पछिल्लो समय उपवास बसेर क्यान्सर निको पार्न सकिने वा केमोथेरापीको असर घटाउन सकिने भन्दै निकै चर्चा हुने गरेको छ । तर, के आधुनिक चिकित्सा विज्ञानले यो दाबीलाई स्वीकार गर्छ ?
क्यान्सरको उपचारमा उपवास अर्थात् खाना कम गर्ने वा निश्चित समय भोकै बस्ने विषयमा पछिल्लो समय निकै चर्चा हुन थालेको छ । खानामा गरिने कटौतीले ट्युमरको वृद्धि रोक्न सक्छ कि सक्दैन, केमोथेरापीको प्रभावकारिता बढाउँछ कि बढाउँदैन र उपचारका क्रममा देखिने साइड-इफेक्ट कम गर्न मद्दत गर्छ कि गर्दैन भन्ने विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।
विभिन्न अध्ययनहरूले उपवासले कोषिकाको वृद्धि र अस्तित्वसँग जोडिएको शरीरको मेटाबोलिक (पाचन तथा ऊर्जा) प्रक्रियामा परिवर्तन ल्याउने देखाएका छन् । यसले क्यान्सर रोकथाम र उपचारमा उपवासको सम्भावित भूमिकाबारे नयाँ प्रश्न र चासो जगाएको छ ।
तर, यससम्बन्धी अधिकांश उत्साहजनक नतिजाहरू प्रयोगशाला र जनावरहरूमा गरिएका अध्ययनमा मात्र सीमित छन् । मानिसमा गरिएका क्लिनिकल परीक्षणहरू अझै कम छन् । उपवासलाई क्यान्सरको प्रभावकारी उपचारका रूपमा प्रमाणित गरिसकिएको छैन । क्यान्सर उपचारका क्रममा खानपानमा कुनै पनि परिवर्तन गर्नुअघि अनुसन्धानले के देखाएको छ र कुन कुराहरू अझै अस्पष्ट छन् भन्ने बुझ्नु जरुरी हुन्छ ।
उपवास र क्यान्सरबारे विज्ञानले के भन्छ ?
उपवासले शरीरमा ऊर्जाको प्रयोग र कोषिकाहरूको वृद्धिलाई नियन्त्रण गर्ने तरिकामा परिवर्तन ल्याउँछ । यस कारण यसप्रति वैज्ञानिकहरूको चासो बढेको हो । उपवास बस्दा शरीरमा ‘इन्सुलिन’ र ‘इन्सुलिन-लाइक ग्रोथ फ्याक्टर १ (आईजीएफ-१)’ को स्तर घट्न सक्छ । साथै, ग्लुकोजको उपलब्धता र ऊर्जा प्रणालीमा पनि परिवर्तन आउँछ ।
प्रयोगशाला र जनावरमा गरिएका अध्ययनहरूले यस्ता परिवर्तनले केही खास ट्युमरको वृद्धिलाई सुस्त बनाउन र क्यान्सरका कोषिकालाई उपचारप्रति संवेदनशील बनाउन सक्ने देखाएका छन् । साथै, सामान्य स्वस्थ कोषिकाहरूमा केमोथेरापीको तनाव सहन सक्ने क्षमता बढ्न सक्ने देखिन्छ । यद्यपि, यो असर प्रयोगको अवस्था र क्यान्सरको प्रकारमा निर्भर गर्छ ।
मानिसमा गरिएका अध्ययनहरू मुख्यतया नियमित उपचारसँगै छोटो अवधिको उपवास र ‘फास्टिङ-मिमिकिङ डाइट’ मा केन्द्रित छ । ‘फास्टिङ-मिमिकिङ डाइट’ भनेको क्यालोरीयुक्त खानाहरूको सेवन कम गरी अपनाइने डाइटिङ हो । केही साना अध्ययनहरूले शरीरको मेटाबोलिक सूचक वा उपचारका लक्षणमा सुधार देखिएको बताए पनि नतिजाहरूमा एकरूपता छैन ।
सन् २०२५ मा ३५४ जना बिरामीमा गरिएको एक अध्ययनले छनोट गरिएका बिरामीहरूमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (निश्चित समय खाना खाने र निश्चित समय भोकै बस्ने प्रक्रिया) सम्भव देखिए पनि यसले उपचारको नतिजा सुधार गर्ने वा केमोथेरापीको विषाक्त असर कम गर्ने कुरा प्रमाणित गर्न सकेन ।
अहिलेको मुख्य प्रश्न भनेको यी जैविक परिवर्तनहरूले बिरामीको उपचारमा ठोस फाइदा पुर्याउँछन् कि पुर्याउँदैनन् भन्ने हो । यस विषयमा अझै अनुसन्धान जारी छ।
के उपवासले क्यान्सर रोकथाम वा निको पार्न सक्छ ?
