भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वार्ता सुरु भएको हो । वार्ता आधा घण्टाभन्दा बढी चल्ने नेपाली प्रतिनिधिमण्डलसँग रहेका अधिकारीहरूले बताएका छन् ।
नयाँ दिल्ली — भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा एक्लाएक्लै वार्ता सुरु भएको छ ।
सोमबार बिहान ११ः१५ बजे सुरु भएको वार्ता आधा घण्टाभन्दा बढी चल्ने नेपाली प्रतिनिधिमण्डलसँग रहेका अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक एक्लाएक्लै भेटवार्ता हो ।
वार्तामा दुई देशबीचका विभिन्न द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोग, हवाई सम्पर्क, ऊर्जा सहकार्य, व्यापार, पारवहन र पूर्वाधार विकासका विषय छलफलको प्राथमिकतामा छन् ।
गत १० भदौमा आएको विनाशकारी बाढीले रसुवा–भोटेकोशी करिडोरमा पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो । त्यसको पुनर्निर्माणका लागि नेपालले भारतसँग आर्थिक सहायता प्याकेज माग्दै आएको छ । त्यस्तै, भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन पनि नेपालले आग्रह गर्दै आएको छ ।
दुई देशबीच दीर्घकालीन सहकार्यका लक्ष्य र मापनयोग्य उपलब्धि समेटिएको प्रस्तावित संयुक्त दृष्टिपत्रबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।
एक्लाएक्लै वार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । त्यसपछि दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट विकास परियोजनाहरूको उद्घाटन गर्ने, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र दिउँसो संयुक्त रूपमा सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई सम्मान गारत अर्पण गरिएको थियो । त्यहाँ भारतीय प्रधानमन्त्री मोदीले उनको स्वागत गरेका थिए । शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली पुगेका हुन् । उनले भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार साँझ काठमाडौं फर्कनेछन् ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।