'एजिङ एन्ड मेन्टल हेल्थ' जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा ६५ वर्ष र सोभन्दा माथिका ३ हजार ७ सय ७७ वयस्क सहभागी थिए । यसमध्ये कोही लामो समयदेखि निरन्तर एक्लोपनबाट गुज्रिएका थिए भने कसैले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेका थिए
काठमाडौँ — दशकौं लामो एक अध्ययनले निरन्तर वा दीर्घकालीन एक्लोपन र डिमेन्सिया (बिर्सने रोग) गहिरो रूपमा जोडिएको उजागर गरेको छ । कहिलेकाहीँ एकान्तमा रमाउनु भने हानिरहित रहेको अध्ययनले देखाएको छ ।
यसअघिका अनुसन्धानले पनि एक्लोपनले डिमेन्सियाका लक्षण बढाउने देखाएको थियो । तर, कुन स्तरको सामाजिक एक्लोपनले सबैभन्दा बढी हानि गर्छ भन्ने स्पष्ट थिएन ।
'एजिङ एन्ड मेन्टल हेल्थ' जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा ६५ वर्ष र सोभन्दा माथिका ३ हजार ७ सय ७७ वयस्क सहभागी थिए । यसमध्ये कोही लामो समयदेखि निरन्तर एक्लोपनबाट गुज्रिएका थिए भने कसैले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेका थिए ।
केहीले कहिल्यै एक्लोपन महसुस नभएको बताएका थिए । उनीहरूको २० वर्षे अनुभवलाई फरक–फरक रूपमा वर्गीकरण गरेर अध्ययन तथा जोखिम मूल्याङ्कन गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले तीन समूहबीच डिमेन्सियाको दरमा ठूलो भिन्नता पाए । कहिल्यै एक्लो महसुस नगर्ने समूहमा ३३.१ प्रतिशत र दीर्घकालीन एक्लोपन भएका व्यक्तिमा ४९.१ प्रतिशत जोखिम देखिएको थियो ।
उमेर, स्वास्थ्य अवस्थाजस्ता अन्य पक्षलाई समेत आधार मानेर तुलना गर्दा कहिल्यै एक्लो महसुस नगर्नेहरूको तुलनामा दीर्घकालीन एक्लोपन भोग्नेहरूमा डिमेन्सिया हुने जोखिम झन्डै ४० प्रतिशतले बढी देखियो ।
अर्कोतर्फ, कहिलेकाहीँ हुने एक्लोपनले डिमेन्सियाको जोखिम बढाउने खासै उल्लेखनीय सम्बन्ध देखाएन । जुनसुकै प्रकारको एक्लोपनले मानसिक स्वास्थ्यमा समान खतरा निम्त्याउँछ भन्ने पूर्वधारणालाई यसले चुनौती दिएको छ ।
फ्रान्सस्थित बोर्डो पपुलेसन हेल्थ सेन्टरकी अध्ययन लेखक करिन पेरेसले जीवनको कुनै न कुनै मोडमा प्रायः मानिसले एक्लोपन महसुस गर्ने बताइन् ।
'जब यो दीर्घकालीन र निरन्तर बन्छ, तब मात्र डिमेन्सियाको जोखिम बढ्ने देखियो,' अध्ययनबारे उनले भनिन् । अनुसन्धानकर्ताहरूका अनुसार दीर्घकालीन एक्लोपनले तनाव र प्रतिरक्षा प्रणालीलाई लामो समय सक्रिय पारेर शरीरमा सुजन (इन्फ्लामेसन) निम्त्याउँछ । डा. पेरेसले शारीरिक निष्क्रियता, खराब खानपान र सामाजिक अन्तरक्रियाको कमीले मुटुरोग, मधुमेह तथा मस्तिष्कको सक्रियतामा ह्रास ल्याउने बताइन् ।
अध्ययनले जीवनसाथी वा सामूहिक परिवारमा बस्ने मानिसहरूले पनि दीर्घकालीन एक्लोपन भोग्न सक्ने देखाएको छ । दीर्घकालीन एक्लोपन भएका करिब ३० प्रतिशत सहभागी एक्लै बस्दैनथे । प्रमुख लेखक यभाना सिमोनले असन्तुष्ट सम्बन्ध, हेरचाहको बोझ वा अर्थपूर्ण गतिविधिको कमीले पनि यस्तो जोखिम निम्त्याउन सक्ने बताइन् ।
अर्थात्, एक्लै बस्ने व्यक्ति पनि एक्लोपनबाट प्रभावित नहुन सक्छ र समूहमा बसेको व्यक्तिले पनि एक्लोपन महसुस गरिरहेको हुन्छ । त्यही कारण नीति–निर्माण गर्दा मानिस कोसँग बस्छ भन्ने कुरा नहेरेर उसको भावनात्मक पक्षलाई हेर्नुपर्ने उनको सुझाव छ ।