आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान अब १०औँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको र त्यसको सम्पूर्ण तयारी भइरहेको उनले बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही ८ मंसिरदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन १६ मंसिरमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । 'यही ८ मंसिरबाट मुख्य खेलहरू सुरु भई १६ मंसिरमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,' उनले लेखेका छन् ।
त्यस्तै, हरेक २ वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म नौवटा मात्र संस्करण हुनु दुःखद् रहेको मन्त्री पोखरेलले जनाएका छन् । विगतमा देखिएको त्यस्तो ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ ।
प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले लेखेका छन्, 'खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ ।'