त्रिखण्डी मेलाका कारण शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह ।
हेटौंडा — हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुवाहक सवारीसाधनलाई शुक्रबार एक दिन उक्त मार्ग भएर आवतजावत गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा मेला तथा जात्रा लाग्ने भएकाले उक्त मार्ग हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनामा शुक्रबार हरिबोधिनी एकादशीका अवसरमा त्रिखण्डीमा मेला लाग्ने भएकाले यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ भएर आवतजावत गर्न भनिएको छ ।
त्रिखण्डेश्वर महादेव मन्दिर सडकछेउमै भएकाले भक्तजनको भीडभाड र साँघुरो तथा भिरालो बाटोको जोखिमलाई मध्यनजर गर्दै यात्रा सुरक्षित र सहज बनाउन शुक्रबार उक्त सडक भएर यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी रुटको सट्टा उक्त दिन कान्ति लोकपथबाट आवतजावत गर्न तथा गराउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ,’ उनले भने ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।