Trending
Prev Story
Next Story

विचार | मानसिक स्वास्थ्यको बहसमा छुटेका हेरचाहकर्ता र बालबालिका

Ekantipur •
November 23, 2026 • 02:02 AM
2
2 reads 0 reactions

मानसिक स्वास्थ्यसम्बन्धी विमर्शलाई आत्महत्याको रोकथाम र कलंक हटाउने विषयमा सीमित गर्नु भनेको राज्यले असुरक्षित हेरचाहकर्ताको पीडामा आँखा चिम्लनु हो ।

विचार | मानसिक स्वास्थ्यको बहसमा छुटेका हेरचाहकर्ता र बालबालिका

मानसिक स्वास्थ्यसम्बन्धी विमर्शलाई आत्महत्याको रोकथाम र कलंक हटाउने विषयमा सीमित गर्नु भनेको राज्यले असुरक्षित हेरचाहकर्ताको पीडामा आँखा चिम्लनु हो ।

मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै ऐन बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत कात्तिक १७ गते ‘मानसिक स्वास्थ्यसम्बन्धी विधेयकको अवधारणापत्र’ सार्वजनिक गरेको छ । तर, १५ पृष्ठको यो अवधारणापत्रले एउटा अत्यन्तै महत्त्वपूर्ण पाटो छुटाएको छ । बिरामीको हेरचाहमा अहोरात्र खटिने परिवारका सदस्य र घरमा डरको वातावरणमा हुर्किन बाध्य बालबालिका ओझेलमा छन् ।

अवधारणापत्रमा आत्महत्या रोकथाम, उपचार प्रणाली तथा फौजदारी न्याय प्रणालीमा रहने बिरामीको अधिकारलगायतका विषय समेटिएको छ, जुन स्वागतयोग्य छ । तर यसले हेरचाहकर्ताको सन्दर्भमा भने ‘मानसिक स्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्पष्ट परिभाषा गर्ने उल्लेख गर्नुबाहेक अन्य विषयवस्तु समेटेको छैन । विश्वमै मानसिक स्वास्थ्यको समग्र बहस उपचारको पहुँचबाहिर रहेका बिरामी र तिनको अधिकार, आत्महत्या रोकथाम र सामाजिक कलंक हटाउने विषयमै सीमित छ । हेरचाहकर्ताको विषय उपेक्षित छ ।

मानसिक रोगीको हेरचाहमा परिवारले चौबीसै घण्टाजसो खट्नुपर्ने हुन्छ । यस क्रममा भोग्नुपर्ने हैरानी र मानसिक दबाबको कुनै सीमा हुँदैन । बिरामीको हेरचाह गर्नु परिवारको दायित्व र कर्तव्य भए पनि यसले हेरचाहकर्तामा पारेको पीडा र कष्ट व्यक्त गर्ने माध्यम छैन । यसबारे परिवारले कतै कुरा गरेमा आँखा खुम्च्याइन्छ ।

हेरचाहकर्ताले भोगिरहेको हैरानीको पाटोलाई मानसिक स्वास्थ्यबारे लेख्ने, बोल्ने मनोचिकित्सक र मनोविज्ञहरूले पनि विरलै सार्वजनिक बहसमा ल्याएका छन् । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको हेरचाहमा संलग्न परिवारजन र सोही वातावरणमा हुर्किरहेका बालबालिकाको संख्या बिरामीको तुलनामा धेरै हुन्छ । तर तिनका बारेमा यस क्षेत्रमा कार्यरत राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सरोकार राखेको पाइँदैन । बिरामीको हेरचाह गर्नेहरूकै मानसिक स्वास्थ्य अवस्था कस्तो होला भन्ने सामान्य चासोसमेत दिइँदैन । अझ पाँच वर्षमुनिका बालबालिकाका हकमा त नेपालमा कुनै संस्था नै नभएसरह छ ।

प्रत्येक मानसिक स्वास्थ्य समस्या फरक हुन्छ । कैयौं प्रकारका मानसिक रोगमा व्यक्तिहरूको बाहिरी व्यवहार सामान्य जस्तो देखिने र औपचारिक निदानसमेत नहुने हुँदा अन्य मानिसहरूले अन्तर्निहित समस्या सहजै पत्ता लगाउन सक्दैनन् । अध्ययनहरूले मानसिक बिरामीको हेरचाह गर्ने परिवारका सदस्यहरूमा चरम ‘केयरर बर्नआउट’ (हेरचाहकर्ताको मानसिक तथा भावनात्मक थकान) हुने देखाएका छन् ।

भ्रम, भावनात्मक नियन्त्रणको कठिनाइ वा व्यवहारगत असन्तुलन भएका बिरामीहरूले आफूलाई हेरचाह गर्ने परिवारलाई दोषारोपण, दुव्र्यवहार र कतिपय अवस्थामा हिंसात्मक व्यवहारसमेत प्रदर्शन गर्न सक्छन् । मनोचिकित्सकले समस्या निदान गरेका बिरामीले पनि आफूमा कुनै समस्या नरहेको विश्वास गर्ने र आफ्नो रोगप्रति सचेत नहुने अवस्था हुन्छ । त्यस्ता बिरामीको हेरचाह गर्ने परिवारमा चरम द्वन्द्व, भावनात्मक अस्थिरता र निराधार आरोपका घटना हुन सक्ने मनोचिकित्सा र पारिवारिक आयामसम्बन्धी अध्ययनहरूले देखाएका छन् । यस्तोमा परिवारका सदस्यहरूमा एकातिर माया र जिम्मेवारीले बिरामीलाई स्याहार्नुपर्ने हुन्छ भने अर्कोतिर समाज र कानुनको कठघरामा उभिनुपर्ने हुन्छ । त्यसमाथि, रातदिन सेवा गर्ने परिवारलाई राज्यले नै शंकाको नजरले हेर्दा उनीहरूको पीडा झन् बढ्छ ।

