपर छान्नुको महत्त्वपूर्ण हुन्छ । धेरै कसिलो डाइपरले छालामा घर्षण पैदा गर्न सक्छ, जसले गर्दा छाला रातो हुने र पोल्ने वा चिलाउने समस्या हुन सक्छ । अर्कोतर्फ, धेरै खुकुलो डाइपर लगाउँदा दिसा-पिसाब चुहिन सक्छ । त्यसैले, सधैं आफ्नो शिशुको उमेर र तौल अनुसार राम्रोसँग फिट हुने डाइपर छान्नुहोस् ।
२. लामो समयसम्म एउटै डाइपर लगाइदिने
लामो समयसम्म एउटै डाइपर लगाइराख्नु ‘डाइपर र्यास’ हुनुको मुख्य कारण हो । लामो समयसम्म पिसाब वा दिसाको सम्पर्कमा रहँदा छाला ओसिलो भइरहन्छ, जसले गर्दा छालामा जलन हुने र संक्रमण हुने जोखिम बढ्छ । आफ्नो शिशुको डाइपर नियमित रूपमा फेर्नुहोस् र बच्चाले दिसा गरेपछि त्यसलाई खोलेर राम्रोसँग सफा गरी अर्को डाइपर लगाइदिनुहोस् ।
३. डाइपर लगाउने ठाउँ राम्ररी सफा नगर्ने
बालरोग विशेषज्ञका अनुसार, हरेक पटक डाइपर फेर्दा शिशुको छाला राम्ररी सफा गर्नु अत्यन्त आवश्यक छ । उक्त भाग सफा गर्न मनतातो पानी वा ‘बेबी वाइप्स’ को प्रयोग गर्नुहोस् । नयाँ डाइपर लगाउनुअघि छाला पूर्ण रूपमा सुख्खा भएको सुनिश्चित गर्नुहोस् । यदि ओसिलो छालामा डाइपर लगाइयो भने, त्यहाँ ‘डाइपर र्यास’ हुने सम्भावना धेरै रहन्छ ।
४. एकैछिन पनि बच्चालाई डायपरबिना नराख्ने
बच्चालाई दिनमा २४ सै घण्टा डाइपर मात्रै लगाएर राख्ने गल्ती पनि गर्नु हुँदैन । बच्चाको छालाले पनि समय–समयमा खुला हावा पाउनु आवश्यक हुन्छ । त्यसैले केही समय बच्चालाई डायपर नलगाई राख्नुपर्छ । यसो गर्दा छालाले सीधै हावाको सम्पर्क पाउँछ र छालामा रहेको ओसिलोपन कम हुन्छ ।
५. डाइपर लगाउने देखिने सुरुवाती लक्षणलाई बेवास्ता गर्ने
बच्चाको छालामा रातो दाग देखिने, लगातार र्यास आउने, पोल्ने वा छाला उप्किने जस्ता लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । समयमै उचित हेरचाह नगरेमा समस्या झन् गम्भीर हुन सक्छ र संक्रमणसमेत हुन सक्छ । त्यसैले यस्ता लक्षण देखिएमा समयमै ध्यान दिनुका साथै आवश्यक परे चिकित्सकसँग परामर्श लिनुपर्छ।