काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई लिएर अमेरिकी संसद्मा मतभेद चुलिएको छ। यसले क्रिसमसअघि नै अमेरिकी संघीय सरकारका कामकाज ठप्प हुन सक्ने जोखिम बढाएको छ।
बीबीसी पर्सियन र रोयटर्सका अनुसार बजेटसम्बन्धी विषयमा दुवै प्रमुख राजनीतिक दलका सांसदबीच सहमति जुट्न कठिन देखिएको छ। अमेरिकी सरकारको विद्यमान बजेट आगामी डिसेम्बर ११ सम्म मात्र कायम रहने भएकाले त्यसपछि सरकारी निकाय सञ्चालनका लागि नयाँ बजेटमा सहमति गर्न सांसदहरूसँग करिब तीन साताको समय छ।
अमेरिकी सिनेटमा बजेटसम्बन्धी मतभेद थप जटिल बनेको छ। त्यहाँ बजेट प्याकेज पारित गर्न १०० सदस्यीय सिनेटमा कम्तीमा ६० मत आवश्यक पर्छ।
यसैबीच, थ्याङ्क्सगिभिङको एक साताको बिदाका कारण अमेरिकी संसद्को कामकाजसमेत स्थगित हुने तयारी छ। यसले बजेटसम्बन्धी सहमति जुटाउने समय थप सीमित बनाएको छ।
भर्मोन्टका डेमोक्रेटिक सिनेटर पिटर वेल्चले युद्धका लागि थप बजेट दिन नचाहेको र सरकारको कामकाज पनि ठप्प पार्न नहुने अवस्थाबीच समाधान खोज्न कठिन भइरहेको बताएका छन्।
उनले युद्धको वित्तीय भार बेहोर्न नचाहने तर सरकारी सेवा पनि अवरुद्ध हुन नदिने अवस्थाको समाधान निकाल्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।