प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट लक्ष्मीनारायण मन्दिरका लागि जग्गा खरिद, गुरुकुल भवन तथा धार्मिक बाटिका निर्माण गरिँदैछ।
काभ्रे — धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेको बेथानचोक गाउँपालिका–३ गैरीभञ्ज्याङमा मन्दिर, गुरुकुल र धार्मिक बाटिका निर्माणलाई प्राथमिकता दिइएको छ। यसका लागि जग्गा खरिददेखि निर्माणाधीन संरचना सम्पन्न गर्न प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेका छन्।
धार्मिक पूर्वाधार निर्माणका विभिन्न योजनामा करिब ८ करोड रुपैयाँ बराबरको कामलाई गाउँपालिकाले गौरवको आयोजनाका रूपमा अघि बढाएको जनाएको छ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय ज्येष्ठ नागरिकले लामो समयदेखि देखेको धार्मिक क्षेत्र विकासको सपना साकार पार्न योजनाबद्ध रूपमा काम थालिएको बताए। उनका अनुसार लक्ष्मीनारायण मन्दिरका लागि जग्गा खरिद, निर्माणाधीन गुरुकुल भवन सम्पन्न र धार्मिक बाटिका निर्माणलाई एकीकृत योजनाका रूपमा अघि बढाइएको छ। 'स्थानीय ज्येष्ठ नागरिकको चाहना र स्थानीयवासीको मागलाई सम्बोधन गर्दै धार्मिक पूर्वाधार निर्माणलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएका छौँ,' अध्यक्ष अधिकारीले भने, 'बेथानचोकमा धार्मिक पर्यटनको सम्भावना भएकाले त्यसलाई उपयोग गर्न आवश्यक संरचना तयार पार्न लागेका हौँ।'
गाउँपालिका उपाध्यक्ष तारा राना तिमिल्सिनाले धार्मिक संरचना निर्माणमा स्थानीयको सामूहिक सहभागिता आवश्यक रहेको बताइन्। स्थानीयवासीको एकता र सहकार्यबाट ज्येष्ठ नागरिकले परिकल्पना गरेको मन्दिर, गुरुकुल र धार्मिक बाटिका निर्माणको लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ।
बेथानचोक–३ का वडाध्यक्ष कुबेर ढकालले गैरीभञ्ज्याङ क्षेत्रलाई वैष्णव धर्मावलम्बीको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए।
धार्मिक बाटिका निर्माण तथा धार्मिक गतिविधि प्रवर्द्धनका लागि लक्ष्मीनारायण मन्दिर परिसरमा मंसिर २३ देखि २९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ। महायज्ञ आयोजक मूल समारोह समितिले शनिबार पत्रकार सम्मेलन गरी सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो।
लक्ष्मीनारायण गुरुकुल भवन निर्माण समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले मन्दिर निर्माणका लागि आवश्यक जग्गा खरिद, निर्माणाधीन गुरुकुल भवनलाई पूर्णता र धार्मिक बाटिका निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए। उनका अनुसार महायज्ञबाट धार्मिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने लक्ष्य राखिएको छ।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।