यस प्रविधिबाट एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका २० वर्षीया महिलाको दुई साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
काठमाडौँ — नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोषिका प्रयोग गरी पहिलोपटक एक क्यान्सर बिरामीको उपचार गरिएको छ । विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरेका छन् ।
‘बिरामीको अवस्था स्थिर छ र उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्,’ प्रमुख अनुसन्धानकर्ता त्रिवि शिक्षण अस्पतालका डा. अञ्जन श्रेष्ठले भने, ‘हामी बिरामीको स्वास्थ्य अवस्थाबारे आउने दिनमा पनि निरन्तर अनुगमन गर्छौं र उपचारको प्रभावकारिता मूल्याङ्कन गर्छौं र सार्वजनिक पनि गर्छौं ।’
कार–टी सेल थेरापी आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट बिरामीकै शरीरको कोषिकालाई परिमार्जन गरेर क्यान्सरका कोषिका पहिचान गर्न सक्ने र तिनलाई नष्ट गर्न सक्षम बनाउने उन्नत उपचार विधि हो । यसमा बिरामीको प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण हिस्सा टी–कोषिका सङ्कलन गरी प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ । त्यसपछि परिमार्जित कोषिकालाई प्रयोगशालामै वृद्धि गरी पुनः बिरामीको शरीरमा प्रवेश गराइन्छ ।
यस उपचारमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रक्त क्यान्सर) भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी २० वर्षीया महिलाको शरीरबाट निकालिएको टी–कोषिकालाई काठमाडौंस्थित सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले आनुवंशिक रूपमा परिमार्जन गरेको थियो । त्यसपछि ती कोषिकालाई बिरामीको शरीरमा पुनः प्रवेश गराइएको थियो । डा. श्रेष्ठको नेतृत्वमा डा. प्रशुन उपाध्यायसहितको चिकित्सकीय टोलीले अस्पतालमा उक्त उपचार दिएको थियो । थेरापीले क्यान्सरलाई निष्क्रिय पार्न अर्थात् रेमिसनमा लैजान सकेको छ कि छैन र त्यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने मूल्याङ्कन गर्न टोलीले बिरामीको स्वास्थ्य निगरानी गरिरहेको छ ।
सीआरएम नेपालले उत्पादन गरेको यो थेरापीले रक्त क्यान्सरका कोषिकामा पाइने सीडी१९ नामक प्रोटिनलाई लक्षित गर्छ ।उपाध्यायका अनुसार यो पहल सन् २०२२ मा प्रारम्भिक अर्थात् प्रि–क्लिनिकल अनुसन्धानबाट सुरु भएको थियो । अनुसन्धान सन् २०२४ सम्म जारी रह्यो । त्यसपछि सन् २०२५ मा उत्पादनको तयारी, जनशक्तिलाई तालिम र उत्पादन केन्द्र स्थापना गर्ने काम गरिएको थियो । सन् २०२६ को मार्चमा औषधि व्यवस्था विभागले सीआरएम नेपालले विकास गरेको सीडी१९ लक्षित कार–टी सेल उत्पादनलाई क्लिनिकल प्रयोगका लागि स्वीकृति दिएको थियो ।
प्रविधि हस्तान्तरण, अनुसन्धान तथा उत्पादनसम्बन्धी पहलको नेतृत्व गरेका अमेरिकामा कार्यरत नेपाली प्रतिरक्षा प्रणाली विशेषज्ञ डा. सञ्जीवन गौतमले यस उपचारलाई नेपालमा उन्नत क्यान्सर उपचार विकास गर्ने प्रयासको महत्त्वपूर्ण उपलब्धि भनेका छन् । सीआरएम नेपालको प्रयोगशालामा उत्पादित कार–टी कोषिकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको बताइएको छ ।
यद्यपि, बिरामीमा यसको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्न निरन्तर चिकित्सकीय निगरानी आवश्यक पर्नेछ । ‘क्यान्सरको उपचारमा यो वास्तवमै उत्कृष्ट र प्रभावकारी प्रविधि हो,’ भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा रेडिएसन अन्कोलोजिस्ट डा. शिवाजी पौडेलले भने, ‘हाम्रो देशमा यो सेवा सुरु हुनु निकै सकारात्मक पहल हो । सुरुमा महँगो परे पनि बिस्तारै धेरैको पहुँचमा यो सेवा आउन सक्छ ।’
कार–टी सेल थेरापी बी–सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया र डिफ्युज लार्ज बी–सेल लिम्फोमा लगायतका केही आक्रामक रक्त क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । सामान्यतया पहिलो चरणको उपचारका रूपमा नभई क्यान्सर पुनः बल्झिएका वा पहिलेको उपचारले काम नगरेका बिरामीलाई यो थेरापी दिइन्छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीले सुरुमा केमोथेरापीलगायतका स्थापित उपचार विधि अपनाउनुपर्छ । ती उपचारले काम नगरेमा वा क्यान्सर पुनः बल्झिएमा मात्रै कार–टी सेल थेरापी दिने विकल्पमा विचार गरिन्छ ।
नेपालमै यो उपचार सेवा उपलब्ध हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने र बिरामीलाई आर्थिक भार कम हुने चिकित्सकहरू बताउँछन् । यस्तो उपचार आवश्यक पर्ने बिरामी भारत र चीनलगायतका देशमा जाने गरेका छन्, जहाँ उपचार खर्च करोडौँ रुपैयाँ पुग्न सक्छ ।
डा. पौडेलका अनुसार भारतमा कार–टी सेल थेरापी गराउन प्रत्येक बिरामीले ७० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । विशेषज्ञहरूका अनुसार आर्थिक रूपमा खर्च धान्न सक्ने बिरामीले अब नेपालमै यो उपचार गराउन सक्छन् ।
कार–टी सेल उपचार हाल त्रिवि शिक्षण अस्पतालमा उपलब्ध छ । निकट भविष्यमा अन्य अस्पतालले पनि यो उपचार सुरु गर्ने तयारी गरिरहेको जनाएका छन् ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।