साहलाई पक्राउ गरेर भर्खरै जिल्ला प्रहरी कार्यालय, धनुषा ल्याइएको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय, सिरहा पठाउने तयारी भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
सिरहा — सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलका सञ्चालक कुशेश्वर साह फेरि पक्राउ परेका छन् । धनुषा प्रहरीले सीमावर्ती क्षेत्र जटहीबाट ५४ वर्षीय साहलाई सोमबार बिहान पक्राउ गरेको हो ।
साहलाई पक्राउ गरेर भर्खरै जिल्ला प्रहरी कार्यालय, धनुषा ल्याइएको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय, सिरहा पठाउने तयारी भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
उनीविरुद्ध गत साउनमा सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो । त्यस मिलमा धान दिने किसानहरूले उनीमाथि ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गराएका हुन् ।
२०८१ सालमा त्यस मिलमा सिरहा कल्याणपुरका रामनाथ साहले २१ लाखको, कल्याणपुरकै प्रवेश साहले ४ लाखको, बरियारपट्टीका दिनेश साहले १० लाखको र त्यहीँका अशोक महतोले १० लाखको धान उधारोमा बेचेका थिए । तर, पटकपटक ताकेता गर्दा पनि पैसा पाएनन् ।
पक्राउ पुर्जी जारी भएपछि सिरहा प्रहरीले जनकपुर बस्दै आएका उनलाई पक्राउ गर्न पटकपटक प्रयास गरेको थियो । तर, धनुषा प्रहरीको असहयोगका कारण उम्किँदै आएका साहलाई गत शुक्रबार लहानका सादा पोसाकका प्रहरी टोलीले नियन्त्रणमा लियो ।
लहान प्रहरीले जनकपुरको वंशीचोकस्थित घरअगाडि हत्कडी लगाइसकेको अवस्थामा करिब पौने घण्टापछि आएको मुजेलिया प्रहरीले साहलाई गाडीमा लिएर गएको थियो । तर, उनलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा नपुर्याउँदै शंकास्पद ढंगले बीच बाटोबाटै छाडिदिएको खुलेको थियो ।
धनुषा प्रहरीको बदमासीका कारण प्रतिवादी फरार भएको विषयमा कान्तिपुरले समाचार प्रकाशित गरेपछि प्रहरीको आलोचना भएको थियो । त्यसपछि उनको खोजीमा जुटेको प्रहरीले आज फेरि उनलाई पक्राउ गरेको हो ।
विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।