हरिबोधिनी एकादशी मेलाअन्तर्गत आयोजित प्रतियोगिताको फाइनलमा गलकोटले जैमिनीलाई हराउँदै एक लाख ५० हजार रुपैयाँ जित्यो।
बागलुङ — हरिबोधिनी एकादशी मेलाको अबसरमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगितामा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टिमले जितेको छ ।
बिहीबारदेखि जारी मेला खेल कार्यक्रमसँगै आइतबार समापन भएको छ । आइतबार गलकोटले जैमिनी नगरपालिकालाई खेल जितेर १ लाख ५० हजार नगद पायो । जैमिनीले दोस्रो भएर १ लाख रुपैयाँमा चित्त बुझायो ।
आइतबार बागलुङ नगरपालिका–४ को निरयघाटमा भएको प्रतिस्पर्धामा सुरुवाती जित निकालेको जैमिनीले त्यसपछिका लगातार तीन खेलमा हार व्यहोर्यो । लगातार तीन खेल गलकोटको पोल्टामा जाँदा जैमिनी स्तब्ध भयो ।
पहिलो खेल २६–२४ को अंकले अगाडि रहेको जैमिनीलाई गलकोटले लगातार २७–२५, २९–२७ र २५–२१ को अंकले जित निकालेको हो । तेस्रो स्थान पाएको कुश्माले ५० हजार र चौथो स्थान पाउने बागलुङ नगरपालिकाले २५ हजार नगद पुरस्कार पायो । गलकोटका कुश्मन थापा उत्कृष्ठ खेलाडी घोषित भै ५ हजार नगद पुरस्कार पाए । खेलमा १२ टिम सहभागी थिए ।
शनिबार भएको सेमिफाइनल खेलमा जैमिनी नगरपालिकाले कुस्मा नगरपालिका पर्वत र गलकोटले बागलुङ नगरपालिकालाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । जैमिनीले फाइनल प्रवेशकालािग कुस्मालाई २७–२५ र २५—२१ को अंकले जित निकालेको थियो ।
दोस्रो सेमिफाइनलमा गलकोटको नरेठाँटी भलिबल टिमले बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जैमिनी नगरपालिकासँग उपाधि भिडन्त पक्का गरेको हो। गलकोटले २५—२१ र २५—२१ अंकले खेल जितेको थियो । बिजयी टिमलाई जेष्ठ नागरिक दुर्गाबहादुर आचार्यले पुरस्कार वितरण गरे ।
मेलामा भजनकृतन, फूलको डोरी तार्ने, बिपत जन्य प्रतिकार्य अभ्यास, खेलकुद र शालीग्राम प्रर्दशनी समेत गरिएको थियो । मेलाबाट आउने आयले यहाँ संचालित मानवसेवा आश्रमलाई सहयोग समेत गरिने आयोजकले बताए । गत वर्ष महायज्ञ लगाएर यहाँ मानवसेवा आश्रमको भवन निर्माण भइरहेको छ । आश्रममा ७० जना आश्रित छन् ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।