‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाका लागि आचार्यले दुई लाख पाए । ‘सपनाको अर्को रङ’ कथाका लागि मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाका लागि सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरिन् ।
काठमाडौँ — बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट बनेको छ । ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाका लागि आचार्यले दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार प्राप्त गरेका छन् । यस्तै, ‘सपनाको अर्को रङ’ कथाका लागि मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाका लागि सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरिन् ।
आइतबार काठमाडौंमा आयोजित समारोहमा आठौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा, २०८३’ लोकार्पण पनि गरियो ।
आठ वर्षदेखि बाह्रखरी मिडियाले कथा साधकहरूको सम्मानमा निरन्तर कथा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे । सभामुख अर्यालले ‘१२खरी उत्कृष्ट कथा, २०८३’ कथाकृतिको लोकार्पण समेत गरे ।
डिगो १२खरी कथा प्रतियोगिता, २०८३ मा उत्कृष्ट २५ कथाका कथाकारमा अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र सुरेन्द्र गैरे छन् ।
प्रथम, द्वितीय र तृतीयबाहेक अरू २२ कथाकारलाई सम्मानस्वरूप नगद राशि जनही सात हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगिताको आठौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।
१२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा अग्रज कथाकार भुवन ढुङ्गाना संयोजक रहेकी थिइन् भने समालोचक साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य थिए । आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गरेका थिए ।