कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा नौ विकेट गुमाउँदै १३३ रन जोड्यो।
काठमाडौँ — डेविड मलानले अर्धशतक बनाए पनि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा सुदूरपश्चिम रोयल्सलाई १ सय ३४ रनको मात्र लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३३ रन बनाएको हो ।
चितवनले निकै खराब सुरुआत गरेको थियो । अघिल्लो दिन काठमान्डु गोर्खाजविरुद्ध १ सय २० रन प्रहार गर्दै एनपीएलकै उच्च स्कोर बनाएका कमिल मिसरा ४ रनमै आउट भए । स्कट कुग्लेनको बलमा उनी एज लागेपछि विकेटकिपर विनोद भण्डारीलाई क्याच दिन पुगे ।
अर्का ओपनर देव खनालले पनि ६ रनमात्र बनाउन सके । मलानले ५१ बलमा ७१ रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले आफ्नो इनिङ्समा कुल ९ चौका र २ छक्का प्रहार गरे । रिजन ढकाल इनिङ्सको अन्तिम बलमा ३ रनमा रनआउट भए ।
तर कप्तान रवि बोपारा १ रनमै आउट भए । विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमै आउट भए । सलाहुद्दिन खानले १६ बलमा १८ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । कमलसिंह ऐरीले ७ बल खेली १० रन बनाए ।
कुग्लेनले ४ ओभरमा २७ रन खर्चेर ३ र थारिन्दु रथ्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै २०, ईशान पाण्डेले ३ ओभरमा १७ र हेमन्त धामीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।
यस खेल जित्ने टोलीले लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ । राउन्ड रोबिन लिगमा सुदूरपश्चिम दोस्रो र चितवन चौथो भएको थियो । सुदूरपश्चिम क्वालिफायर १ मा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । चितवनले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।