भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीबीच बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भेटवार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनुका साथै केही सहमति तथा सम्झौता हुने जनाइएको छ। भेटपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि उनीहरूले संयुक्त सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गर्ने दिवाभोजमा समेत सहभागी हुनेछन्। त्यसअघि उनले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्।
दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ।