सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन ।
कल्पना गर्नुहोस्, तपाईं पहाडी सडक हुँदै घर फर्किरहनुभएको छ । परिचित घुम्तीमा चालकले मोडको सही अनुमान गर्न सकेन, केही क्षणका लागि गाडीको नियन्त्रण गुमायो वा सडकको बिग्रिएको भाग समयमै देख्न सकेन । गल्ती केही सेकेन्डको मात्र हुन सक्छ । तर सडकमा सुरक्षा बार छैन, चेतावनी दिने संकेत छैन र गाडीलाई नियन्त्रणमा ल्याउन सुरक्षित खाली ठाउँ पनि छैन भने त्यही केही सेकेन्डले एउटा परिवारको जीवन सधैंका लागि बदल्न सक्छ ।
सडक प्रयोग गर्दा चालकले जिम्मेवार व्यवहार गर्नुपर्छ । तर हरेक क्षण हरेक चालकले सही निर्णय गरेमा मात्र उसको ज्यान जोगिने व्यवस्था उचित हो ? सुरक्षित सडक प्रणालीले एउटा सामान्य वास्तविकता स्वीकार गर्नुपर्छ– मानिसबाट गल्ती हुन्छ । सडकको डिजाइन नै यस्तो हुनुपर्छ कि सामान्य मानवीय गल्तीले मृत्यु वा गम्भीर चोटपटक निम्त्याउन नपरोस् ।
सडक सुरक्षा चालकको व्यवहारमा मात्र सीमित छैन
नेपालमा सडक सुरक्षासम्बन्धी बहस मुख्यत: तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने व्यवहार र ट्राफिक नियम उल्लंघनमा केन्द्रित छ । यी निश्चय नै गम्भीर समस्या हुन् । तर सडकको अवस्था, निर्माणको गुणस्तर, सुरक्षा पूर्वाधारको अभाव र सडकको मर्मतसम्भार गर्ने निकायको जिम्मेवारीबारे चर्चा नगरेसम्म यो बहस अधुरै रहन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ मा नेपालमा सडक दुर्घटनाका कारण करिब आठ हजार ४७९ जनाको मृत्यु भएको अनुमान गरेको थियो । सोही वर्ष आधिकारिक रूपमा अभिलेख गरिएका मृत्युको संख्या भने २ हजार ८८३ थियो । डब्लूएचओको संख्या प्रहरीमा दर्ता भएको प्रत्यक्ष गणना नभई सांख्यिकीय अनुमान हो । त्यसैले यी दुई तथ्यांक फरक विधिमा आधारित छन् । तथापि, ठूलो अन्तरले नेपालको सडक दुर्घटनासम्बन्धी तथ्यांक कति पूर्ण र विश्वसनीय छ भन्ने प्रश्न उठ्छ ।
नेपाल मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित र नेपाल प्रहरीको तथ्यांकमा आधारित एक अध्ययनअनुसार आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका सडक दुर्घटना २० हजार ६४० थिए । आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६९२ पुगेको थियो । अध्ययनले पछिल्लो आर्थिक वर्षमा सवारीसाधनबीच भएका ठक्करमध्ये आधाभन्दा बढी घटनामा मोटरसाइकल संलग्न रहेको पनि देखाएको छ । यी तथ्यांकले प्रत्येक दुर्घटना किन भयो भन्ने जवाफ दिँदैनन् । तर समस्यालाई समग्र र व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकता भने स्पष्ट गर्छन् ।
नेपालको सडक अवस्थाबारे प्राय: भूगोललाई कारण देखाइन्छ । ठाडा पहाड, कमजोर भिरालो जमिन, साँघुरा सडक र प्रतिकूल मौसमले सडक निर्माण कठिन बनाउँछन् भन्नेमा कुनै शंका छैन । तर भूगोललाई रोक्न सकिने मृत्युको बहाना होइन, इन्जिनियरिङ चुनौतीका रूपमा लिनुपर्छ । सवारीसाधनको मापदण्ड, नियम कार्यान्वयन, आकस्मिक उपचारलगायतका अन्य पक्षले पनि देशको सडक मृत्युदरमा प्रभाव पार्छन् ।
यस सन्दर्भमा स्विडेनको ‘भिजन जिरो’ अवधारणा उपयोगी उदाहरण हो । यसको मूल मान्यता मानिसबाट गल्ती हुन सक्छ भन्ने हो । त्यसैले यातायात प्रणाली नै यस्तो बनाउनुपर्छ, जसले मानवीय गल्तीका कारण मृत्यु वा गम्भीर चोटपटक हुन नदेओस् । यसले सडक सुरक्षाको जिम्मेवारी चालकमा मात्र सीमित नराखी सडकको योजना बनाउने, निर्माण गर्ने, नियमन गर्ने र मर्मतसम्भार गर्ने व्यक्ति तथा संस्थासम्म विस्तार गर्छ ।
