बागलुङ जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले सर्वोच्च अदालतले कांग्रेस कार्यकर्ताको भावनाअनुसार निर्णय गर्ने र आगामी स्थानीय निर्वाचनमा एकजुट हुन आग्रह गरे।
बागलुङ — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेस विवादमा अदालतबाट न्याय पाउने बताएका छन् । उनले जेजस्ता हल्ला आए पनि सर्वोच्च अदालतले सबै कांग्रेस कार्यकर्ताको भावना अनुसार निर्णय दिने विश्वासमा रहेकाे बताए।
देउवा पक्षीय कांग्रेसको महाधिवेसन अर्न्तगत बागलुङ जिल्ला अधिवेसनको उद्घाटन गर्न शुक्रबार बागलुङ आएका देउवाले राजा ज्ञानेन्द्रको निरंकुशताबिरुद्ध लडेको कांग्रेस देशमा आइपर्ने सबैखाले समस्यामा जुध्न तयार रहेको बताए । आफ्नो प्राण रहुन्जेल लोकतन्त्र र गणतन्त्रमा समर्पित बन्ने उनले बताए ।
आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने आवस्यकता रहेको औल्याउँदै उनले त्यसकालागि कार्यकर्तालाई एक भएर लाग्न निर्देशन दिए । ‘मेरो जीवन देश र जनतालाई दिँदै आएको छु, अझै पनि लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित गर्छु,’ उनले भने, ‘सबै कार्यकर्ताले कांग्रेसको संगठन बढाएर आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोला ।’ उनले फुटेर नभइ जुटेर पार्टीका कार्यकताले अगाडि बढ्नुपर्ने बताए । यसअघि विभिन्न स्थानमा पार्टी नेतृत्वप्रति आक्रोशित देखिएका देउवा शुक्रबार भने शान्त देखिएका थिए ।
कांग्रेसको संगठनमा बागलुङले गरेको योगदानको स्मरण गर्दै उनले पार्टी एकढिक्का भएमा अन्य दलले हराउन नसक्ने बताए । ‘सहिद थिरबम मल्लले योगदान गरेको कांग्रेस बचाउने जिम्मा लिने जिल्ला बागलुङ हो,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताहरु बिचलित नभइ देशको हितमा लागौं ।’ हेलिकोप्टरमा आएका देउवा २ घण्टा बसेर कार्यक्रममा बसे पनि मन्तव्य भने ४ मिनेट मात्रै राखेका थिए । अधिवेसनले जिल्ला नेतृत्व चयन गर्ने निर्वाचन संयोजक सागर छन्त्यालले बताए ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।