कोशी नदी र कोकाह खोलाको संगममा रहेको धाममा स्नान, पूजाआराधना र दर्शनका लागि देशविदेशबाट श्रद्धालु आउनेछन्।
सुनसरी — पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रधाममा शुक्रबारदेखि सुरु हुने कात्तिके मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसर पारेर आयोजना हुने मेलामा नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत हजारौँ श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको छ ।
मेला व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल समिति गठन गरिएको छ । मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न विषयगत उपसमितिसमेत गठन गरिएको बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले जानकारी दिए ।
उनका अनुसार मंसिर ८ गतेसम्म सञ्चालन हुने मेलामा आउने दर्शनार्थीको सहज आवागमन, पूजा–आराधना तथा अन्य व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको छ । मेलालाई व्यवस्थित बनाउन मूल समितिसँगै विभिन्न उपसमितिलाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।
बराहक्षेत्रधाममा हरेक वर्ष हरिबोधनी एकादशीदेखि कात्तिके मेला लाग्ने परम्परा छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलामा कोशी प्रदेशसहित देशका विभिन्न भागबाट श्रद्धालु आउने गरेका छन् । सीमावर्ती भारतीय क्षेत्र र भुटानबाट समेत भक्तजन आउने भएकाले मेलाले अन्तरदेशीय धार्मिक पर्यटनको महत्वसमेत बोकेको छ ।
कोशी नदी र कोकाह खोलाको संगम क्षेत्रमा अवस्थित बराहक्षेत्रधाम हिन्दु धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मानिन्छ । भगवान् विष्णुको वराह अवतारसँग जोडिएको यस धार्मिक स्थलमा हरिबोधनी एकादशीका दिन स्नान तथा पूजाआराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
कात्तिके मेलाले बराहक्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यापार, होटल तथा पर्यटन व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ । मंसिर ८ गतेसम्म चल्ने मेलामा दर्शनार्थीको चहलपहल बढ्ने अनुमान गरिएको छ ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।