त्यस्ता ‘संवेदनशील र असुरक्षित हेरचाहकर्ता’ (भल्नरेबल केयरगिभर) लाई मानसिक स्वास्थ्य सेवाको प्रभावकारी विस्तार, समन्वय र नियमनका लागि बनाइन लागेको संघीय कानुनमार्फत कानुनी मान्यता दिएर उनीहरूलाई सुरक्षित बनाउन सक्ने अवसर छ । यस समस्याको प्रभावकारी समाधान हो, ऐनमै ‘संवेदनशील/असुरक्षित हेरचाहकर्ता’ को अवधारणा राख्नु । चिकित्सकहरूले बिरामीमा गम्भीर मानसिक समस्या, भावनात्मक अनियन्त्रण वा अस्थिरता लगायतका जोखिमपूर्ण अवस्था प्रमाणित गरेका छन् भने उनीहरूको हेरचाहमा खटिने परिवारका सदस्यहरूलाई कानुनत: ‘जोखिमयुक्त हेरचाहकर्ता’ का रूपमा स्वत: मान्यता दिइनुपर्छ । परिवारले बिरामीको हितका लागि गरेका कामहरूमा लाग्ने झूटा आरोप र कानुनी झमेलाबाट जोगाउने स्पष्ट सुरक्षात्मक व्यवस्था ऐनमै हुनुपर्छ । हेरचाहकर्तालाई निरन्तरको तनावबाट जोगाउन राज्यले नि:शुल्क परामर्श, सामाजिक सहयोग र पुन:स्थापना सेवाको व्यवस्था गर्नुपर्छ ।

मानसिक स्वास्थ्य समस्याको अदृश्य सास्तीको सिकार वयस्क हेरचाहकर्ता मात्र होइनन् । बिरामीका कारण आफ्नै घरभित्र डर र असुरक्षाका बीच हुर्कन बाध्य बालबालिका पनि पीडित छन् । व्यक्तित्व विकास र भावनात्मक सुरक्षाको दृष्टिले अति संवेदनशील उमेरमा घरभित्रको अस्थिर वातावरण र निरन्तरको कलहले उनीहरूको बाल्यकाललाई क्षतविक्षत बनाउँछ ।

तर, यस्तो जोखिमपूर्ण वातावरणमा हुर्कन बाध्य बालबालिकालाई जोगाउन हाम्रा विद्यमान कानुनी व्यवस्था बाधक बनिरहेका छन् । खासगरी, अभिभावकमध्ये कसैमा गम्भीर मानसिक स्वास्थ्य संकट देखिएमा समेत मुलुकी देवानी संहितामा रहेको उमेर र लैंगिक पहिचानमा आधारित ‘स्वचालित संरक्षकत्व’ को परम्परागत व्यवस्थाले बालबालिकालाई असुरक्षित अभिभावककै जिम्मामा छाडिदिने जोखिम रहन्छ । यस्तोमा बालबालिकाको मानसिक स्वास्थ्य र हितबारे राज्य सचेत हुनैपर्छ ।

राज्यको दायित्व घटना भइसकेपछि पीडित खोज्नु मात्र होइन, सम्भावित जोखिम पहिचान गरी बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु पनि हो । यसका लागि मुलुकी देवानी संहिताको परम्परागत संरक्षकत्वको व्यवस्था खारेज गर्दै बालबालिकासम्बन्धी ऐन, २०७५ को मर्मबमोजिम बालहितको वैज्ञानिक र निष्पक्ष मूल्यांकनका आधारमा मात्र संरक्षकत्व निर्धारण गरिनुपर्छ । गम्भीर मानसिक संकट भएको परिवारका बालबालिकाको मानसिक स्वास्थ्य र भविष्य जोगाउन विद्यमान कानुनी त्रुटिहरू सच्याउन ढिला गर्नु हुँदैन ।

अन्त्यमा, मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई आत्महत्याको रोकथाम र कलंक हटाउने विषयमा मात्रै सीमित गर्नु भनेको राज्यले असुरक्षित हेरचाहकर्ताको पीडामा आँखा चिम्लिनु हो । एउटा स्वस्थ परिवारबिना स्वस्थ समाज बन्न सक्दैन । तसर्थ, मानसिक स्वास्थ्यसम्बन्धी विधेयकको अवधारणापत्र विधेयकका रूपमा संसद्मा जानुअघि नै असुरक्षित हेरचाहकर्ता र अबोध बालबालिकाको सुरक्षालाई अनिवार्य रूपमा समेटिनुपर्छ । नेपालसँग मानसिक स्वास्थ्यका अदृश्य पीडितहरूलाई कानुनी पहिचान र संरक्षण प्रदान गरी विश्वमै अनुकरणीय दृष्टान्त र नेतृत्वदायी कानुन प्रस्तुत गर्ने ऐतिहासिक अवसर छ ।

उमेश गौतम नेपाल कन्सल्टिङ लयर्स इन्कमा कानुनी अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3w ago
स्वास्थ्य समाचार — Health Nepali News | Hamro Patro

स्वास्थ्य समाचार — Health Nepali News | Hamro Patro

नेपालका प्रमुख स्रोतहरूबाट स्वास्थ्य का ताजा समाचार।

#मानसिक #स्वास्थ्यसम्बन्धी
Compare →

Related Stories

Health & Wellness
Build #2612