प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । उनी भारतीय समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछन् ।
प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए । विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन ।