श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट नाफामा फर्किन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा संस्था १ करोड ९३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासिकसम्ममा ४ करोड २४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ९३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । संस्थाको ब्याज आम्दानी ८ करोड ३९ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने ब्याज खर्च ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड ६६ लाख २६ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३ अर्ब १० करोड ९४ लाख रुपैयाँ थियो ।
संस्थाले ग्राहकबाट संकलन गरेको निक्षेप ९५ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी लगानी २ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ रहेको छ । संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा सञ्चित कोषमा १० करोड ८१ लाख ३७ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रकाशित वित्तीय सूचकांकमा संस्थाको खराब कर्जा अनुपात १२.९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९३ प्रतिशत थियो । त्यस्तै, संस्थाको आधार दर १२.२६ प्रतिशत र ब्याजदर अन्तर ७.४४ प्रतिशत रहेको छ ।