उपवासले मात्र क्यान्सर रोक्न वा निको पार्न सक्छ भन्ने कुनै ठोस क्लिनिकल प्रमाण हालसम्म छैन । उपवासले ट्युमर विकाससँग जोडिएको शरीरको प्रक्रियालाई प्रभावित पारे पनि, यस्ता जैविक परिवर्तनले मानिसको शरीरबाट क्यान्सरका कोषिका नष्ट गर्न वा ट्युमर बन्नबाट रोक्न सक्छ भन्ने पुष्टि हुँदैन ।
उपवासले अप्रत्यक्ष रूपमा तौल नियन्त्रण र इन्सुलिनको संवेदनशीलता जस्ता स्वास्थ्यका केही पक्षमा सहयोग पुर्याउन सक्छ । तर, उपवासले नै क्यान्सर हुने जोखिम घटाउँछ भन्ने प्रमाण पर्याप्त छैन ।
क्यान्सर रोकथामका लागि स्थापित सुझावहरूमा सन्तुलित तौल कायम राख्ने, स्वस्थ र सन्तुलित आहार खाने, नियमित शारीरिक व्यायाम गर्ने, सुर्तीजन्य पदार्थबाट टाढा रहने र मदिरा सेवन नगर्ने वा सीमित गर्ने कुरामा नै जोड दिइएको छ ।
क्यान्सर पुष्टि भइसकेका बिरामीहरूले शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी, हर्मोन थेरापी वा टार्गेटेड उपचारको सट्टामा उपवासलाई कहिल्यै रोज्नु हुँदैन । यी आधुनिक उपचार विधिले विभिन्न प्रकारका क्यान्सरमा आफ्नो प्रभावकारिता प्रमाणित गरिसकेका छन्, जबकि उपवास अझै अनुसन्धानकै चरणमा छ ।
उपवास भन्नाले निश्चित अवधिसम्म खाना नखाने वा क्यालोरीको मात्रा निकै कम गर्ने प्रक्रियालाई बुझिन्छ । क्लिनिकल अनुसन्धान र दैनिक जीवनमा यसका विभिन्न तरिकाहरू अपनाइन्छन् ।
दिनको निश्चित समयमा मात्र खाना खाने, जस्तै ८ घण्टा खाना खाने र बाँकी १६ घण्टा भोकै बस्ने ।
एक दिन सामान्य खाना खाने र अर्को दिन पूर्ण उपवास बस्ने वा निकै कम क्यालोरी लिने ।
हप्ताको पाँच दिन सामान्य खाना खाने र लगातार नपर्ने गरी दुई दिन क्यालोरीमा कडाइ गर्ने ।
लामो समयसम्म, प्रायः ४८ घण्टाभन्दा बढी समय खाना नखाने ।
थोरै मात्रामा खाना खान मिल्ने तर शरीरमा उपवास बसेकै जस्तो असर पार्ने गरी तयार पारिएको विशेष कम क्यालोरीयुक्त आहार योजना केही दिनसम्म पालना गर्ने।
क्यान्सरको अध्ययनमा मुख्यतया छोटो अवधिको उपवास र ‘फास्टिङ-मिमिकिङ डाइट’ लाई विशेष ध्यान दिइएको छ, किनभने यिनलाई नियमित उपचारसँगै अध्ययन गर्न सकिन्छ । तर, यी सबै तरिका एउटै होइनन् र एउटा तरिकाको नतिजा अर्कोमा स्वतः लागू हुँदैन ।
उपवासले क्यान्सरका कोषिकालाई कसरी असर गर्छ ?
क्यान्सरका कोषिकाहरूले पोषक तत्व प्राप्त गर्न र अनियन्त्रित रूपमा बढ्न शरीरको सामान्य प्रणालीलाई परिवर्तन गरेका हुन्छन् । उपवासले शरीरमा पोषक तत्व र वृद्धि गराउने संकेतहरूको उपलब्धतामा फेरबदल ल्याउँछ, जसले गर्दा केही ट्युमरहरू तनावमा पर्न सक्छन् ।
इन्सुलिन र आईजीएफ-१ को संकेत कम हुँदा कोषिकाको वृद्धि र अस्तित्वसँग जोडिएका प्रणालीहरू प्रभावित हुन सक्छन् । प्रयोगात्मक नमुनाहरूमा यस्ता परिवर्तनले केही क्यान्सर कोषिकालाई उपचारप्रति बढी कमजोर बनाएको देखिएको छ ।
वैज्ञानिकहरूले ‘डिफरेन्सियल स्ट्रेस रेसिस्टेन्स’ बारे पनि अध्ययन गरेका छन् । यस सिद्धान्तअनुसार, उपवासको तनावपूर्ण अवस्थामा सामान्य कोषिकाहरू झन् बलिया र प्रतिरोधी बन्छन् भने असामान्य वृद्धि भएका क्यान्सर कोषिकाहरू कमजोर नै रहन्छन् ।
उपवासले प्रभावित पार्ने अर्को प्रक्रिया ‘अटोफ्याजी’ हो, जसमा कोषिकाहरूले आफ्ना बिग्रिएका भागहरूलाई टुक्र्याएर पुनः प्रयोग गर्छन् । क्यान्सरसँग यसको सम्बन्ध जटिल छ: अटोफ्याजीले सुरुवाती चरणमा ट्युमर बन्नबाट रोक्न मद्दत गर्न सक्छ, तर बनिसकेका पुराना ट्युमरहरूलाई पोषक तत्वको अभावमा पनि बाँचिरहन मद्दत गर्न सक्छ ।
यी तथ्यहरूले क्यान्सर उपचारमा उपवासको अध्ययन किन भइरहेको छ भन्ने वैज्ञानिक आधार दिन्छन् । यद्यपि, सबै क्यान्सर कोषिकाको पोषण आवश्यकता फरक-फरक हुने भएकाले उपवासले हरेक प्रकारको ट्युमरलाई छानीछानी भोकै पारेर नष्ट गर्न सक्दैन ।
के उपवासले केमोथेरापीको प्रभावकारिता बढाउन र साइड-इफेक्ट घटाउन सक्छ ?
