५ मंसिर, पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइएको दाबी गरेका छन् ।
शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र सभापति गगन थापालाई लक्षित गर्दै यो अभिव्यक्ति दिएका हुन् ।
‘यस्ता मान्छे रहेछन् कांग्रेस भनेर देशभर पालिएका । त्यसमा केही चिन्ता गर्ने साथीहरू पनि छन्,’ देउवाले भने, ‘अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइयो । अनि मलाई जसले मार्नुपर्छ भन्ने मान्छे चार जनालाई टिकट दिइयो निर्वाचनमा । त्यसमा स्पष्ट भइसक्यो ।’
उनले आफूलाई मार्न खोज्नेका पछाडिको षडयन्त्र थाहा भइसकेको पनि बताए । ‘देशभरीमा हाम्रो नेताजीहरूको घरमा आगो लगाउने, हामीलाई मार्न खोज्ने पछाडि को छ भन्ने कुरा स्पष्ट भइसक्यो,’ उनले भने ।
उनले विशेष अधिवेशन गर्न पाइने बताए । विगतमा सुवर्ण शमशेर जबरा पार्टी सभापति हुँदा उनले विशेष अधिवेशन गराएको बताए ।
तर, अहिले भएको विशेष महाधिवेशन पार्टीलाई षडयन्त्रपूर्वक कब्जा गर्ने कुरा मात्रै रहेको उनले बताए । ‘र, त्यसको खिलापमा लड्नुपर्ने मेरो कर्तव्य थियो,’ उनले भने ।
आफूमाथि आक्रमण भइसकेपछि सिंगापुर र हङकङ गएर उपचार गरेको र अहिले आफू पूर्ण रूपमा स्वस्थ रहेको पनि देउवाले बताए ।
‘त्यहाँ मेरो उपचार भएर म पूर्ण स्वस्थ भएको छु । यसमा सबै साथीभाइको सद्भावमा, नेपाली जनताको कृपामा म बाँचेको छु,’ देउवाले भने ।
अब आफूलाई केही नचाहिएको बताउँदै उनले आफूले देशलाई दिनुबाहेक केही नरहेको बताए ।
‘यो लोकतन्त्रलाई अझ मजबुत बनाउनु छ । यो गणतन्त्रलाई अझ मजबुत बनाउनु छ,’ उनले भने, ‘मेरो कर्तव्य छ, मलाई सबैथोक दिएको पार्टी, २०–२१ वर्षदेखि जेल परेको व्यक्ति हुँ । मेरो बुबाले सेनामा जा भन्नुहुन्थ्यो । तर हुँदाहुँदा जेल परेँ, प्रधानमन्त्री भएँ । मैले धेरै पाइसकेँ । मैले जिन्दगीभर यो राष्ट्रको लागि, लोकतन्त्रका लागि समर्पण गर्नुबाहेक केही पनि छैन ।’