Trending
Prev Story
Next Story

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

Ekantipur •
November 23, 2026 • 12:32 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ ।

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ ।

नयाँदिल्ली, भारत — प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली आइपुगेका छन् । शाह ताज होटल आइपुगेको केहीबेरमै भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री शाह मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली आइपुगेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो राजकीय भारत भ्रमण हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले शाहलाई स्वागत गरेका थिए । विमानस्थलमा शाहको स्वागतमा संक्षिप्त समारोहसमेत आयोजना गरिएको थियो ।

ताज होटलमा भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका विषयवस्तु र त्यसबाट हासिल हुन सक्ने उपलब्धिबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए । प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, विशेषगरी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धमा सहकार्यका विषयमा छलफल भएको थियो । दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे पनि कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ । त्यस क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।

भ्रमण टोलीमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले यो भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरे । वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले भारतसमक्ष उठाएका विभिन्न विषयमा सहमति जुटाउन आफ्ना भारतीय समकक्षीसँग सक्रिय रूपमा छलफलमा छन् । छलफलका क्रममा रहेका विषयमा आर्थिक साझेदारी, सीमा तथा सीमांकन, व्यापार, पारवहन, जलस्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद छन् । नेपालमा भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) कानपुरको शाखा स्थापना गर्ने तथा नेपाली क्रिकेटलाई भारतीय सहयोग जुटाउने विषय पनि एजेन्डामा छन् ।

शाहसँगको भेटपछि नै जयशंकरले परराष्ट्रमन्त्री खनालसँग पनि छलफल गरेका थिए । उनीहरूबीच नेपालले थप हवाई प्रवेशमार्ग उपलब्ध गराउनका लागि गरेको अनुरोधसहितका बाँकी विषयमा कुराकानी भएको नेपाली अधिकारीले बताए । सोमबार हुने प्रतिनिधिमण्डलस्तरीय वार्ताअघि भारतले बाँकी विषयमा आफ्नो धारणा स्पष्ट पार्ने नेपालको अपेक्षा रहेको ती अधिकारीले बताए । थप हवाई प्रवेशमार्गका सम्बन्धमा बागडोगरा विमानस्थल हुँदै प्रस्तावित रुट प्रयोग गर्ने विषयमा नेपालले भारतसँग विस्तृत प्राविधिक जानकारी मागेको एक वरिष्ठ अधिकारीले द काठमान्डु पोस्टलाई बताए ।

द काठमान्डु पोस्टले प्राप्त गरेको एक दस्ताबेजअनुसार, भारतीय दूतावासले गत साता नेपालको पर्यटन र परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बैठकमा छलफल भएका प्रस्तावमध्ये एउटा प्रस्तावको विस्तृत विवरण यस दूतावासलाई प्राप्त भएको छ । उक्त प्रस्ताव बागडोगरा विमानस्थलका लागि स्टान्डर्ड इन्स्ट्रुमेन्ट डिपार्चर (एसआईडी) प्रक्रियामा नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषयसँग सम्बन्धित छ ।’ एसआईडी प्रक्रियाले विमानलाई धावनमार्गबाट उडान भरेपछि आफ्नो निर्धारित हवाई मार्गमा प्रवेश गर्न सहयोग गर्छ । यस प्रक्रियामा हवाई ट्राफिक नियन्त्रण कक्षले विमानलाई थप दिशानिर्देश दिइरहनुपर्दैन ।

पश्चिम बंगालको सिलिगुडी सहरलाई सेवा दिने बागडोगरा विमानस्थल भारतीय वायुसेनाको हवाई अड्डा हो । त्यहाँ व्यावसायिक उडानका लागि छुट्टै नागरिक टर्मिनल क्षेत्र पनि छ ।

