करार सेवाका लागि माग गरिएको पदमा सात दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
डडेल्धुरा — संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले विभिन्न पदमा ५६ जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा कार्यक्रमअन्तर्गत चिकित्सक, स्वास्थ्यकर्मीलगायत विभिन्न पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्न लागेको हो।
अस्पतालको कर्मचारी पद्पुर्ती समितिका अनुसार सबैभन्दा बढी २५ जना स्टाफ नर्स माग गरिएको छ। त्यस्तै १० जना मेडिकल अधिकृत र ५ जना हेल्थ असिस्टेन्ट भर्ना गरिनेछ।
अस्पतालले एक जना ईएनटी सर्जन, एक जना एनेस्थेसियोलोजिस्ट, दुई जना डेन्टल सर्जन, एक जना फिजियोथेरापिस्ट, तीन जना मेडिकल ल्याब टेक्नोलोजिस्ट र एक जना मेडिकल माइक्रोबायोलोजिस्ट माग गरेको छ।
यसैगरी एक जना डाइटिसियन अधिकृत, एक जना मेडिकल रेकर्डर अधिकृत, तीन जना मेडिकल ल्याब टेक्निसियन, एक जना फिजियोथेरापी सहायक र एक जना हाउसकिपिङ सुपरभाइजरका लागि पनि दरखास्त आह्वान गरिएको छ।
अस्पतालका अनुसार सबै पद करार सेवाका हुन्। दरखास्त आह्वान भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले अस्पतालको आधिकारिक वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरी आवश्यक कागजातसहित पेस गर्न सक्नेछन्।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, सम्बन्धित विषयको परिषद्मा दर्ता तथा नवीकरण भएको प्रमाणपत्र र अनुभवसम्बन्धी कागजात आवश्यक पर्नेछ। विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका उम्मेदवारले समकक्षता निर्धारण भएको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ। कर्मचारी छनोट अन्तर्वार्तामार्फत गरिने अस्पतालले जनाएको छ।