अस्पतालका सूचना अधिकारीसमेत रहेका रेडियोग्राफ निरीक्षक फाँटका प्रमुख दिपेन्द्रप्रसाद यादवका अनुसार मासिक १५० देखि २०० बिरामीले लिँदै आएको सिटी स्क्यान सेवा गत २२ भदौदेखि ठप्प छ ।
राजविराज — सवारी दुर्घटनामा परेका सप्तरीको शम्भुनाथ नगरपालिका-३ कचनदाहाका ५० वर्षीय रामनारायण साह गत बिहीबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना भए । उनको टाउकोमा चोट लागेका कारण सिटी स्क्यान गराउनुपर्छ भनि चिकित्सकले सुझाव दिए । तर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रेका कारण उनले सिटी स्क्यान गराउन पाएनन् । त्यस दिन उनी एक/डेढ घण्टा अस्पतालमै बसेर घर फर्किए ।
भोलिपल्ट अझ समस्या हुन थालेपछि ८ हजार गाडी भाडा तिरेर सिटी स्क्यान गराउन सिरहाको जिरोमाइल पुगे । त्यहाँका चिकित्सकले पनि उपचारको लागि बाहिर लैजानु पर्छ भनेपछि उनी फेरि ७ हजार खर्चेर एम्बुलेन्समा धरान पुगे । ‘जिरोमाइलमा गरेको सिटी स्क्यानले काम नगरेपछि धरानमा पुनः सिटी स्क्यान गराउनुपर्यो,’ उनका छोरा अजित साहले भने, ‘अहिलेसम्म सबै गरेर बुबाको उपचारमा ७० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’
उनले राजविराजमा सिटी स्क्यान मेसिन थन्काएर राख्दा आफूहरूले दुःख पाएको गुनासो पोखे । ‘यहाँ जहिले मेसिन बिग्रेकै हुन्छ र अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सोध्दा मनलाग्दी बोलेर हैरानी थप्ने काम मात्रै गर्छन्,’ उनले भने, ‘मेसिन मर्मत गराउने जिम्मेवारी हाम्रो त होइन, यहाँ अस्पताल प्रशासनको चरम लापरबाही छ ।’ बिरामीलाई बाहिर लग्नुपर्दा एकातिर जोखिम र अर्कोतिर बढी खर्च हुने गरेको उनको दुखेसो छ ।
उनी अस्पताल पुगेको अघिल्लो दिन (२५ कार्तिक) राजविराज नगरपालिका–८ हिमालय टोलका हरि मण्डल पनि सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना भए । आफ्नै घरमा लड्दा ६३ वर्षीय मण्डलको टाउकोमा गम्भीर चोट लागेका कारण उनी अस्पताल पुगेका थिए । उनको पनि सिटी स्क्यान गराउनुपर्छ भनी चिकित्सकले सुझाव दिए । तर त्यहाँको मेसिन बिग्रेर सिटी स्क्यान गराउन नपाएका उनी बाध्य भएर त्यही अस्पतालमा ३ दिनसम्म बसे । उनको स्वास्थ्य अवस्था भने सुधार भएन ।
सुधार नभएपछि सिटी स्क्यानसहित उपचारका लागि बाहिर जानुपर्ने उनी आर्थिक अभावका कारण घर नै फर्किए । गत शनिबार घर फर्किएका उनले उपचार अभावकै कारण २ दिनपछि ज्यान गुमाए ।
साह र मण्डल त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । यहाँ दैनिक ५-६ जना बिरामी सिटी स्क्यान गराउनका लागि अस्पताल आउने गर्छन् । तर अढाइ महिनादेखि सिटी स्क्यान मेसिन थन्किँदा बिरामीहरूले सेवा पाउन सकेका छैनन् । सिटी स्क्यानका लागि केहीले धरान–विराटनगरसम्म धाउन बाध्य छन् भने केहीले आर्थिक अभावका कारण बाहिर जानै सकेका छैनन । तर मेसिन मर्मत गराउनेतर्फ अस्पताल प्रशासनको ध्यान पुगेको छैन् ।
‘बिग्रेको मेसिन लामो समयसम्म पनि मर्मत नगराउनु दु:खद् हो,’ राजविराज नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष जयनारायण मण्डलले भने, ‘आर्थिक अभाव खेपिरहेका बिरामीलाई अत्यन्तै समस्या भइरहेको छ । अस्पताल प्रशासनले सिटी स्क्यान मेसिन मर्मत गराउन गम्भीरता देखाओस् ।’ उनकाअनुसार नगरपालिकाले पनि संघीय सरकार मातहत रहेको सो अस्पताललाई अनुदान स्वरुप वार्षिक २५ लाख रुपैयाँ र केही जनशक्तिसमेत दिँदै आएको छ । तर पछिल्लो समय अस्पतालले नगरपालिकासँग समन्वयन नगर्ने गरेको उनले बताए । ‘नगरपालिका क्षेत्रमा भइसकेपछि अस्पतालबाट प्रभावकारी उपचार सेवा प्रवाह हुनुपर्छ र त्यसका लागि हामीले गर्नुपर्ने गर्छौं नै तर समन्वयन छैन,' वडाध्यक्ष मण्डलले भने ।
अस्पतालका सूचना अधिकारीसमेत रहेका रेडियोग्राफ निरीक्षक फाँटका प्रमुख दिपेन्द्रप्रसाद यादवकाअनुसार मासिक १५० देखि २ सय बिरामीले लिँदै आएको सिटी स्क्यान सेवा गत २२ भदौदेखि ठप्प छ । सिटी स्क्यान कक्षमा वर्षाको पानी पसेर मेसिन बिग्रिएको उनले बताए । उनले मर्मतका लागि पटकपटक प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)लाई लिखित तथा मौखिक जानकारी गराउँदा पनि मर्मत हुन नसकेको बताए ।
पछिल्लो पटक रेडियोग्राफ निरीक्षक फाँटका प्रमुख यादवले ३० भदौमा लिखित रुपमै मेसिन मर्मतका लागि पुनः ताकेदा गरेको देखिन्छ । पत्रअनुसार सिटी स्क्यान मेसिन मर्मत गराउनुपर्ने तथा वर्षेनी पानी पसेर मेसिनमा क्षति भइरहेकोले सिटी स्क्यान मेसिन नयाँ भवनमा सार्नुपर्नेलगायतका समस्या समाधानका लागि आग्रह गरेका छन् ।
निमित्त मेसु डा. अरुण साहले सिटी स्क्यान मेसिन मर्मत अघि बढेको बताए । ‘निमित्त प्रमुख मेसुज्यू बिदामा हुनुहुन्छ । उहाँ फर्किएपछि थप कार्य अघि बढ्छ,’ उनले भने, ‘थप कुरा सूचना अधिकारीज्यूलाई नै थाहा होला ।’ अस्पताल प्रशासनका अनुसार केही दिनअघि मात्रै कम्पनीका प्राविधिक टोली आएर मेसिनको समस्या पत्ता लगाएर फर्किएका छन् । सिटी स्क्यान मेसिको ‘टेबल टिल्ट’मा समस्या देखिएकोले त्यसलाई फेर्ने र नयाँ भवनमा सार्ने प्रक्रियामा अघि बढेको जनाइएको छ । यहाँ २०७७ कार्तिकदेखि सिटी स्क्यान सेवा सञ्चालनमा आएको हो ।
विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।