नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा समयमै फैसला नगरी चुप लागेर बसेको आरोप लगाएका छन्।
एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार गठनको प्रक्रियासमेत असंवैधानिक र अलोकतान्त्रिक रहेको टिप्पणी गरे।
ओलीले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए। ‘अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतंकपूर्ण, आगजनी, तोडफोड त्यसबाट सुरु भएको हो,’ उनले भने।
राष्ट्रपति पौडेल सम्माननीय भए पनि डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गरेको आरोप लगाउँदै ओलीले जुक्ति लगाएर लोकतन्त्र जोगाएको दाबीप्रति कटाक्ष गरे। ‘असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’ उनले प्रश्न गरे।
असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन भयो भनेर सर्वोच्च अदालतमा मुद्दा हाल्दा पनि फैसला नगरी अदालत चुप लागेर बसेको ओलीको गुनासो छ।
अदालतको अपमान नगरी अत्यन्त सम्मानका साथ भनिरहेको उल्लेख गर्दै उनले ‘हराउनुस् ठिक छ, अन्याय गर्नुस् ठिक छ, तर फैसला त गर्नुस्’ भनी बताउने गरेको उल्लेख गरे।
ब्रह्मले देखेको फैसलाअनुसार असंवैधानिक विघटन ठिकै छ भन्ने लागेको भए त्यही भन्दिए हुनेमा फैसला नै नगरी बस्न नहुने र अहिले पनि मुद्दा छँदै रहेको उनले बताए।
अहिले देश संवैधानिक ढंगले र लोकतान्त्रिक विधिबाट नचलेको ओलीले बताए। ‘लोकतान्त्रिक संस्थाहरू कमजोर पारिए, विघटन गरिए, समाप्त पारिए र यसमा राज्यको कुनै निकायले प्रतिवाद गरेन,’ उनले भने, ‘अचम्म लाग्छ।’
प्रकाशित: ५ मंसिर २०८३ १७:१९ शनिबार