Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा

Ekantipur •
November 22, 2026 • 12:02 PM
3
3 reads 0 reactions

बाँकेको नेपालगन्ज रंगशालामा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन गरिनेछ ।

राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा

बाँकेको नेपालगन्ज रंगशालामा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन गरिनेछ ।

बुटवल — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशमा हुने चार खेलको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिताअन्तर्गत पौडी, सुटिङ (निसानेबाजी), खोखो र टेनिस खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन हुन लागेका हुन् । चारवटै खेलका लागि पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

बाँकेको नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा पौडी र रंगशालामै सुटिङ प्रतियोगिता हुनेछन् । बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन हुनेछन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल पूर्वाधारको मर्मत तथा निर्माणको काम सकेर व्यवस्थापनको काम अन्तिम चरणमा पुर्‍याइएको हो ।

नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा रङरोगन, टायल परिवर्तन र मर्मतसम्भारको काम सकिएको छ । पोखरीको मर्मतको काम पनि अन्तिम अवस्थामा पुगेको छ । बाँकी छिटफुट मर्मत र आवश्यक रङरोगनका काम भइरहेको छ । त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँको कभर्डहलमा खोखो तथा गुलरियाको कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका सबै काम सकिएका छन् । दुवै खेलस्थलमा व्यवस्थापनको काम भइरहेको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले नेपालगन्जमा मंसिर ८ गतेदेखि पौडी र मंसिर १६ गतेदेखि सुटिङ प्रतियोगिता सुरु हुने भएकाले तयारी तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताए । ‘पौडीपोखरी मर्मतको काम सकेर निरीक्षण भइरहेको छ,’ उनले भने, ‘सुटिङ रेन्जका बिग्रिएका उपकरण मर्मतको काम पनि अन्तिम अवस्थामा पुगेको छ ।’ सुटिङ रेन्जका मर्मत गर्नुपर्ने १० वटा उपकरणका लागि आवश्यक पाटपुर्जा विदेशबाट मगाइएको र सामान जडान गरेपछि प्रतियोगिताका लागि रेन्ज तयार हुने उनले बताए ।

त्यस्तै, बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा मंसिर १९ देखि २३ गतेसम्म खोखो र गुलरियास्थित कभर्डहलमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता हुनेछ । राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट कात्तिक २० र २१ गते बुटवल, नेपालगन्ज र बर्दियामा खेलाडी छनोट प्रतियोगिता भएको थियो । त्यसमा बास्केटबल (महिला तथा पुरुष), टेनिस, पौडी, सुटिङ, भारोत्तोलन, जिम्न्यास्टिक र आर्चरी खेलका लागि खेलाडी छनोट गरिएको परिषद्का प्रशासन प्रमुख अमृत केसीले बताए ।

राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन् । सहभागी टोलीले खेलाडी छनोट गरिसकेको लुम्बिनी प्रदेश खोखो संघका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले बताए । खोखोका लागि निर्माण गरिएको भुरीगाउँको कभर्डहलमा म्याटसहितका सुविधा छन् । हलको रङरोगन तथा मर्मतसम्भार पूरा भएको ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काले बताए ।

‘बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम सबै सकिएको छ,’ उनले भने, ‘अब हामी खेलाडी र अतिथि स्वागतको तयारीमा छौं ।’ बर्दियामा हुने दुवै खेल व्यवस्थित रूपमा सम्पन्न गर्न खेलकुद विकास समिति, स्थानीय सरकार, लुम्बिनी खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर काम भइरहेको उनले बताए ।

मंसिर ८ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेल सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन भने मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । प्रतियोगितामा ३२ खेलका ३८४ विधा समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

काठमाण्डु – बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा अहिले चहलपहल बढेको छ । कर...

#खेलकुद #तयारी #अन्तिम
Compare →
Nagarik News
11h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #तयारी #अन्तिम
Compare →
Onlinekhabar
2d ago
कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, …

#खेलकुद #तयारी
Compare →

Related Stories

Sports
Build #2612