२०२० सालदेखि डडेल्धुराको स्याउलेमा व्यापार गर्दै आएको दियाल परिवारले पैदल बाटोको पुरानो बजारदेखि सडक सञ्जालसँगै बदलिएको व्यावसायको अनुभव बोकेको छ।
डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–१ स्थित स्याउले बजारका पसल र सडक छेउमा राखिएका ठेलामा ओखर बिक्रीका लागि राखिएका छन्। यो बजारमा असोज–कात्तिकदेखि सुरु हुने ओखरको व्यापार पुस–माघसम्म चल्छ। त्यसपछि मौसमअनुसार सुन्तला, जुनार, आरुबखडालगायत फलफूलले बजार लिन्छ। यही मौसमी फलफूलको कारोबारले स्याउलेलाई डडेल्धुराको एउटा चिनिएको व्यापारिक थलो बनाएको छ।
अहिले ६७ वर्षीय भक्त दियाल पनि ओखर बिक्री गरिरहेका छन्। उनका लागि यो व्यापार नयाँ होइन। उनको परिवारले स्याउलेमा व्यापार गर्न थालेको २०२० सालदेखि हो। त्यतिबेला उनका बाजेले यहाँ पसल चलाउँथे। अहिले उनी पनि त्यही व्यापारिक परम्परालाई निरन्तरता दिइरहेका छन्। तर समयसँगै बजार, व्यापार गर्ने तरिका र सामानको प्रकृति फेरिएको छ।
भक्तका अनुसार उनका बाजेले व्यापार सुरु गर्दा स्याउले बजार वरपर घना जंगल थियो। सडक थिएन, पैदल हिँड्ने बाटो मात्रै थियो। नुन, गुड, मिश्री, नरिवललगायत सामानको व्यापार हुन्थ्यो। पछि उनले पनि पसलमा चिया बेच्न थाले। त्यतिबेला एक कप चियाको मूल्य २० पैसा थियो। एक रुपैयाँमा २२ वटा मिश्री पाइन्थ्यो। ‘त्यतिबेला पैसा सानो थियो, तर त्यसको महत्व धेरै थियो,’ उनले पुराना दिन सम्झँदै भने, ‘त्यसबेला अहिलेको जस्तो गाडीमा सामान ओसारपसार गर्ने सुविधा थिएन।’
उनका अनुसार त्यसबेला दार्चुला, बझाङ क्षेत्रका भेडापालकहरू मौसमअनुसार भेडा चराउन विभिन्न ठाउँमा पुग्थे। हिमपात हुने समयमा डडेल्धुरा हुँदै कञ्चनपुरसम्म झर्थे भने मौसम न्यानो भएपछि फेरि हिमाली क्षेत्रतिर उक्लिन्थे। उनीहरूले महेन्द्रनगर र टनकपुरबाट नुन, मिश्री, गुड, नरिवललगायत सामान बोकेर ल्याउँथे। स्थानीय व्यापारीले उनीहरूसँग ती सामान किनेर बिक्री गर्थे।
त्यतिबेला स्याउले अहिलेको जस्तो सडकको केन्द्र नभए पनि विभिन्न ठाउँबाट मानिस आवतजावत गर्ने संगमस्थल थियो। डडेल्धुराका विभिन्न बस्ती हुँदै डोटीको दिपायललगायत क्षेत्रसम्म पुग्ने पैदल बाटो यही क्षेत्रबाट जोडिन्थ्यो। डोटी, बझाङ र अछामतिरका मानिस पनि यही बाटो भएर पैदल ओहोरदोहोर गर्थे। कतिपय बटुवा यहाँ बाससमेत बस्ने गर्थे।
भक्तका अनुसार स्याउले बजारको नामकरणसँग जोडिएको अर्को स्थानीय जनविश्वास पनि छ। बजारमाथिको डाँडामा रहेको सहस्रलिङ्ग देवताको मन्दिरमा दर्शन गर्न जाने र त्यही बाटो भएर यात्रा गर्ने बटुवाले चौबाटोमा रहेको मन्दिरको थानमा पैसा तथा फूलपाती चढाउने चलन थियो। स्थानीय भाषामा त्यसरी भेटी चढाउनुलाई ‘थपनामा पाती हाल्ने’ भनिन्थ्यो। यही चौबाटो र मन्दिरको थानसँग जोडिएर ठाउँको नाम स्याउले रहन गएको स्थानीय जनविश्वास रहेको उनले बताए। जुन थान अहिले पनि स्याउले बजारको चोकमै छ।
२०२४ सालमा स्याउले क्षेत्रमा सडकको ट्रयाक खुलेपछि भने यहाँको आवागमन र व्यापारमा परिवर्तन आउन थाल्यो। सुरुमा सडक विभागका टिपर र ट्रक मात्रै चल्थे। पछि सामान बोकेका ट्रक आउन थाले। पैदल यात्रामा निर्भर रहेको आवागमन क्रमशः सवारीसाधनमा आधारित हुन थाल्यो। सामान ढुवानी सहज भएपछि व्यापारको स्वरूप पनि विस्तारै बदलियो।
भक्तका अनुसार २०३३ सालमा यस क्षेत्रमा नापी भएर जग्गाको लालपुर्जा वितरण गरिएको थियो। त्यसपछि बजार विस्तार हुँदै गए पनि पछि आएर घर बनाएका कतिपय स्थानीयको संरचना २०५८ सालमा सडक विभागले भत्काएको उनले सम्झिए। २०६३/६४ सालपछि फेरि घर तथा पसल जोडिँदै गए र बजार विस्तार हुन थाल्यो।
