कांग्रेसले राष्ट्रिय हितका विषयमा दलहरूसँग संवाद नभएकोमा सरकारप्रति असन्तुष्टि जनाए पनि भारतसँगको सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता अटल रहेको जनाएको छ।
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भोलिदेखि सुरु हुने भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने कामना गरेको छ । साथै, भ्रमणअघि प्रमुख प्रतिपक्षी दल तथा अन्य दलसँग परामर्श नगरेकोमा सरकारप्रति असन्तुष्टि पनि जनाएको छ ।
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रतिपक्षीसहित दलहरूसँग परामर्श गर्नु 'हाम्रो स्थापित लोकतान्त्रिक परम्परा' भएको उल्लेख छ । यो परम्परा वर्तमान सरकारबाट पनि निरन्तर रहने अपेक्षा गरिएको थियो ।
उनका अनुसार कांग्रेसले सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो । जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषयविज्ञहरूको सहभागितामा 'विशेष आन्तरिक विमर्श' पनि गरिएको थियो ।
तर सरकारले परामर्श आवश्यक नठानेको कांग्रेसको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, 'सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल एवं विषय विज्ञहरूसँग परामर्श गर्न आवश्यक ठानेन ।' त्यसैले सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सार्न उचित नलागेको पार्टीले जनाएको छ ।
कांग्रेसले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत जाँदै गरेको सम्झाएको छ । 'राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ', विज्ञप्तिमा भनिएको छ, 'तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात् गर्न सकेन ।'
यद्यपि, सरकारको यो कमजोरीलाई भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर हेर्न नचाहेको कांग्रेसले स्पष्ट पारेको छ । 'सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ', विज्ञप्तिमा उल्लेख छ । 'यो भ्रमणको सफलतासँग हाम्रो देशको सफलता गाँसिएको छ' भन्दै पार्टीले हार्दिक शुभेच्छा व्यक्त गरेको छ ।
कांग्रेसले भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नहोस् भन्ने अपेक्षा पनि राखेको छ । विगतका प्रतिबद्धताको कार्यान्वयन, विद्यमान समस्याको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न यो अवसर उपयोग हुनुपर्नेमा जोड दिइएको छ ।