स्वस्थ तन्तुहरूमा हुने क्षति कम गर्दै केमोथेरापीको प्रभावकारिता बढाउन सकिन्छ कि भन्ने विषय अनुसन्धानको मुख्य क्षेत्र हो । प्रारम्भिक अध्ययनहरूले छोटो अवधिको उपवासले केही क्यान्सर कोषिकालाई केमोथेरापीप्रति बढी संवेदनशील बनाउने र सामान्य कोषिकामा उपचारको तनाव कम गर्ने संकेत गरेका छन् । यही कारणले वैज्ञानिकहरू उपचारको सहयोगी विधिको रूपमा उपवासको अध्ययन गर्न उत्साहित भएका हुन् ।
केही प्रारम्भिक क्लिनिकल परीक्षणहरूले थकान वा वाकवाकी लाग्ने जस्ता लक्षणमा सुधार आएको बताए पनि नतिजाहरू एकनासका छैनन् ।
सन् २०२५ मा माएस र उनका सहकर्मीहरूले गरेको समीक्षाले अध्ययनमा समावेश गरिएका बिरामीहरूमा केमोथेरापीको विषाक्त असर कम भएको वा उपचारको नतिजा सुधार भएको कुनै प्रमाण फेला पारेन । उपवास बस्ने फरक-फरक समयतालिका, उपचार पद्धति र बिरामीको अवस्था फरक भएकाले प्रमाणहरू अझै कमजोर छन् ।
त्यसैले, केमोथेरापीको प्रभावकारिता बढाउने वा साइड-इफेक्ट कम गर्ने विधिको रूपमा उपवास अझै प्रमाणित भएको छैन । कुन तरिकाको उपवासले ठोस फाइदा दिन्छ भन्ने पत्ता लगाउन ठूला र विस्तृत परीक्षणहरू आवश्यक छन् ।
क्यान्सरका बिरामीका लागि उपवास सुरक्षित छ ?
उपवास सुरक्षित छ कि छैन भन्ने कुरा बिरामीको पोषणको अवस्था, क्यान्सरको प्रकार, उपचार योजना र अन्य स्वास्थ्य समस्याहरूमा भर पर्छ । क्लिनिकल अध्ययनमा छनोट गरिएका केही बिरामीले छोटो अवधिको उपवास सहन सके भन्दैमा यो सबैका लागि उपयुक्त हुन्छ भन्ने हुँदैन ।
यसको मुख्य जोखिम भनेको अनियन्त्रित तौल घट्नु र कुपोषण हुनु हो । क्यान्सर र यसको उपचारले शरीरमा पोषणको माग बढाउँछ, जबकि वाकवाकी लाग्ने, बान्ता हुने र भोक नलाग्ने जस्ता समस्याले बिरामीले पहिले नै पर्याप्त खाना खान सकिरहेका हुँदैनन् ।
यस्तो अवस्थामा थप क्यालोरी कटौती गर्दा मांसपेशी खिइने, अत्यधिक कमजोरी हुने, शरीरमा पानीको कमी हुने र आवश्यक पोषण नपुग्ने समस्या निम्तिन सक्छ । विशेषगरी ‘क्यान्सर क्याचेक्सिया’ अर्थात अत्यधिक दुब्लाउने समस्या भएका, पहिले नै कुपोषित वा हालसालै धेरै तौल घटेका बिरामीहरू उच्च जोखिममा हुन्छन् ।
शारीरिक रूपमा कमजोर व्यक्ति, गर्भवती महिला, मिर्गौला रोग वा मधुमेह (सुगर) भएका बिरामी र रगतमा चिनीको मात्रा घटाउने औषधि सेवन गरिरहेका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
‘युरोपियन सोसाइटी फर क्लिनिकल न्युट्रिसन एन्ड मेटाबोलिज्म’ ले क्यान्सर उपचारको समयमा उपवास नबस्न सुझाव दिएको छ, किनभने यसको क्लिनिकल फाइदा प्रमाणित भएको छैन र अपर्याप्त पोषणले बिरामीलाई हानि पुर्याउन सक्छ ।