बाजे र बुवाले सुरु गरेको व्यापारलाई निरन्तरता दिएका भक्त अहिले भने पहिलेको जस्तो किराना र चिया पसल चलाउँदैनन्। उनका छोराहरू विदेशमा छन्। उनी घरखर्च चलाउने उद्देश्यले अहिले ओखरको कारोबार गरिरहेका छन्। यसपटक उनले दार्चुलाको पनेबाज र गोकुलेश्वर क्षेत्रबाट करिब दुई लाख रुपैयाँको ओखर ल्याएका छन्। पहिले बैतडीको सतबाँझ र लिस्किटाबाट ओखर ल्याउने गरेको भए पनि ती क्षेत्रमा उत्पादन घट्दै गएको र उत्पादित ओखर पनि अन्य व्यापारीले समयमै खरिद गर्न थालेपछि दार्चुलासम्म पुग्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
उनले दार्चुलाबाट प्रतिकिलो चार सय रुपैयाँमा ओखर खरिद गरेर स्याउलेमा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। ढुवानी तथा अन्य खर्चसमेत जोडेर कारोबार गर्नुपर्ने भएकाले खरिद र बिक्री मूल्यमा फरक पर्ने उनले बताए।
स्याउले बजारमा लामो समयदेखि व्यापार गर्दै आएका अर्का व्यवसायी डम्बरबहादुर दियाल पनि बजारको परिवर्तनका साक्षी हुन्। उनी १८ वर्षदेखि महेश्वरी किराना पसल सञ्चालन गरिरहेका छन्। उनका बुवाले पनि यही क्षेत्रमा व्यापार गर्थे। पहिले मानिसहरू पैदल हिँडेर स्याउले आउने र रात परे यहीँ बास बस्ने गरेको उनले सम्झिए। अहिले सडक र सवारीसाधनले आवागमन सहज बनाएको छ।
उनका अनुसार पहिले डोटी, बझाङ र अछामतिरका मानिसहरू स्याउले हुँदै नुन, गुड र घिउलगायत सामान ओसारपसार गर्थे। अहिले भने व्यापारको प्रकृति फेरिएको छ। उनी दिपायलबाट बदाम ल्याएर बिक्री गर्छन् भने बैतडी र दार्चुलाबाट ओखर ल्याएर बेच्ने गरेका छन्। ‘अहिले गाडीमा सामान ल्याउन र बिक्री गर्न सक्नेको व्यापार चल्छ,’ उनले भने, ‘व्यापार नहुँदा कहिलेकाहीँ पसलमा घाम तापेर बस्नुपर्ने अवस्था पनि आउँछ।’
आफ्नै घरमा पसल सञ्चालन गरिरहेकाले भाडा तिर्नुपर्ने समस्या नभएको उनी बताउँछन्। भाडामा पसल लिएर व्यवसाय गर्नेहरूलाई भने अहिलेको व्यापारबाट भाडा र अन्य खर्च धान्नसमेत कठिन हुने उनको अनुभव छ। सडक पुगेपछि सुविधा थपिए पनि त्यसले सबै व्यापारीको कारोबार बढाएको छैन। बजारमा ग्राहकको चाप र व्यापारको अवस्था समयअनुसार फरक पर्ने गरेको उनी बताउँछन्।
अहिले स्याउलेमा ओखर बिक्री गर्ने अर्का व्यवसायी दलबहादुर ऐर पनि दार्चुलाबाटै ओखर ल्याउँछन्। उनी होटलसमेत सञ्चालन गर्छन्। होटलअगाडि ओखर राखेर बिक्री गर्ने गरेका उनले दैनिक करिब पाँच हजार रुपैयाँसम्मको ओखर बिक्री हुने बताए। दार्चुलाबाट प्रतिकिलो चारसयदेखि पाँच सय रुपैयाँसम्ममा खरिद गर्ने ओखर स्याउलेमा ६ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ।
स्याउले बजारको व्यापार अहिले किराना पसल र फलफूलमा मात्रै सीमित छैन। यहाँ नास्ता पसल, होटल तथा सवारीसाधन मर्मत गर्ने ग्यारेजसमेत सञ्चालनमा छन्। बजारमा अहिले करिब ३० वटा घर तथा पसल छन्। नजिकैका मालम, राई र काँडे गाउँलगायत भारतका बिभिन्न क्षेत्रका व्यापारीको समेत यहाँ व्यावसाय छ।
भौगोलिक अवस्थाका हिसाबले पनि स्याउले सुदूरपश्चिमका पहाडी जिल्लाहरू जोड्ने सडक सञ्जालको महत्वपूर्ण केन्द्र हो। यहाँबाट बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला र बैतडीतर्फ जाने सडक जोडिएका छन्। यही कारण विभिन्न जिल्लाबाट आवतजावत गर्ने यात्रु र सवारीसाधनको चहलपहल बजारमा देखिन्छ।
मौसमी फलफूलको कारोबार भने स्याउलेको छुट्टै पहिचान बनेको छ। असोज–कात्तिकदेखि ओखर बिक्री सुरु हुन्छ। पुस–माघसम्म यसको कारोबार चल्छ। त्यसपछि सुन्तला, जुनार, आरुबखडालगायत फलफूलको व्यापार सुरु हुन्छ। केही व्यापारीले आफ्नै पसलबाट बिक्री गर्छन् भने कतिपयले सडक छेउमा ठेला राखेर फलफूल बेच्ने गरेका छन्।