४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको आरोप छ ।
तलब भत्ता माग गर्ने क्रममा अध्यक्ष शाहीले आफूलाई हातपात गरेको आरोप एम्बुलेन्स चालक चंखेली गाउँपालिका–४ का २९ वर्षिय पृथ्वीबहादुर सिंहले लगाएका छन् ।
अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी शंकर खड्काले बताए । अध्यक्ष शाहीमाथि कसैले पनि कुनै उजुरी नदिएको र उजुरी परेमा अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी खड्काले बताए ।
एम्बुलेन्स चालक सिंहलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उनको अवस्था सामान्य छ ।