नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
विशेषगरी उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री तथा कोषाध्यक्षलगायतको पदमा धेरैले आकांक्षा देखाएका छन् । महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाहीले महामन्त्रीमा उम्मेदवारी दिने बताए ।
‘म निरन्तर रुपमा पार्टीमा सक्रिय छु । कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै अघिल्लो १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिएँ । संगठनको काममा सँधै खटिरहें र केही न केही नौलो अभियान चलाइरहें । त्यसैले महामन्त्री पदमा योग्य छु जस्तो लाग्यो,’ शाहीले नेपाल न्यूज बैंकसँग भने ।
पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने शाहीले जेनजी विद्रोहका बेला देशभर भएको आगजनी र तोडफोडको कडा रुपमा बिरोध गरेका थिए।
त्यस्तै, अवैधानिक र एकपक्षीय रुपमा गरिने विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर र विभाजित बनाउँछ भनेर गगन थापासँग फरक मत राखेका शाहीले एकताबद्ध भएर नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।
‘विशेष महाधिवेशनको नाममा विभिन्न प्रलोभन र प्रभावमा परेर षड्यन्त्रपुर्वक निर्वाचन आयोगमार्फत पार्टी कब्जा गरियो । नियमित महाधिवेशनको लागि दुई महिनासम्म पनि पर्खिने धैर्यता नराखेर गगन थापाले कांग्रेसलाई छिन्नभिन्न, क्षतविक्षत बनाउन र कमजोर पारेर ठुलो भुल गर्नुभयो । अब नियमित महाधिवेशनमार्फत पार्टीलाई चलायमान बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने ।
पार्टीमा सबैलाई न्याय र समान अवसर हुनुपर्ने, संगठन सिस्टममा चल्नुपर्ने, अवसरवादी राजनीति अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिए ।
महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको पनि उनले बताए । ‘पार्टी अब सुस्त लय, गतिहिन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, भागबण्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने ।
शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङगले बुझ्नुपर्ने औंल्याएका छन् । देउवा समूहले यही मंसिर २१ देखि २३ मा काठमाडौंमा महाधिवेशन गर्दैछ ।
प्रकाशित: ४ मंसिर २०८३ १६:२४ शुक्रबार