सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ ।
काठमाडौँ — २२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले परम्परागत धार्मिक स्थल र संरचनाको संरक्षणसँगै व्यवस्थापकीय तयारी अघि बढाएको छ । महानगरपालिकाले आगामी १ माघमा सम्यक महादान आयोजना गर्ने तयारी गरेको छ ।
पूर्वतयारीस्वरूप महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार भुइख्याः (टुँडिखेल) क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् । सम्यक महादानका लागि आवश्यक स्थानको पहिचान, परम्परागत विधिअनुसार प्रयोग हुँदै आएका क्षेत्रको संरक्षण र व्यवस्थापनको योजना बनाउन अनुगमन गरिएको डंगोलले बताइन् । उनका अनुसार भुइख्याःमा सदियौँदेखि सम्यक महादान आयोजना हुँदै आएको परम्परालाई निरन्तरता दिने उद्देश्यले महानगरले तयारी गरिरहेको छ ।
डंगोलले विगतको तुलनामा अहिले भुइख्याः क्षेत्रको स्वरूपमा परिवर्तन आइसकेको बताइन् । पहिले खुला मैदान रहेको क्षेत्रमा अहिले घर तथा सडक निर्माण भइसकेकाले परम्परागत गतिविधि सञ्चालनका लागि स्थान व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
निरीक्षणका क्रममा सम्यक महादानसँग सम्बन्धित विभिन्न परम्परागत स्थानहरूको पहिचान गरिएको छ । परम्पराअनुसार खाना पकाउने, पातको काम गर्ने तथा भगवान् राख्ने छुट्टाछुट्टै स्थान रहेकाले ती क्षेत्रको अवस्थाबारे प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरिएको डंगोलले जानकारी दिइन् । यस क्रममा विगतमा सम्यक महादान आयोजना गर्दा कुन स्थानमा के-कस्ता गतिविधि सञ्चालन गरिन्थ्यो भन्ने विषयमा ज्येष्ठ तथा अनुभवी व्यक्तिहरूसँग पनि परामर्श गरिएको उनले बताइन् ।
सम्यक महादानका क्रममा खाना पकाउनुपर्ने स्थानका विषयमा प्रहरी चौकीसँग पनि छलफल गरिएको डंगोलले बताइन् । प्रहरी चौकीमा खाना पकाउने परम्परागत व्यवस्था रहेकाले सम्बन्धित प्रहरी अधिकारीहरूसँग छलफल गरिएको र त्यसका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको प्रतिबद्धता आएको उनको भनाइ छ । त्यस्तै, पातको काम हुने स्थानको अवस्थाबारे पनि स्थलगत निरीक्षण गरिएको छ । समयक्रमसँगै भौतिक संरचना र पूर्वाधारमा परिवर्तन आएकाले पुरानो परम्परालाई जस्ताको तस्तै सञ्चालन गर्न सम्भव हुने र नहुने पक्षको अध्ययन भइरहेको उनले बताइन् ।
डंगोलले सम्यक महादानको तयारीमा महानगरपालिकाको प्राविधिक तथा सांस्कृतिक टोलीलाई समेत परिचालन गरिएको जानकारी दिइन् । सांस्कृतिक पक्ष र भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गरी दुवै पक्षलाई समेट्ने गरी योजना बनाइने उनको भनाइ छ ।
स्थलगत निरीक्षणपछि परम्परागत धार्मिक अभ्यासलाई निरन्तरता दिन सकिने स्थान, आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषय समेटेर ठोस योजना तयार पारिने महानगरले जनाएको छ ।
सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ । लामो समयपछि आयोजना हुन लागेको यस महादानले काठमाडौं उपत्यकाको बौद्ध सम्पदा, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।