५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।
पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनका अनुसार, तत्कालीन प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री हुँदासाथ पहिलो काम नै मनपरी ढंगबाट गरेको आरोप लगाए ।
‘यो भन्दा अघिल्लो प्रधानमन्त्री संविधान मिचेर आफैं प्रधानन्यायाधीश भएर पनि संविधान मिचेर प्रधानमन्त्री कसले लगेर कुर्सीमा राख्यो थाहा नभइकन प्रधानमन्त्री भएर, मनपरितन्त्र चलाएर,’ ओलीले थप भने, ‘उहाँ (सुशीला कार्की) ले पहिलो काम गरेको के भन्दा व्यक्तिगत तवरमा एउटा असंवैधानिक प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर र राष्ट्रपतिले (सम्माननीय हुनुहुन्छ, भन्न त भएन) डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो । त्यो सहि कुरा हो, साँचो कुरा हो ।’
संसद् विघटन गरेर उल्टै राष्ट्रपति पौडेलले बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भनेको भन्दै प्रतिप्रश्न गरे । ु
‘बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?,’ ओलीको प्रश्न थियो ।
साथै, आफ्नो पार्टीले संसद् विघटनविरुद्ध हालेको रिट निवेदनमा सर्वोच्च अदालतबाट फैसला समेत नभएकोप्रति आपत्ति जनाए ।
‘सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस् । अन्याय गर्नुस् ठिक छ, तर फैसला त गर्नुस् । फैसला नगरी उहाँहरू चुप लागेर बस्नुभयो,’ ओलीको गुनासो थियो ।