भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा आलोचना भइरहेको छ । भ्रमणबारे सरकारका तर्फबाट राष्ट्रपतिलाई अहिलेसम्म औपचारिक जानकारीसमेत गराइएको छैन ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारदेखि हुने भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने परम्परा तोडेका छन् । भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे उनीहरूसँग सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा यसको आलोचना भइरहेको छ ।
पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउदले विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र राजनीतिक दलहरूसँग परामर्श गर्ने अभ्यास रहेको बताए । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन, विगतका सरकारका अनुभव र सहमति बुझ्न तथा विदेश भ्रमणमा सम्बन्धित मुलुकसँग आत्मविश्वासका साथ कुरा राख्न सहज होस् भनेर छलफल हुने गरेको उनको भनाइ छ । राष्ट्रिय सहमतिका साथ विदेश भ्रमणमा जाँदा सरकारको आत्मबल बढ्ने र विगतमा भएका सहमति तथा प्रतिबद्धताको निरन्तरता कायम गर्न सहयोग पुग्ने उनले बताए ।
‘पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुको एउटा महत्त्वपूर्ण उद्देश्य राष्ट्रिय मुद्दामा सबै दलको साझा धारणा निर्माण गर्नु हो । अर्को, विगतमा भएका वार्ता, सहमति र प्रतिबद्धताबारे अनुभव आदानप्रदान गर्नु हो,’ साउदले कान्तिपुरसँग भने, ‘उहाँहरूको अनुभव र स्मृतिले विगतमा के–के सहमति भएका थिए, कुन विषय कहाँ पुगेका थिए र अब के गर्नुपर्नेछ भन्नेबारे सरकारलाई अद्यावधिक गर्न सहयोग पुग्छ ।’
साउद परराष्ट्रमन्त्री रहेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ०८० जेठको भारत भ्रमणअघि पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग परामर्श गरिएको थियो । त्यसपछि पूर्वप्रधानमन्त्रीहरूसँग पनि छलफल भएको थियो । उक्त छलफलमा सीमा समस्या, ईपीजी प्रतिवेदन, पञ्चेश्वर आयोजना, हवाई रुट, व्यापार र पारवहनलगायत विषयमा भारतसँग उठाउनुपर्ने मुद्दाबारे सुझाव लिइएको थियो ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको २०८२ भदौमा चीन भ्रमणमा जानुअघि पनि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गरिएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने अभ्यास पनि यसपटक देखिएको छैन । शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन । विगतमा प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने र फर्किएपछि भ्रमणका विषयमा अवगत गराउने अभ्यास रहँदै आएको थियो ।
राष्ट्रपतिलाई भ्रमणको जानकारी गराउने विषय संवैधानिक संस्थाबीचको सम्बन्ध र नियमित अभ्याससँग जोडिने साउदको भनाइ छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत प्रस्थान गर्दै छन् ।