४ मंसिर, काठमाडौं । नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ ।
शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।
छलफल विशेषगरी नेपाली उद्योगको उत्पादन क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण र नेपालमा जापानी लगानीका सम्भावनाबारे केन्द्रित थियो ।
यस्तै औद्योगिक विकासका लागि नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न जापानसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।
भेटवार्ताले नेपाल–जापान आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन र नेपालको औद्योगिक विकासमा जापानी प्रविधि तथा लगानी आकर्षित गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा छ ।