स्विडेनले केही सडकमा ‘२+१’ डिजाइन लागू गरेको छ । यसमा ओभरटेक गर्न मिल्ने लेन पालैपालो उपलब्ध गराइन्छ र विपरीत दिशाबाट आउने सवारीसाधनबीच ठक्कर हुन नदिन बीचमा सुरक्षात्मक अवरोध राखिन्छ । यसले सडकको डिजाइन परिवर्तन गर्दा मानवीय गल्तीका परिणाम कम गर्न सकिन्छ भन्ने देखाउँछ । नेपालले स्विडेनको पूर्वाधार जस्ताको तस्तै नक्कल गर्नुपर्दैन । आफ्नै भूगोल र सडकको अवस्थाअनुसारको उपाय लागू गर्नुपर्छ ।
नेपालले पनि लक्षित सुरक्षा सुधार प्रभावकारी हुन सक्छन् भन्ने प्रमाण दिइसकेको छ । विश्व बैंकको सहयोगमा सञ्चालित सडक सुरक्षा कार्यक्रममा सन् २०१५ देखि २०१७ बीच पहाडी क्षेत्रका छानिएका सडकमा करिब ७३ किलोमिटर सुरक्षात्मक बार जडान गरिएको थियो । त्यसपछिको मूल्यांकनले ती बारका कारण करिब २७० जनाको मृत्यु वा गम्भीर चोटपटक हुनबाट जोगिएको अनुमान गरेको थियो ।
नेपालसँग नीतिगत प्रतिबद्धता नभएको होइन । सडक सुरक्षा कार्ययोजना २०२१–२०३० ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक ५० प्रतिशतले घटाउने तथा सन् २०५० सम्म ‘भिजन जिरो’ हासिल गर्ने लक्ष्य राखेको छ । यसले सुरक्षित सडक डिजाइन, विद्यमान सडकको सुधार, दुर्घटनासम्बन्धी तथ्यांकको गुणस्तर र कानुनी संरचना सुदृढ गर्नुपर्ने विषय समेटेको छ । तर संयुक्त राष्ट्रसंघीय सडक सुरक्षा कोषले राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रभावकारी नेतृत्वदायी निकायका रूपमा काम गर्न नसक्ने संस्थागत क्षमतालाई कार्यान्वयनको प्रमुख अवरोधका रूपमा औंल्याएको छ ।
कानुनी क्षेत्रमा केही प्रक्रिया अघि बढेको देखिन्छ । संघीय संसद्को वेबसाइटमा राष्ट्रिय सडक सुरक्षा विधेयक, २०८३ दर्ता भई सदस्यहरूलाई वितरण गरिएको उल्लेख छ । तर संसदीय अभिलेखमा त्यसपछिका चरण पूरा भएको देखिँदैन । अर्कोतर्फ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ लाई अझै मस्यौदाका रूपमा राखेको छ । यी विषय महत्त्वपूर्ण छन्, किनकि सडक सुरक्षाका लागि नीतिगत घोषणामात्र पर्याप्त हुँदैन । स्पष्ट कानुनी संरचना, संस्थागत जिम्मेवारीको बाँडफाँट र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ ।
सरकार अब सामान्य प्रतिबद्धताबाट मापन गर्न सकिने कामतर्फ अघि बढ्नुपर्छ । पहिलो, उच्च जोखिम भएका सडक खण्डको अद्यावधिक सूची सार्वजनिक गर्नुपर्छ र कुन स्थानमा सुरक्षा सुधार गरिएको छ भन्ने विवरण पनि खुलाउनुपर्छ । दोस्रो, विशेषगरी पहाडी राजमार्गमा वास्तविक जोखिमका आधारमा सुरक्षा बार, चेतावनी संकेत, सडक चिह्न, पानी निकास र भीर संरक्षणलाई प्राथमिकता दिनुपर्छ । तेस्रो, निर्माणअघि नै सडक सुरक्षा परीक्षणलाई डिजाइन प्रक्रियाको अनिवार्य हिस्सा बनाउनुपर्छ । चौथो, प्रहरी, अस्पताल र सम्बन्धित निकायका दुर्घटना अभिलेखलाई एकीकृत तथा समन्वित गर्नुपर्छ, ताकि नीति विश्वसनीय तथ्यांकमा आधारित होस् । अन्त्यमा, राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कार्यान्वयन समन्वय गर्न र वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्न आवश्यक अधिकार, स्रोत र संस्थागत क्षमता दिनुपर्छ ।
यी उपायले चालकको जिम्मेवारी हटाउँदैनन् । गति सीमाको पालना हुनुपर्छ, सवारीसाधन सडकमा चलाउनयोग्य अवस्थामा हुनुपर्छ, जोखिमपूर्ण ओभरटेकिङ निरुत्साहित गरिनुपर्छ र ट्राफिक नियम निरन्तर तथा समान रूपमा लागू हुनुपर्छ । तर सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन ।
निशा जैसवाल भारतको पुणेस्थित सिम्बायोसिस ल स्कूलमा बीए एलएलबी अध्ययनरत छिन्।