मतदान केन्द्र राखिएका विद्यालय गाभिए, तह परिवर्तन भए वा भवन खाली भए पनि वडा कार्यालयले सिफारिस नपठाउँदा निर्वाचन अभिलेखमा पुरानै नाम कायम छन्।
ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिकाले ग्याब्ला आधारभूत विद्यालयलाई घुन्सा आधारभूत विद्यालयमा समायोजन गर्यो । २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बू नेतृत्वको गाउँ शिक्षा समितिको निर्णयपछि ग्याब्लामा अहिले विद्यालय छैन । तर, विद्यालय खाली भइसकेको भवनमा २०७८ को प्रतिनिधिसभा र प्रदेशसभा, २०७९ को स्थानीय तह र २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदान भयो ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा अहिले पनि फक्ताङलुङ गाउँपालिका–६ को एउटा मतदानस्थल ग्याब्ला प्राविकै नाममा छ । गत भदौ १५ सम्मको तथ्यांकअनुसार यो केन्द्रमा ७० मतदाता छन् ।
मेरिङदेन गाउँपालिका–६ नाल्बुमा दुईवटा मतदान केन्द्र छन् । निर्वाचन कार्यालयको तथ्यांकअनुसार १ हजार ६१ मतदाता रहेको नाल्बु मावि र २ सय ९३ मतदाता रहेको चाँगा आधारभूत विद्यालय नाल्बुका नाममा मतदान केन्द्र छन् । स्थानीयका अनुसार नाल्बु अहिले आधारभूत विद्यालय हो । विद्यालयनजिकै घर भएका निवर्तमान वडासदस्य एवं गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीका अनुसार यसअघि यहाँ निम्न माध्यमिक विद्यालय थियो । अहिले आधारभूत तहमा झरेको छ । तर, निर्वाचन कार्यालयको तथ्यांकमा भने नाम सच्याइएको छैन ।
ग्याब्ला र नाल्बु मात्रै होइन, जिल्लाका थुप्रै मतदानस्थल र केन्द्रका नाममा यस्ता त्रुटि छन् । पटकपटक निर्वाचन हुन्छन्, पुरानै नामबाट मतदानस्थल र केन्द्रलाई सम्बोधन गरिन्छ । तर, त्रुटि भने सच्याइँदैन ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार यस्ता त्रुटि सच्याउन वडाको सिफारिस आवश्यक पर्छ । निर्वाचनसम्बन्धी व्यवस्थाले वडालाई नै सिफारिसको अधिकार दिएको छ । तर, वडाहरूले बेवास्ता गर्दा त्यसको अपजस निर्वाचन कार्यालयले भोग्नुपरेको छ ।
‘पहिला १–५ कक्षासम्मको प्रावि, १–८ सम्मको निमावि, १–१० सम्मका मावि र १–१२ सम्मका उच्च मावि थिए । अधिकांश मतदानस्थल विद्यालयमा हुने भएकाले विद्यालयकै नाममा छन्,’ दुलालले भने, ‘विद्यालय कतिबेला स्तरोन्नति, कतिबेला घटुवा हुन्छन्, हामीलाई जानकारी नहुने भएकाले हरेक निर्वाचनमा सच्याउन अनुरोध गरेका छौं । तर, वडाबाट सिफारिस नआएकाले पुरानै नाम रहेको हो ।’
यसपटक विवरण सच्याउन विद्यालयसँग सोधेर सिफारिस गरिदिन सम्बन्धित वडाहरूलाई आग्रह गरिरहेको दुलालले बताए । ‘प्रावि, निमावि र उच्च मावि हटिसकेकाले अब आउने सूचीमा आधारभूत र मावि भनेरै आउँछ,’ उनले भने, ‘वडाहरूसँग सिफारिस लिएर सबै सच्याउने काम गरिरहेका छौं ।’
आगामी निर्वाचनलाई दृष्टिगत गरी मंसिर २ गते बसेको निर्वाचन समितिको जिल्ला स्तरीय बैठकले पनि वडा कार्यालयहरूलाई सानाठूला सबै त्रुटि सच्याउन मंसिर २५ सम्म जिल्ला निर्वाचन कार्यालयमा सिफारिस पठाउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।
मतदानस्थल सार्ने, हटाउने, टुक्र्याउने र गाभ्ने सिफारिस गर्ने अधिकार वडालाई हुन्छ । निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले निर्धारण गरेको मापदण्डअनुसार दूरी, मतदाता संख्यालगायतका प्रक्रिया पूरा गरी वडाले जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिसमक्ष सिफारिस गर्नुपर्छ । वडाको सिफारिस जिल्लाले निर्वाचन आयोगमा पठाउँछ । आयोगले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउँछ ।
यसपटकको जिल्ला स्तरीय बैठकमा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले वडा नम्बर ८ मा दुईवटा मतदानस्थल बनाउन प्रस्ताव गरे । तर, जिल्लालाई सीधै निर्णय गर्ने अधिकार नभएकाले वडालाई सिफारिस गर्न अनुरोध गर्ने निर्णय भयो । ‘अब वडाबाट आयो भने हुन सक्छ,’ दुलालले भने, ‘वडाबाटै आएन भने छलफलको विषय पनि बन्दैन ।’
राजनीतिकर्मी, स्थानीयलगायतले औपचारिक तथा अनौपचारिक कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारी, वडा नम्बर ३ हाङपाङ र फक्ताङलुङ गाउँपालिका–३ लिंखिममा मतदानस्थल थप गर्न वा सार्नुपर्ने प्रस्ताव गर्दै आएका छन् ।
जिल्ला स्तरीय बैठकमा यस विषयमा पनि छलफल भएको थियो । तर, वडाबाटै सिफारिस आउनुपर्ने भएकाले मंसिर २ को बैठकले वडालाई सिफारिस गर्न अनुरोध गर्ने निर्णय मात्रै गरेको निर्वाचन कार्यालयले जनाएको छ।
हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडासदस्य र वडासचिव रहेको मतदानस्थल तथा मतदान केन्द्रसम्बन्धी वडास्तरीय समिति रहने व्यवस्था छ । सबै वडामा सच्याउनुपर्ने वा थपघट गर्नुपर्ने अवस्था नभए पनि जिल्लाका सबै वडालाई आवश्यकताअनुसार सिफारिस गरिदिन आग्रह गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताप्लेजुङमा अहिलेसम्म ८० मतदानस्थल, १ सय २७ मतदान केन्द्र र ७९ हजार ७ सय मतदाता छन् । कार्यालयले २०८२ चैत २३ देखि २०८३ भदौ १५ सम्म ५५ वटा त्रुटि सच्याएको जनाएको छ । यस अवधिमा ५ सय ४५ जनाको दोहोरो नाम हटाइएको, ३ सय ४९ जनाको ठेगाना परिवर्तन गरिएको, प्रमाण नपुगेका २१ जनाको नाम रद्द गरिएको र मृत्यु भएका ६ सय ४० जनाको नाम हटाइएको कार्यालयले जनाएको छ । साथै, तीन जना मतदाताको नामसमेत हटाइएको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।