शुक्रबार सबैभन्दा धेरैले सेयर कारोबार हुने १० मध्ये चार कम्पनी वाणिज्य बैंक
काठमाडौँ — गएको १२ कात्तिकमा बैंकिङ समूहगत परिसूचक एक वर्षयताकै उचाइमा थियो । त्यतिबेला यो समूहगत परिसूचक १ हजार ६ सय १८ मा थियो । तर, त्यसपछि भने १ हजार ५ सय ७० सम्म ओर्लियो र पुनः उकालो लाग्ने प्रयासमा देखिएको छ ।
वृद्धिको यो प्रयासमा केही वाणिज्य बैंकले नेतृत्व गरिरहेको देखिएको छ । शुक्रबार सबैभन्दा धेरैले सेयर कारोबार हुने १० मध्ये चार कम्पनी वाणिज्य बैंक नै रहे । यी हुन्— ग्लोबल आईएमई, लक्ष्मी सनराइज, एनआईसी एसिया र कुमारी बैंक ।
शुक्रबार ग्लोबल आईएमई बैंकको २० करोड २२ लाख, लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख, एनआईसी एसिया बैंकको १० करोड ४९ लाख र कुमारी बैंकको १० करोड रुपैयाँको सेयर कारोबार भएको हो । यिनमा एनआईसी एसिया बैंकको मात्रै सेयर मूल्य घटेको हो ।
धेरैजसो वाणिज्य बैंकले चालु आर्थिक वर्षका लागि लाभांश दिइसकेका छन् । यस्तोमा पनि यी बैंकहरूको कारोबार बढ्नुमा केही कारण छन् । पहिलो, तुलनात्मक रूपमा कम मूल्यका कम्पनी । सेयर बजारमा सूचीकृतमध्ये वाणिज्य बैंकहरूको सेयर मूल्य तुलनात्मक रूपमा कम छ ।
अहिले बजारमा कारोबार हुने १९ वाणिज्य बैंकमध्ये १० को सेयर मूल्य प्रतिकित्ता दुई सय रुपैयाँभन्दा पनि कम छ । कम मूल्यले पनि यिनमा आकर्षण देखिएको हो । दोस्रो कारण, आगामी वर्षमा यी बैंकबाट थप प्रतिफल प्राप्त हुन सक्ने सम्भावना । त्यसको आधार भनेको यस्ता कम्पनीहरूले जारी गरेको ऋणपत्रको परिपक्व अवधि नजिकि“दै जानु हो ।
आगामी वर्ष २०८४ मा ९ वाणिज्य बैंकको यस्तो ऋणपत्र परिपक्व हुने भएका छन् । केही बैंकहरूको केही वर्षसम्मै लगातार यस्ता ऋणपत्र परिपक्व हुँदै जाने देखिएको छ । लगातार ऋणपत्र परिपक्व हुने बैंकहरूमा केही समयसम्म लगानीकर्ताहरूको आकर्षण देखिन सक्ने सम्भावना छ ।
यस्तो ऋणपत्रको भुक्तानीमा समस्या नहोस् भनेर बैंकहरूले हरेक वर्ष जगेडामा रकम राख्दै जान्छन् । ऋणपत्र परिपक्व हुने समयसम्ममा भुक्तानी गर्नुपर्ने रकम बराबरको स्रोत जम्मा भइसकेको हुन्छ ।
यस्तो रकमबाट बैंकहरूले लाभांश वितरण गर्न पाउँछन् । यहीकारण पनि पछिल्लो समय ऋणपत्र परिपक्व हुन लागेका बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।
एनआईसी एसिया बैंकमा भने हकप्रद सेयरको कारण कारोबार बढेको देखिन्छ । १० मंसिरसम्म सेयर हुनेले यस बैंकको हकप्रद किन्न पाउँछन् । यसले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । दुई सय कित्ता सेयर हुनेले एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । प्रतिकित्ता एक सय रुपैयाँको दरमा लगानीकर्ताले सेयरमा आवेदन दिन पाउँछन् । हाल बजारमा यसको सेयर ३ सय ४० रुपैयाँका दरमा कारोबार भइरहेको छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।