भारतीय विमानपत्तन प्राधिकरण (एयरपोर्ट अथोरिटी अफ इन्डिया) ले उक्त नागरिक क्षेत्रबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानको व्यवस्थापन गर्छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा हवाई टिकट सस्तो पर्ने भएकाले विदेश यात्रा गर्ने नेपालीले पनि पछिल्लो समय यो विमानस्थल बढी प्रयोग गर्न थालेका छन् । ‘यो सीमावर्ती क्षेत्रका विमानस्थलबीच सञ्चालनसम्बन्धी सम्झौताको प्रस्ताव भारतबाट आएको हो । उदाहरणका लागि, मौसम बिग्रिए, विमान निर्धारित सीमाभन्दा पर गए वा पुनः अवतरणका लागि घुम्नुपर्ने अवस्था आए आपत्कालीन परिस्थितिमा विमानलाई सुरक्षित रूपमा उडान गर्न सकिने निश्चित हवाई क्षेत्र उपलब्ध गराउनुपर्ने त्यसमा भनिएको छ,’ पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सोमबार मोदीबाट कुनै ‘सरप्राइज’ घोषणा हुने संकेत भारतीय पक्षले पटक–पटक दिएको एक नेपाली अधिकारीले बताए । ‘सोमबार के घोषणा हुन्छ भन्नेमा हामी पनि अनभिज्ञ छौं,’ उनले भने । नेपालले विभिन्न पूर्वाधार आयोजना निर्माण तथा भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अनुदान र सहुलियतपूर्ण ऋणस्वरूप २ अर्ब अमेरिकी डलर उपलब्ध गराउन भारतसँग आग्रह गरेको छ । नेपालका लागि अनुदान र सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) समेटिएको १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक प्याकेज घोषणा गर्ने सम्भावना रहेको अर्का एक अधिकारीले बताए । सोमबार राष्ट्रपति कार्यालयमा सम्मान गारत ग्रहण गरेपछि दुई प्रधानमन्त्रीबीच आधा घण्टाभन्दा लामो एक्लाएक्लै वार्ता हुनेछ । दुवै नेताबीच यो पहिलो औपचारिक भेटवार्ता हुनेछ ।

नेपाली प्रतिनिधिमण्डलमा रहेका एक अधिकारीका अनुसार शाह र मोदीबीच हुने सीमित सहभागिताको वार्तामा दुवै पक्षका पाँच–पाँच जना हुनेछन् । उक्त वार्तामा आपसी हितका विषय, दुई नेताबीच विश्वासको वातावरण निर्माण, विभिन्न द्विपक्षीय परियोजनामा सहकार्य तथा प्रस्तावित संयुक्त दृष्टिपत्र कार्यान्वयनबारे छलफल हुने अधिकारीहरूले बताएका छन् ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपाली प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस क्रममा मोदीले आर्थिक प्याकेजसहित अन्य सहयोगका पहल घोषणा गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बनेपछि पहिलो पटक शाहले पनि सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन् । पदभार सम्हालेयता उनले नेपाली सञ्चारमाध्यम वा पत्रकारसँग संवाद गरेका छैनन् । आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि उनको सहभागिता पुष्टि गरेको छ । भ्रमणका क्रममा भएका सम्झौता, समझदारी, सहमति तथा अन्य उपलब्धिबारे दुवै प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई जानकारी गराउनेछन् । प्रश्नोत्तर कार्यक्रम भने नहुने प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यले द काठमान्डु पोस्टलाई बताए ।

दुई प्रधानमन्त्रीले भारतको सहयोगमा नेपालमा निर्माण भएका तथा निर्माणाधीन केही परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ । त्यसमा अयोध्या र जनकपुरलाई जोड्ने सिधा रेल सेवा, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना, पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, एकीकृत जाँच चौकी र एउटा पुल छन् । सोमबार नै काठमाडौं फर्कनुअघि शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#शाह #भारतीय #भेटवार्ता
Compare →
Nagarik News
12h ago
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#भारत #भेटवार्ता #शाह
Compare →
Bizshala
8h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का...

#शाह #भारत
Compare →
Arthasansar
15h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत #शाह
Compare →

Related Stories

World News
Build #2612