भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास गरेसँगै अब ६६९ मेगावाटको तल्लो अरुण निर्माणको चरणमा अघि बढेको छ ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको साेमबार शिलान्यास गरेका छन् । प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङकी उक्याबले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास भएको बताइन् । 'भौतिक रुपमा भने नेपालबाटै हुनेछ,' उनले भनिन्, 'अब तल्लो अरुण पनि निर्माणको चरणमा अघि बढेको छ ।'
आयोजनालाई सरकारले ०७५ को लगानी सम्मेलनमा सोकेस परियोजनाका रूपमा राखेको थियो । आयोजना निर्माणका लागि तीनवटा कम्पनीले इच्छा देखाएका थिए । तिनमा सतलज जलविद्युत् निगम (एसजेभीएन), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टसँग-पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) जेभी र ग्रिन रिसोर्स-जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी थिए ।
प्रस्ताव मागिएकामध्ये एसजेभीएन र पावर चाइनाले मात्रै प्रस्ताव पेस गरेका थिए । दुवै कम्पनीले पेस गरेको प्रस्तावमा नेपाललाई २० प्रतिशतभन्दा बढी विद्युत् ऊर्जा निःशुल्क दिने गरी प्रस्ताव पठाएका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १६ माघ २०७७ मा बसेको बोर्डको ४६ औं बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण एसजेभीएनलाई नै दिने निर्णय गरेको थियो । यसका लागि २७ असार २०७८ मा समझदारी भएको थियो । १८ जेठ २०८० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
तल्लो अरुण आयोजनाबाट के-के हुनेछ लाभ ?
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । तल्लो अरुणबाट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । विद्युत् उत्पादन सुरु भएको १५ वर्षसम्म क्यापासिटी रोयल्टी प्रतिकिलोवाट ४ सय रुपैयाँ र इनर्जी रोयल्टी ७.५ प्रतिशत तथा १५ वर्षपछि प्रतिकिलोवाट क्यापासिटी रोयल्टी १८ सय रुपैयाँ र इनर्जी रोयल्टी १२ प्रतिशत सरकारलाई दिनुपर्नेछ ।
कम्पनीले प्याकेज–१ (मुख्य सुरुङ, स्पिल सुरुङ, अडिट तथा पहुँच सडक) को ठेक्का १८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ (भारु ११ अर्ब ४९ करोड २१ लाख) मा दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकनलाई दिएको छ । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार प्याकेज–२ को २५ अर्ब ४८ करोड रुपैयाँ (भारु १५ अर्ब ९३ करोड) बराबरको ठेक्का पटेल इन्जिनियरिङले पाइसकेको जनाएको थियो । तर प्रवर्द्धक कम्पनीको वेबसाइटमा प्याकेज–२ को ठेक्का पनि दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकनलाई पाएको उल्लेख छ ।
तल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भने भइसकेको छैन ।
लगानी बोर्डका प्रवक्ता तथा सहसचिव भूपेन्द्र थापाले गत कात्तिकमा वित्तीय व्यवस्थापनसँगै निर्माणका लागि ठेक्का प्रक्रिया एकैसाथ बढाइएको बताएका थिए । ‘कम्पनीले आफ्नो स्वपुँजीबाट तल्लो अरुणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । यता वित्तीय व्यवस्थापन र उता निर्माणका लागि ठेक्का आह्वानलाई एकैसाथ अघि बढाइएको छ,’ उनले कान्तिपुरलाई बताएका थिए ।
एसजेभीएनका एक प्रतिनिधिले पीडीए भइसकेकाले वित्तीय व्यवस्थापनका लागि काम भइरहेको जानकारी दिए । ‘कम्पनीको स्वपुँजीबाट आयोजना टेन्डरको काम भइरहेको र एक महिनामा वित्तीय व्यवस्थापन गरी निर्माण जाने तयारी रहेको उनको भनाइ छ ।
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।